• १६ भदौ २०८१, आइतबार

तानसेनमा व्यापार तथा पर्यटन महोत्सव सुरु

blog

महोत्सवमा सहभागीहरू । तस्बिर : रेखीराम राना

रेखीराम राना

तानसेन, फागुन २० गते । पाल्पाको तानसेनमा कृषि, व्यापार तथा पर्यटन महोत्सव सुरु भएको छ । सुस्त बनेको आर्थिक गतिविधिलाई चलायमान बनाउन, पर्यटकीय स्थलहरूको प्रचार गरी पर्यटक भित्र्याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । यस्तै घरेलु तथाा साना उद्योगबाट उत्पादित वस्तुको प्रचार एवं बिक्री गर्न पनि महोत्सवले सघाउने आयोजक तानसेन नगरपालिकाले जनाएको छ ।  

यसअघि पाल्पा उद्योग वाणिज्य सङ्घ र पाल्पा व्यापार सङ्घले तानसेनमा व्यापार तथा पर्यटन महोत्सवको आयोजना गर्दै आएका थिए भने नगरपालिकाले पहिलो पटक महोत्सव गरेको हो । महोत्सवमा पाल्पाली ढाका, करुवा, कृषि उत्पादन, लघु तथा घरेलु उत्पादन प्रदर्शनी, शैक्षिक सामग्री प्रदर्शनीका स्टल छन् । फागुन १९ गतेदेखि सुरु भएको महोत्सव आगामी फागुन २९ गतेसम्म सञ्चालन हुनेछ । 

यस्तै बैंक तथा वित्तीय संस्था, सूचना प्रविधि, अटो मोबाइल, स्वास्थ्य, पर्यटन तथा स्वदेशी अन्य उत्पादनका स्टल छन् । महोत्सवमा तीन लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने मूल आयोजक समितिका संयोजक एवं तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । 

दश दिनसम्म सञ्चालन हुने महोत्सवमा १० करोड रूपियाँकाे कारोबार हुने अनुमान गरिएको छ । महोत्सवबाट तानसेन नगरपालिकाले ६१ लाख बढी राजस्व बचत हुने नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो । 

महोत्सवमा पाल्पामा उत्पादित कृषिजन्य वस्तुको प्रदर्शनी, हस्तकला, काष्ठकलाको उत्पादन र निर्माणको स्टलसमेत राखिएको छ । महोत्सवले सीप हस्तान्तरण, छोटो अवधिको रोजगार प्रदान, आर्थिक चलायनमान गराउन सहयोग पुग्ने नगरपालिकाकी उपप्रमुख प्रतीक्षा सिंजाली गाहाले बताउनुभयो ।