• १३ साउन २०८१, आइतबार

भैरहवा भन्सारबाटै रुट पर्मिट सेवा

blog

बेलहिया नाकामै पर्यटकलाई लक्षित गर्दै अस्थायी पटके इजाजत पत्र (रुट पर्मिट सेवा शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्याललगायत । तस्बिर : कपिल ज्ञवाली ।

कपिल ज्ञवाली

सिद्धार्थनगर,फागुन २० गते । बेलहिया नाकामै पर्यटकलाई लक्षित गर्दै अस्थायी पटके इजाजत पत्र (रुट पर्मिट) सेवा सुरु भएको छ । 

यातायात व्यवस्था सेवा कार्यालय भैरहवाले भैरहवा भन्सार कार्यालयबाटै अस्थायी पटके इजाजत पत्र (रुट पर्मिट) सेवा सुरु गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भारतीय नागरिक ध्रुव सिंहलाई काठमाण्डौँसम्म चार दिनका लागि रुट पर्मिट दिई सेवा सुरु गर्नुभयो । अब भारतीय पर्यटकहरू भन्सारसँगै रुट पर्मिटको सेवा भन्सार परिसरबाटै पाउनेछन् ।

भारतीय पर्यटकलाई नाकामै रुट पर्मिट दिन थालेपछि यातायात व्यवस्था सेवा कार्यालय पुग्नुपर्ने बाध्यता अब हटेको छ । 

भन्सार कार्यालयले भौतिक सहयोग गरेसँगै यो सेवा भन्सारमै थपिएको यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख ईश्वरी अर्यालको भनाइ छ ।

दैनिक २ सयको हाराहारीमा पटके सेवा लिने गरेकोमा सीमित जनशक्ति भए पनि अधिकांशको माग बमोजिम सीमा बिन्दुमा नै सेवा सुरु गरिएको छ र  यसको दिगो सञ्चालनका लागि सबैको सहकार्य हुन जरुरी रहेको उहाँको भनाइ छ ।

नेपाली सवारी साधनको ५० किलोमिटरसम्म एक सय १० रुपियाँका दरले राजस्व बुझाउनुपर्छ भने भारतीय मोटरसाइकलको हकमा प्रतिदिन दुई सय, मझौला गाडीको हकमा प्रतिदिन पाँच सय र ठुला बसको दैनिक सात सयको दर राजस्व बुझाई इजाजत पत्र दिने व्यवस्था छ । 

कार्यालय प्रमुख अर्यालले भन्नुभयो, ‘इजाजत पत्रका लागि बुटवल बसपार्कमा पनि काउन्टर छ, भन्सारले इजाजत दिएको दिनसम्म मात्रै यातायातले पटके दिने गरेको छ ।’ 

प्रमुख जिल्ला अधिकारी अर्यालले पटके इजाजत लिनका लागि पर्यटकहरू भौँतारिँदै गरेको र सरोकारवाला निकायको माग भएकै कारण सम्बन्धित निकायमा पहल गरेर पर्यटकका लागि सेवा सुरु गरिएको बताउनुभयो ।

अर्यालले यो पहिलो अध्याय  भएको  र दोस्रो अध्यायको रूपमा सीमामा चेकजाँच प्रणालीलाई एक ठाउँमा व्यवस्थित गर्ने तेस्रो अध्यायमा नेपाल प्रवेश गर्ने सबै जना वाल्क थ्रु गेट हुँदै परिचयपत्र देखाएर मात्रै नेपाल प्रवेश गर्ने व्यवस्थापनका लागि गृहकार्य भएको जानकारी दिनुभयो ।

यातायात कार्यालयले २०६८ सालदेखि पटके सेवा सञ्चालन गरेको भए पनि भैरहवामा आर्थिक वर्ष २०७१÷७२ बाट सेवा एकाइ कार्यालयको स्थापनासँगै रुट पर्मिट दिँदै आएको थियो । 

तत्कालीन समयमा सिद्धार्थ उद्योग वाणिज्य सङ्घको भौतिक सहयोगमा नेशनल ट्रेडिङमा कार्यालय स्थापना भए पनि हाल अञ्चलपुरमा कार्यालय छ । 

कार्यालयले वार्षिक ३५ करोडभन्दा बढी राजस्व उठाउँदै आएको छ । सीमामै सेवा दिन थालेपछि राजस्व पनि बढ्ने यातायात कार्यालयको अपेक्षा छ ।

कार्यालयले  भविष्यमा प्रदूषण मापनको स्वीकृति दिने व्यवस्था पनि थालनी गर्न लागेको यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख ईश्वरी अर्यालको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामीसँग सवारी साधनको प्रदूषण मापन यन्त्र आइसकेको छ, प्रदेश सरकारको मन्त्रालयबाट स्टिकर आइनसकेका कारण सेवा सुरु भएको छैन अबको केही समयमै सेवा थप हुनेछ ।’ 

यातायात व्यवसायी सियाराम यादवले नेपाली गाडीहरूका लागि रुट पर्मिट लिन सीमामा पुग्नुपर्दा अपायक हुने हुँदा कार्यालयबाट सेवा सुचारु गर्नुपर्ने बताउनुभयो ।

पर्यटन व्यवसायी चन्द्रप्रकाश श्रेष्ठ, उद्योग व्यापार सङ्गठनका अध्यक्ष दर्पण श्रेष्ठ, सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ, भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतम, पर्यटन व्यवसायी सञ्जय बजिमय, कार्यालयका अधिकृत नरबहादुर अर्याललगायतले सेवा सञ्चालनसँगै भारतीय पर्यटक गाडीलाई सहज हुने धारणा राख्नुभयो ।

यो प्रणालीको दिगो सञ्चालनका लागि सबैको सहकार्य हुन जरुरी रहेको सरोकारवालाको भनाइ छ ।