• १४ मंसिर २०८१, शुक्रबार

बेपत्ता तामाङलाई खोज्न सेतीको बाँध खोलिने

blog

फडिन्द्र अधिकारी

लेखनाथ, फागुन १६ गते । पोखराको सेती नदीमा फागुन १३ गते आइतबार राति माछा मार्न जाँदा बेपत्ता भएका एक जनाको खोजी गर्न सेतीको बाँध खोलिने भएको छ । आइतबार राति बेपत्ता हुनुभएका ४३ वर्षीय मानबहादुर तामाङको खोजी जारी छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्य रानाले बेपत्ता मानबहादुरको खोजीका लागि बाँध खोलिने जानकारी दिनुभयो । बाँध खोली खोजी गरिदिन अनुरोध आएकाले फागुन १७ गते बिहीबार बिहान ८ बजे पोखरा–१६,  दीपमा रहेको ड्याम खोलिने भएको हो । 

ड्याम खोल्दा नदीको सतह बढ्ने भएकाले नदी वरिपरि काम गर्दा र आवतजावत गर्दा सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ । 

आइतबार राती बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव सोमबार बिहान फेला परेको थियो । आइतबार राती ९:४५ बजेतिर पोखरा महानगरपालिका वडा नम्बर १७ र १५ को बिचमा पर्ने सेतीको खोँचमा माछा मार्न गएका दुई जना चिप्लिएर बेपत्ता भएका थिए । 

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त उद्धार टिमले सोमबार पोखरा–१, कसेरीका ४० वर्षीय मङ्गा तामाङको शव ढुङ्गामा अड्किएको अवस्थामा भेट्टाएको थियो । माछा मार्न गएका पाँच जनामध्ये तीन जना सकुशल थिए । उनीहरूले अनुसन्धानमा सघाइरहेको प्रहरीले जनाएको छ ।