• ८ जेठ २०८१, मङ्गलबार

रिडीमा विश्रामस्थल बन्ने

blog

रमेश विश्वकर्मा

गुल्मी, फागुन २३ गते । अर्घाखाँचीको छत्रदेव गाउँपालिका र गुल्मीको रुरु क्षेत्र गाउँपालिकाले संयुक्त लगानीमा कालिगण्डकी किनार रिडीमा विश्राम स्थल बनाउने भएका छन् । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थल रिडीमा हिन्दु धर्मावलम्बीको अन्तिम दाहसंस्कार गर्ने ठाउँ नजिकै छत्रदेव(रुरु क्षेत्र विश्राम स्थल निर्माण गर्न लागिएको हो ।

दाहसंस्कार गर्न आउनुहुने मलामीहरूको सुविधाको लागि निर्माण गर्न लागिएको विश्राम स्थल [शौचालय, खानेपानी र बस्ने स्थल] को एक औपचारिक कार्यक्रमका बिच छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ र रुरु क्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले संयुक्त रूपमा शिलान्यास गर्नुभयो ।

त्यस अवसरमा छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले रुरु क्षेत्र, रिडी, कालिगण्डकी सबैको सामूहिक सम्पत्ति भएको बताउनुभयो । उहाँले रिडीमा दाहसंस्कार गर्न अर्घाखाँचीदेखि पनि आउने गरेको हुँदा सबैको सहजताका लागि रुरु क्षेत्र गाउँपालिकासँग साझेदारी गरिएको बताउनुभयो ।

रुरु क्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले दाहसंस्कार गर्न आउने मलामीलाई सजिलो होस भन्नका लागि दुवै पालिका मिलेर यो योजना बनाएको बताउनुभयो । उहाँले यो काममा हातेमालो गर्ने छत्रदेव गाउँपालिका अध्यक्षलगायत पालिका परिवारलाई समेत धन्यवाद दिनुभयो ।

कुल ३५ लाख ५८ हजार ४९१ रुपियाँ २८ पैसामा आगामी जेठ ३० गतेसम्म निर्माणको काम सम्पन्न गर्ने गरी जुरेढुङ्गा कन्स्ट्रक्सन एन्ड सप्लायर्स गुल्मीसँग सम्झौता भएको रुरु क्षेत्र गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनुभयो ।