• १४ मंसिर २०८१, शुक्रबार

बस्तीमा छिर्न थाले नाउर

blog

अमृतप्रसाद पौडेल 

म्याग्दी, फागुन १८ गते । हिमालपारिको जिल्ला मुस्ताङको मार्फा क्षेत्रका कृषकले लगाएको तरकारी जङ्गली जनावर नाउरले खाएर नष्ट गर्ने गरेको छ । 

जलवायु परिवर्तन तथा अहिलेको सुक्खायामका कारण उच्च हिमाली क्षेत्रमा चरनको अभाव भएपछि नाउरले हिमालनजिक रहेका मुस्ताङको मार्फालगायतको क्षेत्रमा आएर तरकारी बाली खाएर सताउन थालेको हो । शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका निमित्त प्रमुख पद्मनाथ आत्रेयका अनुसार नाउरले हरेक जसो बिहानको समयमा बागवानी फार्मको स्याउ तथा ओखरको बगानमा अन्तरबालीका रूपमा लगाइएको काउली, बन्दालगायतका तरकारी बाली खाएर सताउने गरेको छ । 

बिहानै बगानमा निस्कँदा प्रायः नाउरको बथान आउने र अन्तरबालीका रूपमा लगाइएका तरकारी खाने गरेको छ । आत्रेयले भन्नुभयो, “सधैँजसो आउने भएकाले खासै भाग्दैन, अलिक अटेरी गर्दै खान्छ, चिच्याउने कराउने गरेर धपायो अनि जान्छ । दुःख गरेर शीतोष्ण हावापानीमा हुने फलफूल तथा तरकारी लगाइएको छ तर नाउर आएर खाइदिन्छ के गर्नु गर्नु ?”

संरक्षित जनावर भएकाले त्यसलाई कुनै पनि प्रकारको क्षति पु¥याउन पाइँदैन, त्यसैले त्यसबाट बच्न समस्या भएको छ । अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना एक्यापको क्षेत्रभित्र पर्ने भएकाले पनि वन्यजन्तुले दुःख दिँदा केही गर्नै नसक्ने अवस्था रहेको मार्फाका कृषक दीपक लालचनको भनाइ छ । 

खासगरी नाउरले पुसको दोस्रो हप्तादेखि माघ महिनाभर सताउने गरेको छ । अहिले पछिसम्म सताएको हुँदा अन्य जनावरको आक्रमणबाट जोगिनका लागि पनि मानव बस्तीनजिक आएको हुन सक्ने लालचनको भनाइ छ । जङ्गलमा हुने अन्य सिकारी जनावरको आक्रमणको जोखिमले गर्दा तल्लो क्षेत्रमा झरेको र त्यही समयमा कृषकको तरकारी बाली नष्ट गरेको हुन सक्ने उहाँले बताउनुभयो । 

अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले यो वर्ष जङ्गली जनावरले मार्फा क्षेत्रमा क्षति पु¥याएको अन्यत्र खासै क्षति भएको जानकारी नआएको बताउनुभयो ।