• २३ असार २०८१, आइतबार

नेपालगन्जमा पहिलो पटक लेजर प्रविधिबाट शल्यक्रिया सुरु

blog

नेपालगन्जमा लेजर प्रविधिबाट शल्यक्रिया गर्दै चिकित्सकहरु । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, फागुन २१ गते । 
नेपालगन्जस्थित कान्ति आरोग्य अस्पतालले पश्चिम नेपालमै पहिलो पटक लेजर प्रविधिबाट शल्यक्रिया सेवा सञ्चालन गरेको दाबी गरेको छ ।

कान्ति आरोग्य अस्पतालका वरिष्ठ ल्योस्कोपिक सर्जन डा. विजय उपाध्यायले पश्चिम नेपालमै पहिलो पटक कान्ति आरोग्य अस्पतालमा लेजर प्रविधिबाट शल्यक्रिया गर्ने पद्धति भित्र्याए सेवा समेत सुरुवात गरेको जानकारी दिनुभयो ।

उहाँले लेजर प्रविधिबाट पायल्स, फिसर, फिस्टुला, पाइलो निडल साइनस साथै डायविटिक फुटको बिरामीको उपचारका लागि शल्यक्रिया गर्न सहज भएको र यसको नतिजा पनि करिब शतप्रतिशत सफल रहेको बताउनुभयो ।

कान्ति आरोग्य अस्पतालमा दुईजना बिरामीलाई पायल्स, फिष्टुला र फिसरको लेजर प्रविधिबाट अपरेसन गरी सेवा प्रवाह गरेको अस्पतालले जनाएको छ । लेजर प्रविधिबाट शल्यक्रिया गर्दा बिरामीको शरीरलाई चिर्नु पर्दैन र लेजरको मद्दतले सेवा प्रवाह गर्ने गरिन्छ ।

शल्यक्रियाका लागि लेजर प्रविधि काठमाडौँ, पोखरा र चितवनमा मात्र सञ्चालनमा रहेको छ । पश्चिम नेपालमा पहिलोपटक कान्ति आरोग्य अस्पताल नेपालगन्जले यो सेवा सञ्चालन गरेको जनाइएको छ ।

नेपालगन्जमा यो सेवा सुरु गरिएपछि लेजर प्रविधिबाट शल्यक्रिया गराउन चाहने र गर्नु पर्ने बिरामीलाई काठमाडौँ र भारत जानुपर्ने बाध्यताको अन्त भएको कान्ति आरोग्य अस्पतालको भनाइ छ ।

लेजर प्रविधिबाट शल्यक्रिया सुरु गरिएपछि यस क्षेत्रका बिरामीलाई निकै सहज र सरल हुने स्थानीय सर्वसाधारणले पनि जनाएका छन् ।

केही दिनपहिले यो सेवाका लागि काठमाडौँ जानु परेको जनाउँदै नेपालगन्ज ११ का स्थानीय अगुवा मुबारक सिद्धिकीले अब नेपालगन्जमै सेवा उपलब्ध भएकाले अरूलाई सहज हुने प्रतिक्रिया दिनुभयो ।