• १३ साउन २०८१, आइतबार

स्वास्थ्य शिविरमा तीन हजार बढीले लिए सेवा

blog

रमेश विश्वकर्मा

गुल्मी, फागुन २१ गते । गुल्मीको इस्मा गाउँपालिकामा सञ्चालन भएको निःशुल्क बृहत स्वास्थ्य शिविरमा तीन हजारभन्दा बढीले सेवा लिएका छन् । इस्मा गाउँपालिका र सुशील कोइराला स्मृति प्रतिष्ठानको आयोजना एवम् काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा तीन हजार १८७ जनाले सेवा लिएका हुन् । 

दुई दिनसम्म इस्मारजस्थल दोबाटमा सञ्चालन भएको शिविरमा दुई हजार ३२ जना महिला र एक हजार १५५ जना पुरुषले सेवा लिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदम अधिकारीले जानकारी दिनुभयो । जनरल मेडिसिनतर्फ १३५ जना, प्रसूती तथा स्त्रीरोगतर्फ २०० जना, बाल रोगतर्फ १०० जना र शल्यक्रिया सर्जरीतर्फ १०५ जनाले सेवा लिएका छन् ।

त्यस्तै, मानसिक तथा नशा रोगतर्फ १५० जना, हाडजोर्नी तथा नसातर्फ ५१० जना, छाला तथा यौनरोगतर्फ ११५ जना, नाक कान घाँटीतर्फ १२० जना, दन्त रोगतर्फ ८७ जना, मुटु रोगतर्फ ३५० जना, आँखा परीक्षण १२० जना र प्रयोगशाला सेवातर्फ २६६ जनाले सेवा लिएका छन् । भिडियो एक्सरे ३१८ जना, इको १२२ जना र इसिजी १२३ जनाले गरेका छन् । 

शिविरमा इस्मा गाउँपालिकासहित मालिका गाउँपालिका, धुर्कोट गाउँपालिका, मुसिकोट नगरपालिका र रेसुङ्गा नगरपालिकाका नागरिकले सेवा लिएका हुन् । शिविरमा स्वास्थ्य परीक्षणसँगै १०९ जना विभिन्न रोगका बिरामीको फागुन २८ गते काठमाडौं मेडिकल कलेजले निःशुल्क शल्यक्रिया गर्ने भएको छ । यसका लागि गाउँपालिकाले सहजीकरण गर्ने भएको छ ।