• १३ साउन २०८१, आइतबार

आँखाका बिरामीमध्ये अधिकांशमा मोतीबिन्दु

blog

शिविरको उद्घाटन गर्दै सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ । तस्विरः राधा नेपाली

राधा नेपाली 

सन्धिखर्क, फागुन १७ गते । अर्घाखाँचीमा आँखाको उपचार गर्न आउनेमध्ये अधिकांशलाई मोतीबिन्दुको समस्या देखिएको छ । जिल्ला आँखा अस्पतालका अनुसार दुई दिने आँखाको निःशुल्क मोतीबिन्दु शल्यक्रिया शिविरमा आउने ३५१ जना बिरामीमध्ये एकसय बिरामीको शल्यक्रिया गरिएको छ ।  

३५१ जनाको चेकजाँच गर्दा एक सयको शल्यक्रिया गर्नुपरेको नेपाल नेत्रज्योति सङ्घ अर्घाखाँचीका अध्यक्ष दलबहादुर केसीले बताउनुभयो । नेत्रज्योति सङ्घ अर्घाखाँचीको समन्वयमा अर्घाखाँची दिगो विकास केन्द्रले निःशुल्क आँखाको मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरेका थियो ।  

केन्द्रले तीन वर्षदेखि दृष्टिविहीन र आँखाको अपाङ्गता भएका असहाय गरिबी तथा अशक्त आँखाका बिरामीलाई निःशुल्क सेवा गर्दैआएको छ । सोही सन्दर्भमा शिविर सञ्चालन गरी मोतीबिन्दुका बिरामीलाई शल्यक्रिया गरिएको अध्यक्ष केसीले  बताउनुभयो । 

अध्यक्ष केसीले भन्नुभयो, “आर्थिक अभाव र जिल्ला बाहिर उपचार गर्न जान नसक्नेलाई लक्षित गरी शिविर सञ्चालन भएको हो, यसमा निःशुल्क चस्मा र औषधी वितरण पनि गरिएको छ ।” 

जाँच गरिएका बिरामीमध्ये अधिकांशमा मोतीबिन्दुको लक्षण, बुढ्यौलीपन, सन्तुलित आहारको कमी र आँखा सुख्खा हुने समस्या देखिएको जिल्ला आँखा अस्पताल अर्घाखाँचीका प्रमुख सागर घिमिरेले बताउनुभयो । 

उहाँअनुसार जीवनशैलीको परिवर्तनसँगै मधुमेह, उच्च रक्तचापको समस्या बढेकाले मोतीबिन्दु हुनेहरूको सङ्ख्या पनि बढेको हो । आँखामा एउटा प्राकृतिक पारदर्शी लेन्स हुन्छ । त्यो लेन्समा कलर परिवर्तन हुँदैआयो, अथवा बाक्लो हुँदै गयो भने आँखाको पारदर्शितामा धमिलोपन आई हेर्ने क्षमतामा कमी आउनुलाई मोतीबिन्दु भनिन्छ ।