गजेन्द्र गुरुङ
खजुरा, फागुन २४ गते । बाँकेको डुडुवामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धनसम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले तीन तहकै सरकारको भूमिका प्रभावकारी हुनुपर्ने सुझाव दिनुभएको छ ।
डुडुवा गाउँपालिकाको समन्वयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जले बुधवार गरेको अन्तरक्रिया कार्यक्रममा पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले भ्रष्टाचारको समस्या केन्द्रीय तहदेखि नै बढेकाले यसको नियन्त्रणमा तीनै सरकारको भूमिका प्रभावकारी बनाउनुपर्ने जोड दिनुभयो ।
उहाँले भ्रष्टाचार गरेको ठहरिएका दोषीलाई कानुनअनुसारको सजायसहित सार्वजनिक रूपमै समाजबाट बहिष्कार गर्नुपर्ने भन्दै कानुन र प्रक्रिया विपरीत लोभ लालचमा परेर अनियमितता गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।
अध्यक्ष चौधरीले स्थानीयस्तरमा सरकारले सञ्चालन गर्ने विकास निर्माणका योजनालगायतका विभिन्न कार्यक्रमको प्रत्यक्ष अवलोकन गरी गलत कार्य गर्नेविरुद्ध विशेष टिम परिचालन गर्नुपर्ने आग्रह गर्नुभयो । यसले विभिन्न अनियमितताका घटना उजागर हुने बताउनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगन्ज कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले आयोगमा आउने उजुरीको प्रकृतिअनुसार अनुसन्धान गर्ने गरिएको भन्दै सत्य तथ्य र प्रमाणलाई केलाएर सबै प्रमाण सङ्कलन गरी विशेष अदालतमा मुद्दा दायर गर्नेगरेको बताउनुभयो ।
आयोगका शाखा अधिकृत नारायणप्रसाद ढकालले अख्तियारको काम कारबाही प्रक्रिया, उजुरी, उजुरीको प्रकृति, छानबिन, सजाय, कसुर, जरिवाना, स्थानीय सरकारले प्रवाह गर्ने सेवाका क्रममा अपनाउनुपर्ने मापदण्ड लगायत विषयमा सहजीकरण गर्नुभयो । a