• १६ भदौ २०८१, आइतबार

जोखिममा वन्यजन्तु

blog

रवीन्द्र उप्रेती

बर्दीबास, फागुन २० गते । केही दिनअघि औरही–४, कविलासास्थित जङ्गाहा खोला किनारको खेतमा गर्भिणी अवस्थाको नीलगाई अशक्त अवस्थामा भेटियो । नीलगाईको शरीरमा कुनै चोटपटक नदेखिएको तर नाकमुखबाट र्‍याल सिँगान बगिइरहेकाले गाईले विषादी छरेको गहुँबालीमा चरेको हुन सक्ने उद्धारकर्मीले अनुमान लगाए । वनकर्मीले उद्धार गरी टुटेश्वर सबडिभिजन वन कार्यालयमा ल्याएर उपचार गर्न खोजे पनि गर्भिणी गाईलाई जोगाउन सकेनन् । 

त्यसअघि मङ्सिर ६ गते पनि बर्दीबास–३, गौरीडाँडास्थित रेडियो नेपाल परिसरमा रहेको नेपाली सेनाको क्याम्पमा जोखिमपूर्ण चरीबाघ (लियोपार्ड क्याट) फेला पर्‍यो । लोपोन्मुख अवस्थाको चरीबाघ महोत्तरीका वन क्षेत्रमा पहिलो पटक देखा परेको थियो । आहारा खोज्दै सैनिक क्याम्प पुगेको भाले चरीबाघ युक्लिप्टसको रुख र फलामे कन्टेनरको बिचमा चेपिएर उद्धारका लागि करुण क्रन्दन गरिरहेको थियो । चेपुवामा परेको चरीबाघको टाउकोमुनि र शरीर माथि थियो । खबर पाएर घटनास्थल पुगेका वनकर्मीले लामो प्रयासपछि उद्धार गरे पनि त्यसलाई बचाउन भने नसकिएको उद्धारमा संलग्न सशस्त्र वन सुरक्षा शाखा माईस्थानका प्रमुख अवतार लामाले बताउनुभयो । 

त्यसअघि बस्तीमा पसेको हात्तीका जोडीले बर्दीबास नगरपालिकाको चुरेदेखि दक्षिणीभेगसम्म आतङ्क मच्चाएको घटना स्थानीयले बिर्सन सकेका छैनन् । ती हात्तीले दुई महिनामा दर्जनभन्दा बढी घरमा क्षति पुर्‍याउनुका साथै २५ बिघा जग्गामा लगाइएको धान, तरकारी र उखु बालीमा ठुलो क्षति पु¥याउन थालेपछि नगर प्रमुख प्रह्लाद क्षेत्रीले ‘हात्ती खोज र धपाऊँ’ अभियान नै चलाउनु परेको थियो । मृत्यु भएका नीलगाई र चरीबाघलाई वन कर्मचारीले कानुनी प्रक्रिया पु¥याएर खाल्डोमा गाडेका थिए । यसअघि बाँकेको जङ्गलमा पूर्वपश्चिम लोकमार्ग वारपार गर्न बुर्कुसी मारेको एउटा चित्तल रुखको कापमा चेपिएर मरेको अवस्थामा वनकर्मीले फेला पारेका थिए । 

गर्मीयाम सुरु भएसँगै डढेलोको प्रकोप बढ्ने हुँदा सुरक्षा, पानी र चरिचरनको खोजमा वन्यजन्तु बस्तीमा पस्ने, मारिने घटना बढ्दो हुन्छ । बस्ती पुगेका वन्यजन्तुलाई करेन्ट लगाएर, गोली हानेर र कतै घेराबन्दी गरी धारिलो हतियार प्रहार गर्ने प्रवृत्ति पनि बढेको छ । बालीनालीमा प्रयोग भएका विषादीका कारण पनि वन्यजन्तुलाई असर पुग्ने गरेको छ ।  

डिभिजन वन कार्यालयले वन्यजन्तुको तीर्खा मेट्न र डढेलो नियन्त्रणको उद्देश्यले पूर्वपश्चिम लोकमार्गको उत्तरी भेगको जङ्गली क्षेत्रमा चार वटा पोखरी खनेको जिल्ला वन अधिकृत सन्तोष झाले बताउनुभयो । यद्यपि वर्षा सकिएसँगै पानी पनि सुक्ने हुँदा यी पोखरी प्रभावकारी देखिएका छैनन् । 

विद्युत् टावर, सडक, रेलवे ट्र्याकलगायत आयोजनाको नाममा वनजङ्गल फाँडिदा, विकास निर्माण वन्यजन्तुमैत्री नहुँदा पनि जङ्गलको पारिस्थितिकीय खलबलिएको, तिनीहरूको सहज विचरण अवरुद्ध भएको बर्दीबास–४, माईस्थान सबडिभिजन वन कार्यालयका प्रमुख कृष्णकान्त पटेलले बताउनुभयो ।