• १८ असार २०८२, बुधबार

उपराष्ट्रपति यादव स्वागत समारोहमा

blog

उपराष्ट्रपति रामसहायप्रसाद यादव ।

काठमाडौँ, फागुन २३ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादव बङ्गलादेशको त्रिपन्नौँ स्वतन्त्र दिवसका अवसरमा आज यहाँ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो । 

नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दिन नोमन चौधरीले आयोजना गर्नुभएको स्वागत समारोहमा संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, कामको सिलसिलामा काठमाडौँमा बसोबास गर्दै आएका बङ्गलादेशका नागरिक, उद्यमी, व्यवसायी तथा वरिष्ठ सञ्चारकर्मीहरुको उपस्थिति थियो । 

त्यस अवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत चौधरीले बङ्गलादेशले प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा मध्य आययुक्त मुलुकका रुपमा आफूलाई रुपान्तरण गर्न लागेको बताउँदै नेपाल पनि त्यस दिशामा अग्रसर भएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले बङ्गलादेश र नेपालले द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय मञ्चहरुमा सहकार्य गर्दै आएका र त्यस्तो सहकार्य, व्यापार, पर्यटन, शिक्षा, सांस्कृतिक आदानप्रदान र जनस्तरको सम्बन्ध प्रवर्धनमा केन्द्रित रहेको बताउनुभयो । 

राजदूत चौधरीले बितेका पाँच वर्षमा बङ्गलादेश र नेपालका राष्ट्रपतिले एकअर्काका मुलुकको भ्रमण गर्नुभएको र त्यस क्रममा व्यापार, पर्यटन, सम्पर्क सञ्जाल विस्तार, सांस्कृतिक तथा ऊर्जा क्षेत्रमा सहकार्य एवम् साझेदारी गर्ने सम्झौता भएका बताउनुभयो । बङ्गलादेश र नेपालबीच परराष्ट्र र वाणिज्य सचिवस्तरीय वार्ता आगामी महिना हुने जानकारी दिँदै राजदूत चौधरीले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन संस्थागत संयन्त्रका बैठक भइरहेको जानकारी दिनुभयो । दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइ दिन नेपालसँगको साझेदारीलाई अघि बढाउने बङ्गलादेश सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । रासस