• १४ मंसिर २०८१, शुक्रबार

बेँसीसहर-चामे सडक दुई दिन बन्द रहने

blog

बेँसीसहर-चामे सडक ।

लमजुङ, फागुन १९ गते । पहाडी जिल्ला र हिमालपारिको जिल्ला भनेर चिनिने मनाङ जिल्ला जोड्ने एक मात्र बेँसीसहर-चामे सडक आजदेखि दुई दिन बन्द हुने भएको छ । सडक जोखिम बढ्दै गएपछि यस सडकअन्तर्गत नासो गाउँपालिका-९ दानाक्यु नजिकै सडक मर्मतका लागि आज दिउँसो २ बजेदेखि आइतबार बिहान १० बजेसम्मका लागि सडक बन्द हुने भएको हो । 

सडकको ढलान भत्किएर अत्यन्तै जोखिम रहेकाले र वैकल्पिक सडक नभएकाले बन्द गरेर मर्मत गर्ने हुँदा उक्त समयसम्मका लागि यातायात पूर्णरुपमा थप्प हुने भन्दै जिल्ला प्रशासन कार्यालय मनाङले एक सूचना जारी गरेको छ । डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका इन्जिनियर सुमन अधिकारीले दानाक्यु नजिकै कल्भटको वरिपरि भत्किएको र बाटोमा ढुङ्गा निस्किएकाले मर्मत गर्न लागिएको बताउनुभयो । 

सवारी साधन सञ्चालनमा धेरै समस्या हुन थालेपछि उक्त ठाउँमा सामान्य मर्मत हुने भएपनि वैकल्पिक सडक नहुँदा यस सडक नै बन्द गर्नुपर्ने भएको उहाँको भनाइ छ । नासो गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले दानाक्युमा सडक जीर्ण हुँदा दुर्घटनाको जोखिम धेरै रहेको जानकारी दिनुभयो । उहाँले विशेष गरी आफ्ना पालिकाका नागरिक र मनाङवासीलाई सो सडकका कारण धेरै दुःख भइरहे पनि समाधान हुन नसकेको बताउनुभयो । 

उक्त स्थानमा रहेको काठेपुल २०७७ असारमा आएको बाढीले बगाएपछि पटक-पटक काठेपुल राखे पनि जोखिम हुँदै आएपछि २०७८ फागुनदेखि चैत ५ गतेसम्म बेँसीसहर चामे सडक बन्द गरेर कल्भर्ट राखिएको थियो । यतिबेला उक्त कल्भर्ट राखिएको वरिपरि तथा ढलान गरिएको भागमा ढुङ्गा खसेर भत्किनुका साथै सडक जीर्ण भएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयले जनाएको छ । 

मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरूप २०५१ सालदेखि सडक डिभिजन कार्यालय दमौली-तनहुँ शाखाले बेँसीसहर चामे सडक निर्माण अघि बढाएको थियो । नेपाली सेनाले २०६९ सालमा सडक निर्माण गरी सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरेको थियो । उक्त सडक ६५ किलोमिटरमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्छ रासस