जयमान बुढामगर
रुकुमपूर्व, फागुन १८ गते । सिस्ने गाउँपालिका–५ रुकुमकोटमा रहेको कमल दहमा कमलका जरा निकाल्ने काममा स्थानीयलाई चापाचाप छ । अचारका लागि स्वादिलो र स्वास्थ्यका लागि कमलका जरा फाइदाजनक मानिन्छ । यस वर्ष बुधबारदेखि कमलका जरा निकाल्ने गाउँपालिकाले अनुमति दिएसँगै स्थानीय जरा निकाल्ने काममा लागेका हुन् । हरेक वर्षको यो समय कमलको जरा निकाल्ने याम हो ।
गाउँपालिकाले जरा निकाल्ने ठेक्का लिन चाहनेका लागि सिलबन्दी दरभाउपत्र आह्वान गरेको थियो । गाउँपालिकाले न्यूनतम ठेक्का कबोल एक लाख ३० हजार रुपियाँ राखेको थियो । जस अनुसार सिस्ने–५ का राजु शाह एक लाख ८६ हजार ४५० रुपियाँमा कमलका जरा निकाल्न छनोट हुनुभएको गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो । गाउँपालिकाले यस वर्ष कमलका जरा निकाल्ने समयावधि २१ दिन तोकेको छ ।
लामो समयसम्म र जथाभावी जरा निकाल्दा कमल मासिने समस्या देखिएकाले ठेक्कामार्फत निश्चित समयका लागि मात्रै जरा निकाल्ने गरिएको अध्यक्ष रेग्मीले जानकारी दिनुभयो । कमल दह जिल्लाकै एक प्रख्यात पर्यटकीय स्थलका रूपमा परिचित रहेको छ । कमलका जरा निकाल्न पुरुषलाई एक दिनका लागि प्रतिव्यक्ति अधिकतम आठ सय रुपियाँ र महिलालाई प्रतिव्यक्ति अधिकतम पाँच सय रुपियाँ शुल्क तोकिएको छ । जरा निकाल्ने जिम्मा पाएको ठेकेदारले जरा निकाल्ने व्यक्तिको शुल्क लिने गर्दछ भने जरा बिक्री स्वयम् जरा निकाल्ने व्यक्तिले गर्ने गर्छन् ।
कमलका जरा काँचोलाई प्रतिकिलो पाँच सय रुपियाँका दरमा बिक्री गर्न गाउँपालिकाले मूल्य निर्धारण गरेको छ । सोही अनुसार जरा निकाल्ने व्यक्तिले बिक्री गर्ने छन् । यो याम स्थानीयका लागि आम्दानी लिने समय पनि हो । कमलको जरा निकाल्न सक्नेले जरा बिक्रीबाट दैनिक दुई देखि छ हजारसम्म आम्दानी गर्ने गरेका छन् ।
जरा निकाल्ने दैनिक ३० देखि ५० जना हाराहारीमा आउने गरेका छन् । जरा निकाल्नु जोखिम हुन्छ । दहभित्र पसेर कमलको जरा खुट्टाको सहायताले फेला पार्नु पर्छ । केही सेकेन्ड पानीभित्रै डुबेर जरा निकाल्ने गरिन्छ । पौडँदै छाम्ने र जरा भेटिएपछि मात्रै आफू डुबेर त्यसलाई बाहिर निकालिन्छ ।