• १६ वैशाख २०८१, आइतबार

तीन दशकदेखि कला क्षेत्रमा समर्पित नरेन्द्र

blog

शिवा तामाङ

काठमाडौँ, फागुन २२ गते । अमूर्त कलामा विगत तीन दशकदेखि निरन्तर लाग्नुभएका कलाकारको नाम हो नरेन्द्र भट्टराई । चित्र कोर्न भनेपछि सबै काम बिर्सने कलाकार अमूर्त कलाको विकास र यसको प्रचारमा  लगातार रूपमा सक्दो प्रयासमा जुटिरहनुभएको छ । 

नेपाली कला क्षेत्रमा करिब करिब गुमनाम रूपमै आफ्नो कलायात्रालाई अगाडि बढाइरहनुभएका कलाकार नरेन्द्रले अमूर्त कलामा बढी क्यानभास रङ्ग्याउने गर्नुभएको छ । हुलाकमा जागिरे पिताको साथमा थुप्रै जिल्लामा बस्ने, घुम्ने अवसरका कारण उहाँले बाल्यकालदेखि नै प्रकृतिसँगको सामीप्यको अनुभव गर्नुभयो । 

कलाकार नरेन्द्र भन्नुहुन्छ, “प्रकृतिले फुर्सदमा सजाएको देशमा जन्मने सौभाग्य मात्र होइन, बाल्यकालमा जुन बहानाले घुम्ने मौका पाएँ, त्यसबेला त्यत्ति जानकारी नभए पनि मैले जब चित्र बनाउने सामान्य प्रशिक्षण लिएँ, करिब तीन दशकदेखि तिनै प्रकृतिको वरिपरि मेरो कलायात्रा घुमिरहेको छ ।” बुटवल निवासी कलाकार नरेन्द्रले राजधानीलाई कर्मथलो बनाउँदै अगाडि बढाउनुभएको कलायात्राको समर्पणलाई हालै सम्पन्न अरनिको दिवसमा १० हजार रुपियाँसहित अमात्य अमूर्त कला पुरस्कारबाट सम्मान गरिएको थियो ।

उहाँले नेपालमा आधुनिक कलाको प्रवर्धकका रूपमा स्थापित वरिष्ठ कलाकार गेहेन्द्रमान अमात्यले राख्नुभएको उक्त अमात्य अमूर्त कला पुरस्कार पाउँदा तीन दशकदेखिको कलायात्रामा थप जिम्मेवारीको साथै खुसी लागेको बताउनुभयो । आफ्नो पेसागत धर्म निर्वाह गर्नमा व्यस्त उहाँ कलासम्बन्धी विभिन्न सङ्घ संस्थाको नेतृत्व गर्नभन्दा क्यानभास, रङ, ब्रस चलाउनै मन पराउनुहुन्छ । निरन्तर काममा व्यस्त हुने भएकाले होला उहाँ खासै चर्चामा आउन रुचाउनुहुन्न । 

कलाकारले सिर्जना गरेको चित्र सङ्कलन गरी क्रेतासम्म पु¥याउने पुलको काम गरिरहनुभएका बिआर श्रेष्ठले कलाकार नरेन्द्रको कलाकारिता र क्षमताबाट विगत लामो समयदेखि आफू परिचित रहेको बताउँदै पूरै अमूर्त र अर्ध अमूर्त कलामा पोख्त उहाँको सिर्जना धेरैले मन पराउने गरेका छन् । चित्रकलाको प्रशिक्षण लिँदादेखि नै परिचित कलाकार नरेन्द्र घरमै बसेर चित्र बनाउनुहुन्छ, घर र ग्यालरीसम्मको मात्र यात्रा गरिरहने कलाकारमध्ये उहाँ पनि पर्नुहुन्छ ।