• १२ साउन २०८१, शनिबार

दादुरा रुबेला रोगविरुद्धको खोप लगाइने

blog

खोप अभियानका विषयमा जानकारी गराइँदै । तस्विरः कोकिला भण्डारी

कोकिला भण्डारी

धनकुटा, फागुन २० गते । पाख्रिबास नगरपालिकामा दादुरा रूबेला रोगविरूद्धको खोप अभियान सञ्चालन गरी खोप लगाइने भएको छ । जिल्लाको पाख्रिबास नगरपालिकामा फागुन २९ गतेदेखि चैत ३ गतेसम्म उक्त खोप लगाइने भएको हो ।

९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई दादुरा रुबेला रोगविरुद्धको खोप लगाइने पाख्रिबास नगरपालिकाले जनाएको छ । नगरको स्वास्थ्य शाखाले अभिमुखीकरण कार्यक्रमको आयोजना गरी बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइने जानकारी गराएको छ । राष्ट्रिय दादुरा रुबेला खोप अभियान अन्तर्गत नगरको सम्पूर्ण वडाका साविक २३ र थप २१ गरी जम्मा ४४ खोप केन्द्रमार्फत नगरभरिका १ हजार ६ सय २८ बालबालिकालाई खोप लगाउने तयारी गरिएको छ । 

प्रत्येक खोप केन्द्रमा एक स्वास्थ्यकर्मीसहित २ जना स्वयंसेवक खटाइने पाख्रिबास आधारभूत अस्पतालका डाक्टर अङ्कित शर्माले जानकारी दिनुभयो । दादुरा रुबेलाको समस्या, यसका लक्षण, यसबाट बच्ने उपायसहित जानकारी गराउँदै खोप अभियान सुरू गर्न लागिएको स्वास्थ्य शाखाका सिअनमि ईशा राईले जानकारी दिनुभयो ।