• ८ वैशाख २०८१, शनिबार

बेन्जो (प्रेम कथा)

blog

गोरेटो उहीँ छ । अझै उस्तै, दुरुस्तै पनि । 

पूर्ववर्ती कालखण्डमा भन्दा झनै खुम्चिए झैँ लाग्छ त्यो गोरेटो । छेउछाउका मसिना बुट्यानहरू र अतिव्रmमणकारी झारले गोरेटोको परम्परागत स्वत्वमाथि धावा बोलिरहेको प्रतीत हुन्छ । जेहोस्, त्यो गोरेटो बिहानीको शीत छल्दै हिँड्न चाहनेहरूका निम्ति सदैव हाजिर हुँदै आएको छ । 

“अहो ! सिमलीका बोटहरू पनि कति धेरै फैलिएछन् !” मैले गोरेटोको दायाँ बायाँ बिनाअनुमति झाँगिइरहेका सिमलीका लघु–पोथ्राहरूतिर एकसरो आँखा घुमाउँदै कल्पिएँ । गोरेटोमा सिमली मात्र थिएन, असुरो, भाटी, काभ्रो, अँगेरी, टाँकीलगायतका वृक्ष–बुट्यान पनि अस्तित्ववान् थिए । 

वर्षौं बिते । मैले त्यो गोरेटोसँग आत्मीय सम्बन्ध टुटाएको पनि वर्षौं बितिसकेको थियो । आज भने त्यही गोरेटोलाई पछ्याउँदै र वरपरका पर्यावरण नियाल्दै म हिँडिरहेको छु । कताकता भावुक र चिन्तनशील छु । अझ भनौँ चिन्तनशील कम, भावुक अधिक । जोख्ने हो भने भावुकताकै पल्ला भारी होला । 

गोरेटोमा रातो माटोको बाहुल्य छ । हिउँदका दिनहरूमा सुक्खा र कव्रmक्क हुने रातो माटो बर्सादमा भने खलनायकको भूमिकामा उभिन्छ, शतप्रतिशत नै । अर्थात् एकझरो पानी पर्नु हुँदैन, पूरै चिप्लो । हिँड्नेहरूलाई सास्ती । मैले पूर्ववर्ती एउटा घटना स्मरण गरँे–

“भदौको कुनै दिन थियो । चप्पल लगाएर म त्यो गोरेटो हुँदै कतै यात्रारत थिएँ । बर्सादको स्पर्श पाएर गिलो भएको माटो स्थिर मुद्रामा थिएन । त्यो माटोमा म नराम्ररी चिप्लिएँ– केही बित्ता परसम्मै । एउटा चप्पल खुट्टामै थियो, एउटा उछिट्टिएर निकै पर पुगेको थियो । म सम्हालिँदै उठेँ र कपडाभरि मौजुद आलो माटो पुछ्न थालेँ... ।”

मैले त्यति बेलाको क्षण स्मरण गरेँ र हाँसँे मनमनै । 

गोरेटोभन्दा ठिक पूर्वतिरको लाम्चो बारी, त्यही बारीको छेउमा उभिएको एक थान घर र घरभन्दा उत्तरतिर कवाज खेल्न लामबद्ध सिपाहीहरू झैँ अनुशासित रूपले उभिएका साल, कटुस, करम, बडहरलगायतका सुसंस्कृत वृक्षहरू... । मेरो नजर हठात् रूपमा तिनै दृश्यहरूतिर सोझियो । अझ, गोरेटो नजिकैको बडहरको बोट हेरेपछि त म झनै भावशून्य हुन पुगेँ । र, मैले आफूलाई तिनै पूर्ववर्ती दिनहरूतिर फर्काएँ..., जसरी बिनाभिसा कुनै नागरिक अरू मुलुकमा छिर्दा फर्काइने गरिन्छ । 

यादहरूको कोलाज बने एकाएक । 


कोलाजको एउटा अंश थियो– विद्यालय ।

हरेक दिन स्कुल जाँदा–फर्किंदा म त्यही गोरेटो हुँदै पाइला चाल्थेँ । हुन त अरू बाटा, डगरहरू पनि थिए तर त्यो गोरेटो हुँदै विद्यालय जाँदा आउँदा सहज महसुस हुन्थ्यो । गोरेटो हुँदै पातलो सालको जङगल छिचोलेपछि फाँट एवं खोलाको बगर कटेपछि विद्यालय आउँथ्यो । 

दुईवटा खोला तर्नुपथ्र्याे, विद्यालय पुग्न । हिउँदको बेला खोलामा कमिलाको ताँती देखिन्थ्यो । बर्सादमा भने तर्नै मुस्किल । पुल थिएनन् दुवै खोलामा । एउटा खोलामा काठे पुल त थियो, पूरै जीर्णशीर्ण । त्यो पुल लिङ्गे पिङ झैँ लचकलचक हल्लिन्थ्यो । 

कोलाजको अर्को अंश थियो– खोला र धान खेत । 

म माछाको सौखिन । अधिक नै । बर्सादको समयमा खोलामा माछाहरू पाइन्थे उल्कै । अझ बाढी आएको बेलामा त माछाहरू धान खेतहरूमा छिर्थे । खेतको समाहामा ट्वाक्री थापेर माछा मार्न तम्सिन्थेँ म । रातभरि ट्वाक्री थाप्दा दुई तीन माना जति पर्थे मसिना माछा । 

“अहाँ ! यो गुइरा माछा त कति मिठो !” माछाको झोलसँग खाना खान पाउँदा म रमाउँथे अचाक्ली । गुइरा, बुदुना, भोटी, सिस्ने, बाम, हिले, कत्ले, टाटी, झिँगे, बागी, ताप्रे, लोथर्का, लोहरी, गडेनी, काने, भित्ती जस्ता माछाका तिक्खर स्वादमा रमाउँथेँ म ।


समय गोधूलिपखको थियो । 

घाम डुब्न डुब्न लागेको थियो । पूर्वतिरको च्याउकोटको टुप्पोमा घामको निरीह र निम्सरो किरण पोखिइरहेको थियो । भित्रिइसकेको थियो चैत पनि । वासन्ती पालुवाहरूले वन–उपवन सुशोभित हुँदै थिए । म घर फर्किइरहेको थिएँ– त्यही खोला हुँदै, त्यही सालको पातलो जङ्गल हुँदै त्यही गोरेटो हुँदै । 

सालका रुखहरूले सुसज्जित लघुवृत्तको जङ्गल छिचोलेपछि म रोमाञ्चित बनेँ । गोरेटोभरि छरिएका सालको पत्करहरूमा टेकिए, मेरो खुट्टा । चुरुम–चुरुम । अनुपम आवाजको उद्गम । त्यस्तै उद्वेग पनि । कुनै आलाप जस्तो । समृद्ध र दरिद्र, दुवै क्षमताका वृक्षहरू पालुवामय हुने उपव्रmममा जुटेका थिए । 

मसिना बुट्यानहरूद्वारा सुसज्जित गोरेटोमा हिँड्दै गर्दा मेरो मन–मस्तिष्कलाई एउटा अनौठो र अपरिचित आवाजले तान्यो । गोरेटोभन्दा पूर्वतिरको घरबाट निस्सृत थियो, त्यो आवाज । कुनै वाद्ययन्त्रको जस्तो । हो रहेछ वाद्ययन्त्र नै । म मादल, मुरली, बाँसुरी, हारमोनियमको स्वरसँग परिचित थिएँ तर यी वाद्ययन्त्रभन्दा नितान्त पृथक् र अझ सुमधुर र सम्मोहित तुल्याउने स्वर थियो, त्यो वाद्ययन्त्रको । 

एकोहोरो र अविच्छिन्न आइरहेको थियो, त्यो वाद्ययन्त्रको धुन । कुनै तरङ्ग झैँ, कुनै प्रवाह झैँ । हिँडिरहेका मेरा पाइला टक्क अडिए । के जादु थियो, त्यो वाद्ययन्त्रको धुनमा ? केही क्षण गोरेटोमा उभिएर त्यो धुनको सम्मोहनमा अल्झिएँ म । घर नपुगुन्जेलसम्म मैले एउटै कल्पना उमारिरहेँ– “आखिर, कुन बाजा होला त्यो ? पक्कै नयाँ बाजा हुनु पर्छ ।”

एक पटक त्यो घरमा म बासँग पुगेको थिएँ । बासँग त्यो घरका मानिस परिचित हुनुहुन्थ्यो । ती मानिसलाई देखाउँदै बाले भन्नुभएको थियो, “नमस्ते गर बाबु ! हाम्रो खासै साइनो त पर्दैन तर तैँले मामा भन्दा हुन्छ ।” 

“भान्जा कतिमा पढ्दै छन् अहिले ?” ती मामाले बडो आत्मीय भाव प्रदर्शन गर्दै सोधे । 

यस पटक बा बोल्नुभएन, म बोलेँ, “पाँचमा । पाँच किलासमा...।”

“पाँचपछि त यतै आएर पढ्छ ।” बाले मुख खोल्नुभयो, “गाउँमा पाँचभन्दा माथि पढाइ हुँदैन । यतै ल्याएर पढाउने विचार छ ।”

बाले सोध्नुभयो, “अहिले जागिर कता छ नि ?”

ती मामाले भन्नुभयो, “तराईतिर । गौशालामा । अब दुई–चार दिन बसेपछि जान्छु होला । यतैतिर सरुवा गराउन खोजेको । मिलिरहेकै छैन । यो वर्ष त माथि भनसुन गरेरै भए पनि सरुवा हुन्छु ।”

मैले अनुमान लगाएँ, ती मामा कुनै सरकारी कार्यालयका जागिरे रहेछन् ।


शिशिरको प्रारम्भिक दिनहरूसँगै नग्न आवरणमा अनुदित सालका वृक्षहरू पालुवामय हुन थाले । सालले पालुवा हाल्दा बेग्लै रोमाञ्च र विभोर तुल्याउँछ मलाई । सालले पालुवा हाल्ने उपक्रमसँगै जङ्गलका अरू रुखादिहरूले पनि आफूलाई परिवर्तनको जस्केलोमा उभ्याउन थाल्छन् । 

हरेक दिन घर फर्किंदा त्यही गोरेटो हुँदै फर्किन्थेँ म । र, त्यो घरतिर पुगिहाल्थ्यो नजर । जुन घरमा ती मामाले त्यो अपरिचित बाजा बजाउनुहुन्थ्यो । कतै त्यो अपरिचित वाद्ययन्त्र बज्ला कि भन्ने आशाले पछ्याउँथ्यो । तर धेरै दिनयता मैले त्यो वाद्ययन्त्रको स्वर सुन्न पाइरहेको थिइनँ । धेरै दिन बितिसकेको हुँदा मेरो मानसपटलबाट त्यो बाजा र त्यसको आत्मीय धुन गायब भइसकेको थियो । 

एक दिन म त्यही गोरेटो हुँदै फर्किइरहेको थिएँ । अहो ! त्यो वाद्ययन्त्रको मलिनो धुनले सघन रूपमा अँठ्यायो मलाई । अरू समय दु्रततर गतिमा दौडिने मेरा पाइला टक्क रोकिन पुग्यो । उभिइरहेँ म गोरेटोबीचमै । र, निमग्न हुँदै सुन्न थालेँ धुन । पहिला मधुरो सुनिएको धुन बिस्तारै सघन र तिक्खर बन्दै गयो । मैले अनुमान गरेँ, “मामा घर आउनुभएको रहेछ ।” 

“कस्तो होला त्यो बाजा ?” मभित्र उत्सुकताका अनेक शिखर अग्लिँदै गए । विचार गरेँ, “एक पटक गएर नै हेर्नुप¥यो, त्यो बाजा । कस्तो रहेछ ! कसरी बजाइँदो रहेछ ! जे पर्ला पर्ला, एक पटक गएरै हेर्नुप¥यो ।” 

लघुताभासले च्याप्यो मलाई । “के भन्नुहोला फेरि ?” आफ्नै प्रश्नको झ्याङमा अल्झिन पुगेँ । अहँ ! त्यो घरतिर मेरो पाइला सोझिनै मानेन । कुनै पनि मुहानबाट आँट पलाएन । गोरेटोमा केही क्षण उभिँदै नजिकैको सिमली, बडहर र करमको बोट छिचोल्दै आइरहेको धुन सुनेर तृप्त मात्र भएँ । 

अर्को दिन । मभित्रको सङ्कोच केही हदसम्म शिथिल र मत्थर भइसकेको थियो । आत्मविश्वासरूपी पाउलाहरू पलाउन थाले । मैले सङ्कल्प गरेँ, “आज चाहिँ म जसरी भए पनि त्यो घरमा जाने छु, मामालाई भेट्ने छु र उहाँले बजाउने बाजालाई अघाउँजी हेर्ने छु ।” 

उही सन्ध्याकालीन समय । मामाको बाजा बजाउने त्यही नै नियमित समय–तालिका थियो । न बिहान, न राति । सूर्यास्तको बेला मात्र उहाँ त्यो वाद्ययन्त्रमा रमाउनुहुन्थ्यो । थाहा भएन, त्यो समय उहाँले किन चयन गर्नुभएको होला ?

म पुग्दा मामा त्यो नयाँ वाद्ययन्त्र बजाउन तल्लीन हुनुहुन्थ्यो । मलाई देख्नेबित्तिकै उहाँले पुलुक्क हेर्नुभयो मतिर । तत्क्षण नै त्यो वाद्ययन्त्रमा केन्द्रित उहाँको नजर मतिर सोहोरियो । “ए, तिमी पो ! कहिल्यै आउँदैनथ्यौ । के कामले आयौ ?” मेरो आकस्मिक आगमनले उहाँमा आश्चर्यका टुसाहरू पलाउनु स्वाभाविकै थियो । 

“त्यस्तो कुनै काम थिएन मामा !” म उभिइरहेँ । 

“बस न ।” उहाँले एउटा मुडातिर औँल्याउँदै भन्नुभयो । तर उहाँको आग्रहको भद्र अवज्ञा गर्दै म उभिई नै रहेँ । 

केही क्षण कोठा चकमन्न । त्यो चकमन्नतालाई बढार्दै मैले मुख खोलेँ, “मामा ! त्यो परको गोरेटोमा ओहोरदोहोर गर्दा मैले यो नयाँ बाजा तपाईंले बजाउनुभएको सुन्दै आएको थिएँ । कस्तो बाजा होला भन्ने खुल्दुली थियो । त्यही बाजा हेर्न आएको हुँ आज ।”

मामा मौन थिए । मैले छिटोभन्दा छिटो उत्सुकता मेटाउँदै सोधेँ, “यो बाजाको नाम के हो, मामा ?”

“तिम्ले पहिले देखेका थिएनौ ?”

“अहँ, आजै देखेको हुँ ।”

“बेन्जो ।” मामाले बेन्जोका तारहरू सुम्सुम्याउँदै भन्नुभयो, “यो एक राम्रो बाजा हो । जो पायो, त्यसैले बजाउन पनि जान्दैनन् । यसको तारहरूबाट आउने आवाज निकै मिठो लाग्छ । मैले पनि पूरै सिकिसकेको छैन । सिक्दै छु ।” 

मैले निकै एकोहोरिएर हेरिरहँे, त्यो बाजालाई र त्यसका तारहरूलाई । र मामालाई सोधेँ, “कसरी बजाइन्छ ? एक पटक बजाएर देखाउनुस् त मामा ।” 

बेन्जोको झङ्कारले कोठा गुन्जियो । झङ्कारले गर्दा कोठा मात्र नभई काठका फल्याक, दलिनहरू पनि लठ्ठिए जस्तै अनुभूत भयो । मामाले भन्नुभयो, “जान्नेले बजाउने हो भने त निकै राम्ररी बजाउँछन् । म त सिकारु मात्रै हुँ ।”

“तिमी पनि बजाउँछौ ?” प्रस्ताव मामाको थियो । एक्कासि उहाँको प्रस्ताव आएपछि म हतप्रभ भएँ । के भनौँ, के नभनौँ ? द्विविधामा परेँ । 

“गाह्रो होला ।” अनायासै फुत्कियो, यी शब्द मबाट । 

“नजानुन्जेलसम्म सबै चिज गाह्रै लाग्छन् । सिकिसकेपछि मात्र सजिलो लाग्ने हो ।” मामाले ढाढस दिँदै भन्नुभयो । 

बाटिँदै गयो, संवादको बरियो । त्यही समय कोठा छेउमा एउटी ८, ९ वर्षकी फुच्ची देखा परी । उसले हरियो रङको फ्रक लगाएकी थिई । झट्ट हेर्दा चञ्चले जस्ती देखिए पनि उनका निर्दोष आँखाले उनको चञ्चलतालाई सर्वथा खारेज गरिरहेको आभास मिल्थ्यो । 

“सञ्जीता, आमा खै ?” मामाले सोध्नुभयो ।

“पँधेरोमा जानु भा’छ ।” उसले भनी । उसले यति भन्दानभन्दै ऊ र मबिच एक्कासि आँखा जुध्यो । अरूका भन्दा फरक आँखा । कताकता मादकपूर्णसमेत । असहज लागेर हो वा केले हो ! उनले अन्यत्रै आँखा मोडी र कोठाका भित्ताहरूतिर दौडाउन थाली । 

म घर फर्किंदा साँझले निम्तो पाइसकेको थियो । 



कोलाजको एउटा विम्ब थियो– बेन्जो । 

कोलाजको अर्को र नितान्त अर्को विम्ब थियो– सञ्जीता । 

त्यस दिनउप्रान्त त्यो घरका दुई चिजले मलाई तान्यो– बेन्जो र सञ्जीता । बेन्जोको उमेर थिएन । सञ्जीता भने मभन्दा त्यस्तै तीन चार वर्ष कम उमेरकी । उनको गोरी र हँसिलीपनले जोकसैलाई आकर्षित तुल्याउने क्षमता राख्थ्यो । 

मामाको अनुमति थियो, “म नभएको बेला पनि घरमा आएर बेन्जो बजाउँदा हुन्छ भान्जा । छोरो मान्छेले कुनै न कुनै बाजा बजाउन सिक्नु पर्छ । एउटा न एउटा कला जानेकै राम्रो ।”

मेरो नियमित जसो नै त्यो घरमा पाइला पर्न थाल्यो । मैले अलि अलि बेन्जो बजाउन सिकिसकेको थिएँ । बेन्जोको झङ्कारमा म व्यस्त रहँदा सञ्जीता पनि छेउमै बसेर सुन्थी । त्यस्तै १५–२० मिनेट जति बेन्जो बजाएपछि म विश्राम लिन्थेँ र फर्किन्थेँ घरतिर । 

एक दिन बेन्जो बजाएर म घर फर्किने तयारीमा थिएँ । त्यो दिन सञ्जीता र मेरो आँखा प्रगाढ रूपमा जुध्न पुग्यो । एकटक, निरन्तर । त्यो निकै अद्वितीय र अभूतपूर्व क्षण थियो । 

“घर जाने यति चाँडै ?” सञ्जीताले सोधी ।

“हैन, जानु पर्छ । घाम अस्ताइसक्यो ।” मैले भनेँ । 

“त्यसो भए म पनि तिम्लाई ऊ त्यो परको बडहरको बोटसम्म छाड्न जान्छु ।” सञ्जीताले भनी ।

म पुलकित बनेँ । तर भनेँ, “हैन म आफैँ गइहाल्छु नि ! किन तिमी जानुप¥यो र ?”

सञ्जीताले जिद्दी गरी । घरभन्दा केही पर्तिर तगारो थियो । त्यो तगारो झिकेर हामी बाहिर निस्कियौँ । हामी गोरेटोमा पुगिसकेका थियौँ । हावाको मन्द प्रवाहले स्पर्श गर्दा सिमलीका बोटहरू पनि मन्द चालमै हल्लिइरहेका थिए । 

केही पर थियो, बडहरको रुख । बडहरको फेदमा त्यस दिनको घामको अन्तिम किरण तैरिँदै थियो । 

“अब हामी छुट्टिने हो त ?” मैले सोधेँ । 

“अँ, हुन्छ ।” मतिर प्रेमिल नजर फ्याँक्दै सञ्जीताले भनी ।

अहँ, थाहा भएन । छुट्टिने बेला मैले सञ्जीताको दाहिने हातमा आफ्नो हात राख्न पुगेछु । भुलवश वा नियतवश ! म आफैँले कुनै अनुमान लगाउन सकिनँ । मेरो हात उनको हातमा खप्टिँदा उनी कताकता लज्जाबोधले पग्लिए जस्तो लाग्यो । न कुनै प्रतिकार, न अस्वीकृति । 

“भोलि भेटौँला ।” मैले उनको हातबाट आफ्नो हात निकालेँ र दू्रत गतिमा गोरेटोमा पाइला लम्काउन थालेँ । 


मैले केही दिन सञ्जीताको आँगन टेकिनँ । टेक्न मन कहाँ थिएन र ! तर केही दिनअघिको हस्त–स्पर्श प्रकरणले मभित्र सङ्कोच उब्जिइरहेको थियो । 

केही दिनको विश्रामपछि म सञ्जीताकहाँ नियमित जान थालेँ । बहाना बेन्जो बजाउने भए पनि मूल उद्देश्य सञ्जीतालाई भेट्ने नै थियो । कोठाभित्रको एकान्तमा कहिले म बेन्जोको झङ्कारमा हराउँथेँ, कहिले सञ्जीताको उद्दिग्न केशराशि र मृदु अनुहारमा डुब्थेँ । बेन्जोभन्दा पनि सञ्जीताको केशराशि र मृदु मुस्कानमा म अनेक सिम्फोनी, आलाप र कोरस–विम्ब तैरिइरहेको देख्थेँ ।

हामी अव्यक्त प्रेमको चौतारीमा कुनै थकित बटुवाझैँ सुस्ताइरहेका थियौँ । न म केही अभिव्यक्त गर्न सकिरहेको थिएँ, न उनले नै । हाम्रा भावनाहरू भने ज्वालामुखी झैँ धर्तीको भित्री तहबाट उम्लिन खोजिरहे झैँ लाग्थ्यो ।

“तिमी मलाई कस्तो लाग्छ ?” एकदिन मैले साहस बटुलेँ । 

सञ्जीता फिस्स हाँसी । मौन । पूरै मौन । 

पुनः त्यही प्रश्न दोहो¥याएँ, “तिमी मलाई कस्तो लाग्छ, सञ्जीता ?”

यस पटक भने उनी मज्जाले हाँसी र कोठाबाट एक्कासि बाहिरिई । मैले सोचेँ, “मैले यस्तो कुरा गर्नु हुँदैनथ्यो कि ? कि अलि चाँडै भयो कि ?” 


दिनहरू आफ्नै गतिमा चिप्लिइरहे ।

मप्रति सञ्जीता आकर्षित हुँदै गएकी थिई । हामी दुवैमा पलाएको प्रेमिल कोपिलाहरू व्रmमशः फुट्ने र फव्रिmने उपव्रmममा थिए । 

“तिमी मलाई...।” एकदिन सञ्जीताले भनी । 

“अझै ५, ६ वर्ष पर्ख । त्यसपछि तिम्रो प्रस्तावलाई स्वीकार गर्छु ।” मैले भनेँ । मप्रति उनी यति मुग्ध हुन पुगेकी थिई, हुँदाहुँदा उनले वैवाहिक प्रस्तावसमेत राख्न पुगेकी थिई । 

हामी प्रेम–शिखरतिर उक्लिन तल्लीन थियौँ, जसलाई प्रिय बेन्जोले टेको लगाउन मद्दत पु¥याइरहेको थियो । त्यही बेन्जोले नै हाम्रो प्रेम–बेर्ना उमार्न, सार्न र त्यसलाई उकेरा लगाउन सघाएको थियो । त्यो बडहरको एक्लो रुख, जसले हामीलाई मिठा–मिठा र आत्मीय संवाद गर्न छुट दिएको थियो । बडहरको प्रत्येक हाँगा, प्रत्येक पात र छाया हामीबिचको प्रेम–प्रकरणको साक्षी बसेका थिए र त्यो रुखले हाम्रा हरेक संवाद गम्भीरतापूर्वक ग्रहण गरेको थियो । 


अरू दिनहरू जस्तै त्यस दिनको मध्याह्न पनि बिस्तारै ढल्कियो । म सञ्जीताको घरतिर दौडिएँ । समृद्ध उत्साह बोकेर । सञ्जीता भने उदास मुद्रामा टोलाइरहेकी थिई आँगनको छेउनिर । आँगन छेउमा बोगनबेली, जाई, असारे फूल र किम्बुका बोटहरू पनि टोलाइरहेका र लोलाइरहेका प्रतीत हुन्थ्यो । 

“के भयो ?” मैले उनको खज्मजिएको निन्याउरो अनुहारको व्याकरणलाई पढ्न खोजेँ । 

उनी झनै उदास देखिई । 

मैले पुनः प्रश्न गरेँ, “के भयो भन न । म कुनै सहयोग गर्न सक्छु कि ?”

उनी सुस्तरी बोली, “बेन्जोको तार चुँडियो... ।”

“हँ, कसरी ?” म हडबडाएँ, “कसरी चुँडियो ? हिजोसम्म त चुँडिएको थिएन । कति वटा तार चुँडियो ?” म प्रश्नातुर देखिएँ ।

“थाहा भएन । आज बिहान हेर्दा चुँडिएको पाएँ ।” सञ्जीताले झनै अनुहार खुम्च्याउँदै भनी, “अब त...।”

“के अब त ?”

“बेन्जोको तार चुँडिएपछि अब तपाईं मकहाँ आउनु हुन्न होला है ।” सञ्जीताले भनी, “बेन्जो बजाउन तपाईं आउनुहुन्थ्यो र हामीबिच भेटघाट र बोलचाल हुन्थ्यो । अब बेन्जो नै नबज्ने भएपछि... ।” 

म भावशून्य उभिइरहेँ, उनको आँगनीमा । उनको गहकिला सवालको मसँग कुनै तर्कपूर्ण जवाफ थिएन । एउटै शब्द चुहिएन मेरो । 

मैले उनको निन्याउरो र उदास आँखामा एकटकले हेरिरहेँ । उनले पनि मलाई हेरिरही । 

“अब मामा आएपछि बिग्रिएको बेन्जो बनाउनुहुन्छ होला नि ! भान्जाले पो बजाउन नपाउने हुनु भो !” घरभित्रबाट निस्किँदै माइजूले भन्नुभयो । 

म उदास र बेचैन रहेँ । 

आज केही पर्तिर गोरेटोनिरको बडहरको रुखसम्म पनि जाऊँ भन्न सकिनँ सञ्जीतालाई । उनले पनि मेरो पदचिह्नलाई पछ्याएर बडहरको रुखसम्म जाने हिम्मत सँगाल्न सकिनँ ।

म सुस्तरी केही पर्तिरको गोरेटो र बडहरको रुख ताक्दै हिँडेँ । बडहरको बोटनिर पुगेपछि केही बेर सुस्ताएँ र हेरेँ सञ्जीताको घरतिर । 

हेरेँ, वरपरका पाखा, पर्वत र गाउँबस्तीतिर । तुवाँलोको शक्तिशाली हस्तक्षेपले सिङ्गो पर्यावरणलाई पीडाग्निमा होमिरहेको थियो । 


म पूर्वदीप्तिबाट वर्तमानमा फर्किएँ । पाइला एकरत्ति सरेकै रहेनछ । त्यही गोरेटोमा स्थिरशून्य हुँदै धेरै समय टोलाउन पुगेछु । मैले फेरि त्यही घर अर्थात् सञ्जीताको घरतिर आँखा हुत्याएँ । घर त थियो तर पूर्णतः जीर्ण । सुनेँ, अचेल त्यो घरमा कोही बस्दैनन् ।

 सञ्जीताले पनि बिहे गरिसकी, धेरै वर्षपूर्व । उनका बुबा, आमाले पनि अन्यत्र नै घर बनाएर सरेको सुनेँ । सबैका खबर सुनेँ तर एउटा खबरबाट भने वञ्चित रहेँ, “त्यो बेन्जो अहिले कहाँ छ होला ? त्यसको अस्तित्व छ कि छैन होला ? र, बेन्जोको चुँडिएको तार फेरियो कि फेरिएन होला ?”

कल्पनाको शिखर–वृत्तमा अल्मलिँदा अल्मलिँदै मेरो पाइला गोरेटो त्यागेर यति बेला मूल डगरमा आइपुगेको छ ।