• १३ साउन २०८१, आइतबार

दुध डेरी र चिया पसलमा पनि सुर्तीजन्य पदार्थ बिक्रीमा रोक

blog

अमृतप्रसाद पौडेल
म्याग्दी, फागुन १९ गते । 
म्याग्दीको सदरमुकाम बेनी बजार रहेको बेनी नगरपालिकाले फागुन १६ देखि हुक्का प्रयोगमा प्रतिबन्ध लगाएकोमा १७ गतेदेखि चिया पसल तथा डेरीहरूमा चुरोट तथा सुर्तीजन्य पदार्थ बिक्री वितरणलाई रोक्न आग्रह गरेको छ ।

नगरपालिकाले फागुन १७ गते सूचना जारी गर्दै चिया पसल तथा डेरीहरूले सुर्ती जन्य पदार्थ तथा चुरोट बिक्री नगर्न आग्रह गर्दै बिक्रीमा राखिएको खण्डमा सुर्तीजन्य पदार्थको जफत गर्ने चेतावनी दिएको छ ।

बेनी नगरपालिकाले गत माघ २५ गतेको नगर कार्यपालिकाको बैठकबाट सुर्तीको धुलो खुदोमा मिसाएर बनाइएको धूम्रपान गर्ने बस्तु तमाखु (हुक्का) लाई प्रतिबन्ध गर्नका लागि नीतिगत निर्णय गरेको जनाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को परिच्छेद–३ को गाउँपालिका तथा नगरपालिकाको काम कर्तव्य र अधिकारमध्ये दफा ११ को उपदफा २ खण्ड(ञ) स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता एवम् खण्ड (झ) आधारभूत र सरसफाइ अन्तरगत रही निर्णय गरेको बेनी नगरपालिकाले सूचनामार्फत जनाएको छ । स्थानीय वातावरण र मानव स्वास्थ्यमा प्रतिकुल असर गर्ने भएकाले फागुन १६ देखि पूर्ण निषेध गर्ने कार्यपालिकाबाट निर्णय भएको जनाएको छ ।

नगरपालिकाले डेरीमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको भेटिएमा कानुन अनुसार अधिकतम हुनेगरी कारबाही गरिने जनाएको छ ।

धूम्रपान सेवन गर्दा निकोटिन, टार, कार्बन मोनोअक्साइड, एमोनिया, आर्सनिक जस्ता केमिकलले जति स्वास्थ्यमा असर गर्छ । सूचना सार्वजनिक गरेपनि अनुगमनलाई तीव्रता दिएको छ । नगरपालिकाले सुर्तीजन्य पदार्थको सेवन गरिरहेको अवस्थामा भेटिएकालाई बिहीबार देखिनै सचेत बनाउने गरिएको छ ।

नगरपालिकाको टोलीले दुध डेरी तथा चिया पसलमा चुरोट सेवन गरिरहेकालाई पहिलो पटक सचेत गराउने र अर्को पटक भेटिएमा कारबाही हुने चेतावनी दिएको छ । बेनीबजारमा कलिला बालबालिकाले समेत चुरोट सेवन गर्ने व्यापक जनगुनासोपछि नगरपालिकाले लागूपदार्थको सेवनलाई रोक्ने गरी थप सचेतनामूलक कार्यक्रमहरू ल्याउन लागिएको नगरप्रमुख सुरत केसीले जानकारी दिनुभयो ।