• १५ वैशाख २०८१, शनिबार

विद्यार्थीलाई उद्यम गर्न सिकाउँदै महिला उद्यमी सङ्घ

blog

कमल खत्री
नेपालगन्ज, फागुन २४ गते । 
नेपालगन्जमा ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा युवा स्वरोजगार तथा उद्यमशीलता विकाससम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

महिला उद्यमी सङ्घ नेपाल बाँकेको आयोजनामा भएको युवा स्वरोजगार तथा उद्यमशीलता विकाससम्बन्धी अभिमुखीकरण कार्यक्रममा मङ्गल प्रसाद महिला कलेज नेपालगन्जमा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

करिब ६० जनाभन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रमका सहभागीहरूलाई उद्यम कसरी गर्ने, उद्यम भनेको के हो, स्थानीय स्तरमा सानो लगानीबाट कसरी उद्यम सुरु गर्न सकिन्छ, आफूले उत्पादन गरेको उत्पादनको बजारीकरण कसरी गर्ने लगायतका विविध विषयमा अभिमुखीकरण गरिएको थियो ।

आयोजक महिला उद्यमी सङ्घ नेपाल बाँके अध्यक्ष साबित्रा पोखरेल बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा महिला उद्यमी महासङ्घ नेपालको कार्यकारी सदस्य तथा लुम्बिनी प्रदेशको संयोजक सरस्वती शर्मा, मङ्गल प्रसाद महिला कलेज नेपालगन्जका क्याम्पस प्रमुख रवीन्द्र कर्ण, प्रशिक्षक राज बहादुर चौधरी लगायत महिला उद्यमी सङ्घका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा सङ्घको प्रथम उपाध्यक्ष आभा गौतम, दृतिय उपाध्यक्ष बबिता मैनाली, सचिव नितु शाह चन्द, कोषाध्यक्ष बिन्दु चर्तिमगर, सदस्य सुनिता सुवेदी, धनमाया लुइँटेल रिचा लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको दौरान पछिल्लो समय नयाँ व्यवसाय गरेर सफलता हासिल गरेका महिला उद्यमीहरूले आफ्ना अनुभव सुनाउनु भएको थियो ।  कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिकाको महिला विकास अधिकृत मञ्जु पाण्डे तथा विधागत रूपमा विभिन्न व्यवसायमा सफलता हासिल गरेका व्यवसायीहरू बिन्दु चर्तिमगर, गीता मौर्य, अञ्जलि चौधरी, कमला थारु, धनमाया लुइँटेल रिचा, दीपालि टण्डन, नाजिया शर्मा लगायतले आफ्नो अनुभव र उत्प्रेरणा जगाउने कुराहरू सुनाउनुभयो ।

कार्यक्रम निकै प्रभावकारी भएको बताउँदै महिला उद्यमी सङ्घ नेपाल बाँके अध्यक्ष सावित्री बस्नेत पोखरेलले अहिलेको अवस्थामा युवाहरूलाई व्यवसायमा आकर्षित गर्न जरुरी रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘‘जबसम्म युवाहरू आर्थिक रूपमा सक्षम हुँदैनन्, तबसम्म हाम्रो देश आर्थिक रूपमा बलियो हुँदैन । महिलाहरूलाई आर्थिक रूपमा सशक्त बन्नको लागि के कस्ता व्यवसाय गर्न सकिन्छ, खेर गएका समय कसरी सदुपयोग गर्न सकिन्छ । अनलाइन व्यवसाय कसरी गर्ने । आर्थिक रूपमा कसरी आत्मनिर्भर बन्ने भन्ने बारेमा हामीले अभिमुखीकरण गर्ने प्रयास गरेको थियौँ । त्यो सफल भएको छ ।’’

महिला उद्यमी सङ्घ नेपाल बाँकेले महिला उद्यमीहरूलाई उद्योग, व्यापारको बारेमा विभिन्न किसिमका उत्प्रेरणा दिने कार्य गर्ने गरेको छ । सङ्घले हरेक वर्ष नेपालगन्जमा लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी आयोजना गर्ने गरेको छ भने महिला उद्यमीहरूले उत्पादन गरेका वस्तुहरूको बिक्री गर्नको लागि कोसेली घर सञ्चालन गरिरहेको छ ।

कार्यक्रममा सहभागी भएका मध्ये ११ जनाले व्यावसायिक तालिम लिन चाहेको आयोजकले  जानकारी गराएको छ ।