• १४ मंसिर २०८१, शुक्रबार

सहरमा बाँदर पसेर आतङ्क

blog

कपिल ज्ञवाली

सिद्धार्थनगर, फागुन १८ गते । बुटवलमा चुरेका बाँदर आएर आक्रमण गर्न थालेपछि सर्वसाधारण हैरान भएका छन् । बुटवल बजारको उत्तरपश्चिमबाट चुरे पहाडका बाँदर सहरतिर केन्द्रित हुन थालेपछि सर्वसाधारणलाई झन् समस्या थपिएको हो । बाँदरले घरमा राखेका खाद्यान्न खाइदिने गरेका छन् भने मानिसलाई आक्रमण गरेका घटना बढ्दै गएका छन् ।

बाँदर आतङ्क बुटवलका जनप्रतिनिधिका लागि टाउको दुखाइको विषय बनेको छ । दिनहुँ जसो बाँदरको आक्रमणबाट घाइते हुने क्रम बढ्न थालेपछि जनप्रतिनिधिमाथि बाँदर आतङ्कबाट मुक्ति दिलाउन दबाब पर्न थालेको छ ।

‘पारि बुटवलका हरेक घरभित्रै बाँदर आउँछन्, झ्यालढोका खोलेर बस्नै हुन्न, महिला, बालबालिका र वृद्धवृद्धालाई बाँदरले पटक्कै टेर्दैनन्, धपाउन मुस्किल हुन्छ, जोगिएर बस्नु पर्छ,” बुटवल–१ पारि बुटवलकी अस्मिता प्रधानले भन्नुभयो, “बाँदर त पहिले पहिले पनि आउँथे तर पहिले यति बढी दुःख दिँदैनथे, अचेल हैरान भएका छौँ ।” 

बुटवलनजिक जङ्गल भए पनि बाँदरका लागि चाहिने आहारा हराउन थालेको छ । खानेकुराकै खोजीमा सहर पसेका बाँदरले बालबालिकाको खाजा वा खाना खोसेर खाइदिन थालेका छन् । यहाँका मन्दिरमा पुगेका श्रद्धालुका सामग्री पनि बाँदरबाट जोगाउन मुस्किल छ । 

बुटवल उपमहानगरमा करिब तीनदेखि पाँच सयको हाराहारीमा बाँदर रहेको अनुमान गरिएको छ । पहाडी भेगमा बाँदरले कृषि उपज नष्ट गर्ने घटना नयाँ होइन तर बुटवल बजारमै बाँदरका कारण मानिस हिँडडुल गर्न र घरमा खानेकुरा लिएर बस्न नसक्ने अवस्था उत्पन्न भएपछि स्थानीयले उपमहानगरपालिका गुहारेका हुन् ।

बुटवलको पुरानो बटौली बजारमा बाँदरका कारण पसल र घरमा खाने सामान राख्नै नसकिने स्थानीय बताउँछन् । बाँदरलाई लखेट्दा उल्टै टोक्ने गर्छ, बाँदरको टोकाइबाट घाइते हुनेको सङ्ख्या पनि बढ्दै गएको तथ्याङ्क छ । जङ्गलनजिकै रहेका बुटवल उपमहानगरपालिका–१, २, ३, ४, ५ र ६ का बासिन्दा हैरान भएका छन् । पुरानो बुटवल, मैनाबगर, फूलबारी, गोलपार्क, चिडियाखोला, ज्योतिनगर, अमरपथ र कालिकानगर÷ देवीनगरसम्म बाँदरले आतङ्क मच्चाएको हो । पहाडको फेदीमा रहेको बुटवलमा जङ्गलबाट आहारा खोज्दै बाँदर बस्ती छिर्न थालेपछि समस्या भएको हो ।

बुटवलकी मोहम्मद बाँदरका कारण आफू आजित भएको बताउनुहुन्छ । “बुटवलमा बाँदरकै कारण घरबाहिर निस्कन सक्ने अवस्था छैन,” उहाँले भन्नुभयो, “दैनिक रूपमा दुई÷तीन बाँदरले चिथोरेर मानिस घाइते भइरहेका छन् ।”

उहाँले बुटवल उपमहानगरपालिकासँग अनुरोध गरिए पनि समस्या समाधान नभएको बताउनुभयो । बुटवल–२ का भूमिराम पन्थीले टोल टोलमा बाँदरले आतङ्क मच्चाएकाले समाधानको उपाय खोजी गरिदिन उपमहानगरको ध्यानाकर्षण गराएको बताउनुभयो ।

सहरका गल्ली गल्लीमा छिरेको बाँदर धपाउने उपाय उपमहानगरले खोज्नुपर्ने उहाँको भनाइ छ । “बाँदरको डरले घरभित्र पसेपछि निस्कन नसक्ने, बाहिर निस्केपछि घरभित्र पस्न नसक्ने अवस्था भएको छ,” उहाँले दुःखेसो पोख्नुभयो । बुटवल बजारको उत्तरतर्फ रहेको चुरे पहाडका बाँदर सहर पसेर उपद्रो मच्चाउन थालेका हुन् ।

“बाँदर बजारका घर घरमा छिर्न थालेपछि साह्रै समस्या भएको छ,” बुटवल–१ का वडाध्यक्ष नरेन्द्र बस्नेतले भन्नुभयो, “अब व्यवस्थापन कसरी गर्ने हामी हैरान भएका छौँ ।”

बुटवल उपमहानगर–५ का वडाध्यक्ष हरि श्रेष्ठले बाँदर नियन्त्रण कसरी गर्ने भन्ने विषयमा अध्ययन थालिएको बताउनुभयो । “यो समस्या प्रत्येक वर्ष बढेको छ,” उहाँले भन्नुभयो, “वडाध्यक्षमा निर्वाचित भएयता बाँदरलाई कसरी नियन्त्रण गर्ने भन्नेबारे अध्ययन गरिरहेको छु ।” पारि बुटवलका मिठाई पसलमा बाँदरले एक्कासि आएर जुठो हाल्ने, सामान फाल्ने गरेकाले व्यापार चौपट भएको व्यवसायीको भनाइ छ ।