• १३ साउन २०८१, आइतबार

मेशिनबाट आँखाको शल्यक्रिया

blog

मेसिनबाट मोतियाविन्दुको शल्यक्रिया गरिँदै । तस्बिरः रेखीराम राना

रेखीराम राना

तानसेन, फागुन २४ गते । पाल्पामा मेसिनबाट मोतियाबिन्दुको शल्यक्रिया सुरु भएको छ । यसअघिसम्म विना मेशिन शल्यक्रिया गरिदैआएकोमा अबदेखि मेसिनको सहायताले माोतियाबिन्दुको शल्यक्रिया सुरु गरिएको हो । 

तानसेनस्थित लायन्स लाकौल आँखा अस्पतालले फेको मेसिनबाट मोतियाबिन्दुको शल्यक्रिया सुरु गरेको छ । फेको मेसिनबाट आँखाको शल्यक्रिया जिल्लामै हुने भएपछि सेवाग्राहीलाई सेवा पाउन सहज भएको छ । मोतियाबिन्दुका बिरामीको मेसिनको सहायताले शल्यक्रिया गरिने अस्पतालका चिकित्सक डा. सुचेनकुमार पुनले जानकारी दिनुभयो । 

आधुनिक मेसिनबाट शल्यक्रिया गर्दा धेरै चिरफार गर्न नपर्ने, बिरामीलाई सरल र सहज उपचार गर्न सकिने उहाँले बताउनुभयो । पछिल्लो समय पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जालगायतका जिल्लाबाट आँखाको शल्यक्रियाका लागि पाल्पा आउने बिरामी बढेका थिए । 

अब विभिन्न जिल्लाबाट आएका बिरामीको मेसिनबाट आँखाभित्र सरसफाइ गरी सरल ढङ्गले छिटो छरितो शल्यक्रिया गर्न सकिने नेपाल नेत्रज्योति सङ्घका सभापति बुद्धिप्रसाद शर्माले बताउनुभयो । अबदेखि मोतियाबिन्दुको शल्यक्रियाका लागि अन्त जान नपर्ने र यसले बिरामीको उपचार खर्च जागिने उहाँको भनाइ छ ।