• १६ वैशाख २०८१, आइतबार

बालसाहित्यका चार पुस्तक लोकार्पण

blog

काठमाडौँ, फागुन २२ गते  । बालसाहित्यका चार पुस्तकको एकै पटक लोकार्पण गरिएको छ । त्रिदेव पौडेलको ‘मेरा बाल सिर्जनाहरू’, ‘नेपाललाई नेपाल बनाउने चाहना’, तिलोत्तम पौडेलको ‘बाल सहभागिता र बालक्लब’ र डा. देवकी आचार्यको ‘नीलिमा र क्यामेरा’ कथासङ्ग्रहको संयुक्त रूपमा लोकार्पण गरिएको हो । पूर्वपरराष्ट्रमन्त्री तथा साहित्यकार प्रदीप ज्ञवालीले लेखक त्रिदेव पौडेलले लेखेका कृतिले देशको राजनीतिलगायत विविध क्षेत्रको नेतृत्वलाई समेत प्रेरणा दिन सक्ने बताउनुभयो । 

नेपाललाई स्विट्जरल्यान्ड, सिङ्गापुर बनाउने वक्तव्य, मन्तव्य सुनेर हुर्किरहनुभएका १२ वर्षीय लेखक त्रिदेव पौडेलले यही देशलाई उदाहरणीय देशका रूपमा विकास गर्ने सपनासहित खाका कोर्दै लेखेको लेखहरूको सङ्ग्रह पुस्तकका रूपमा पाठकमाझ आएको हो । उहाँको अर्को कृतिमा कोभिड–१९ का बेला लेख्नुभएको कथा, कविता, निबन्धहरू समेटिएका छन् । लेखक डा. देवकी आचार्यको नेपालमा चलेको सशस्त्र द्वन्द्वले बालबालिकामा परेका प्रभावका विषयमा ‘नीलिमा र क्यामेरा’ कथासङ्ग्रह पाठकमाझ ल्याउनुभएको हो । तिलोत्तम पौडेलले ‘बाल सहभागिता र बालक्लब’ नेपालमा बाल सहभागिताको उठान र बालक्लबको सुरुवातदेखि हालसम्मको ऐतिहासिक पृष्ठभूमिसमेतको चर्चा गर्नुभएको छ । डा. दयाराम श्रेष्ठले ‘नीलिमा र क्यामेरा’ कथासङ्ग्रहका कथाहरू किशोर साहित्यसँग सम्बन्धित रहेको र किशोरकिशोरीका जीवनमा भोगेका दुःखद घटनाका प्रभाव गहन रूपमा प्रस्तुत रहेको कुरा बताउनुभयो । 

यसै गरी नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा यादवप्रकाश लामिछानेले बालक त्रिदेवको आख्यानात्मक विशेषता राम्रो रहेको र अझै खारिँदै जाऊन् भनेर शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले एक घरका तीन सदस्यका चार वटा पुस्तक एकै पटक विमोचन हुनु र तीन पुस्ता एकै मञ्चमा रहेका साहित्यका विधामार्फत समाजलाई सकारात्मक परिवर्तनमा सन्देश प्रवाह गर्न सक्नु अत्यन्तै उदाहरणीय रहेको कुरा व्यक्त गर्नुभयो ।