रेखीराम राना
तानसेन, फागुन २० गते । पाल्पाको तानसेनमा कृषि, व्यापार तथा पर्यटन महोत्सव सुरु भएको छ । तानसेन नगरपालिकाको आयोजनामा शनिबारदेखि तानसेनको टुँडिखेल मैदानमा पहिलो पटक महोत्सव आयोजना गरिएको हो ।
यसअघि पाल्पा उद्योग वाणिज्य सङ्घ र पाल्पा व्यापार सङ्घले तानसेनमा व्यापार तथा पर्यटन महोत्सवको आयोजना गर्दैआएका थिए । महोत्सवमा पाल्पाली ढाका, करुवा, कृषि उत्पादन, लघु तथा घरेलु उत्पादन प्रदर्शनी, शैक्षिक सामग्री प्रदर्शनी, बैंक तथा वित्तीय संस्था, सूचना प्रविधि, अटो मोवाइल, स्वास्थ्य, पर्यटन तथा स्वदेशी अन्य उत्पादनका स्टल रहेका छन् ।
महोत्सवमा तीन लाख बढी दर्शकले अवलोकन गर्ने मूल आयोजक समितिका संयोजक एवं तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । दश दिनसम्म सञ्चालन हुने महोत्सवमा १० करोड रुपियाँ बरावरको कारोबार हुने अनुमान गरिएको छ । महोत्सवबाट तानसेन नगरपालिकाले ६१ लाख बढी राजस्व बचत हुने नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
महोत्वस स्थलमा प्रवेश गर्नका लागि ७० रुपियाँ र विद्यार्थीलाई ५० रुपियाँ तथा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको नगर प्रवक्ता यादवसिंह कार्कीले बताउनुभयो ।
महोत्सवमा पाल्पामा उत्पादित कृषिजन्य बस्तुको प्रदर्शनी, हस्तकला, काष्ठकलाको उत्पादन र निर्माणको स्टलसमेत राखिएको छ । महोत्सवले सीप हस्तान्तरण, छोटो अबधिको रोजगार प्रदान, आर्थिक चलायनमान गराउन सहयोग पुग्ने नगरपालिकाकी उपप्रमुख प्रतीक्षा सिञ्जाली गाहाले बताउनुभयो ।
महोत्सवको उद्घाटन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ्ले गर्नुभयो । सो अवसरमा प्रतिनिधिसभाका सदस्य ठाकुर गैरे, राष्ट्रिय सभाका सदस्य राजेन्द्रलक्ष्मी गैरे, पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले महोत्सव सफलताको शुभकामना दिनुभएको थियो ।