• १३ साउन २०८१, आइतबार

हिउँको घुम्टो भित्र गोरेटो पछ्याउँदै गुर्जा पुर्‍याइयो खोप

blog

धवलागिरी गाउँपालिकाको लुलाङदेखि खोप लिएर देउराली हुँदै गुर्जातर्फ जाँदै गुर्जा स्वास्थ्य चौकीका कार्यालय सहयोगी पहलमान छन्त्याल । तस्बिर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल
म्याग्दी, फागुन १७ गते ।
हिमाली जिल्ला म्याग्दीको सबैभन्दा दुर्गम वडा गुर्जामा कठ्याङ्ग्रीने चिसो हिउँको घुम्टो भित्र गोरेटो पछ्याउँदै खोप पुर्‍याइएको छ ।

म्याग्दी जिल्लामा फागुन १६ देखि २१ सम्म सञ्चालन भइरहेको दादुरारुवेला खोप अभियानका लागि धवलागिरी गाउँपालिका–१ गुर्जा खोप पुर्‍याउन निकै कठिन थियो । तर कठिन अवस्था भए पनि गूर्जा स्वास्थ्य चौकीमा कार्यालय सहयोगी पहलमान छन्त्यालले बालबालिकाको स्वस्थ्य जीवनका लागि आफ्नो स्वास्थ्यलाई जोखिमा राख्दै हिउँ छिचोल्दै खोप बोकेर खोप केन्द्रमा पुर्‍याउनु भएको छ ।

धवलागिरी गाउँपालिकाको केन्द्र मुनाबाट खोप लिएर समुन्द्री सतहदेखि ३ हजार २ सय २० मिटर उचाइको देउराली पार गर्दै गूर्जाका बालबालिकालाई लगाउनका लागि उहाँले खोप बोकेर ९ घण्टा लामो पैदलयात्रा पछि गुर्जा पुग्नु भएको थियो ।

चाँडो हिँड्न सक्ने स्थानीयलाई छदेखि सात घण्टाको पैदल यात्रा पार गरेपछि मात्रै लुलाङबाट गुर्जा पुगिन्छ । गुर्जाबाट मानव वस्तीसँग सम्बन्ध जोड्ने सबैभन्दा नजिकको बस्ती लुलाङ रहेको धवलागिरी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सम्झना केसीले बताउनुभयो ।

म्याग्दी जिल्लाको अति विकटमा पर्ने वडामा रहेको स्वास्थ्य चौकीका खोप पु¥याउनु पर्ने गोरेटोबाटोमा हिमपातले गर्दा यात्रा पूरा गर्न अन्य दिनभन्दा बढी समय लागेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘अरु कुरा भनेको हामीले खेप्दै आउने दुःख हो तर यस पटकको प्रसंगमा खोपलाई सुरक्षित साथ गूर्जामा पुर्‍याउनुपर्ने थियो, हिउँमा यात्रा गरी खोप सुरक्षित गरिकाले स्वास्थ्य चौकीमा पुर्‍याए ।’’

१६ गतेदेखि थालिने खोप अभियानका लागि खोप धवलागिरी गाउँपालिका–७ ताकममा खोप भण्डारण गरिएको थियो । उक्त स्थानबाट १४ गते खोप बुझेर जानु भएका छन्त्याल त्यो दिन लुलाङ पुगेर बास बस्नु भएको थियो ।

लुलाङबाट १५ गते बिहान हिँड्नु भएका छन्त्याल नौ घण्टाको यात्रापछि गुर्जा पुगेपछि जिल्लाभरका लागि तोकिएकै दिन १६ गतेबाट खोप लगाएको स्वास्थ्य शाखा प्रमुख केसीले बताउनुभयो ।

समुद्री सतहदेखि दुई हजार सात सय मिटरको उचाईमा रहेको जिल्लाको सबैभन्दा बिकट गाउँ गुर्जा पुग्नका लागि तीन हजार दुई सय ५० मिटर उचाईको देउराली पुगेर पुन झर्नु पर्ने पहलमान छन्त्यालको भनाइ छ । देउराली क्षेत्रमा जमेको हिउँमा यात्रा गर्न निकै कठिन थियो तर पनि जिम्मेवारी लिएर गएको थिएँ आएँ उहाँले भन्नुभयो ।

खोप लिनका लागि स्वास्थ्य चौकीले कार्यालय सहयोगीलाई पठाएको थियो र उहाँले पनि आफ्नो जिम्मेवारी पूर्णरुपमा पूरा गरेर समयमै खोप गूर्जामा पु¥याएको धवलागिरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले बताउनुभयो । हिउँ छिचोल्दै भए पनि समयमै खोप केन्द्रमा पुगेपछि बुधबारै खोप लगाइ सकिएको उहाँले भन्नुभयो ।

गुर्जामा नौ महिनादेखि पाँच वर्ष मुनिका ४० जना बालबालिका रहेकोमा २० बालिका र १९ जना बालकलाई खोप लगाइएको छ । एक जना बालिकामा स्वास्थ्य समस्या भएको कारणले गर्दा विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिसँगको समन्वयपछि उहाँलाई खोप नलगाएको स्वास्थ्य शाखा प्रमुख केसीले बताउनुभयो । गुर्जामा खोप अभियान थालेको पहिलो दिनमै सकिएको समेत उहाँको भनाइ छ ।

म्याग्दी जिल्लामा नौ महिनादेखि पाँच वर्ष मुनिका छ हजार पाँच सय ७० जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको छ । जिल्लामा एक सय ५० खोपकेन्द्रमा १५० स्वास्थ्यकर्मी र तीन सय स्वयंसेवक परिचालन गरीएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख भुवन ठकुराठीले बताउनुभयो ।