काठमाडौं, फागुन १६ गते । कडा परिश्रम र मेहनत गरे प्रतिकूल परिस्थितिमा पनि जीत सम्भव हुन्छ भन्ने एक उदाहरणीय पात्र हुनुहुन्छ, सरस्वती महर्जन ।
यो रहर पक्कै होइन, कि ४७ वर्षकी सरस्वती बिहानैदेखि रातिसम्म स्कुटर हाँक्नुहुन्छ । उपत्यकाको व्यस्त अनि धुलोधुँवायुक्त सडक, पाको हुँदै गएको उमेरमा दुई पाङ्ग्रे सवारीमा दिनहुँ १५ घण्टा दौडधूप गर्न सरस्वतीलाई भनेजस्तो सहज छैन ।
बाहिर हेर्दा हँसिलो, फुर्तिलो देखिने सरस्वती मनमा लागेको कुरा भनिहाल्ने फरासिलो स्वभावको हुनुहुन्छ । यही स्वभावका कारण पनि पठाओको राइडर पेसा अङ्गाल्नुभएको उहाँलाई धेरै सघाउ पुर्याउने गर्छ ।
सरस्वतीले औपचारिक शिक्षा हासिल गर्नुभएको छैन । तर राइडर बनेपछि सोध्दै–खोज्दै भए पनि गन्तव्यमा पुग्ने बानी अचेल उहाँमा बसिसक्यो । मोबाइलको अनलाइनमा देखाइने ठेगाना हेर्दै गन्तव्यमा पुग्ने आत्मविश्वास बढेको उहाँले बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, “राइड बोकेर हिँड्दाखेरी सर, म्यामहरू भेटिनुहुन्छ, कुराकानी गर्नुहुन्छ, आनन्द लाग्छ । म त नयाँ हो, मलाई लोकेसन थाहा नभएको बेला, मलाई अङ्ग्रेजी पढ्न पनि आउँदैन भन्दा उहाँहरूले हामी लगिहाल्छौँ नि भनेर हौसला दिनुहुन्छ ।”
उहाँको परिवारमा पाँच जना सदस्य हुनुहुन्छ । श्रीमान् मुटु रोग पीडित भएर थलिएपछि औषधी उपचारका लागि थप खर्च जुटाउनुपर्ने जिम्मेवारी उहाँमाथि आइलाग्यो । त्यसो त, श्रीमानको उपचारका लागि सहयोगी मनहरूको खोजीमा पनि उहाँ हुनुहुन्छ ।
उहाँले भन्नुभयो, “सुरुमा म पनि पठाओं गर्छु भन्दा श्रीमानले हुँदैन, नगर भन्नुहुन्थ्यो । रोडमा कति गाडीहरू आउँछ तिमीले सक्दैनौँ भन्नुभाथ्यो । मेरो ठुली छोरीले चाहिँ महिला राइडरहरु कति धेरै छ ममी, तपाईँले गर्दा पनि केही फरक पर्दैन भनेर भनिन् ।” छोरीको यो भनाइले राइडर बन्ने साहस जुटेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार दैनिक १५ देखि २० जना राइडलाई सेवा दिँदा कम्तीमा एक हजार, १५ सयदेखि बढीमा दुई हजार २५ सय रुपियाँसम्म कमाइ हुने गरेको छ । उहाँले भन्नुभयो, “नियमित काम चाहिँ गर्नुपर्छ । म आज यति नै कमाउँछु भन्ने सोच चाहिँ राख्नुहुँदैन । कति राइड आयो त्यही अनुसार हुन्छ ।”
महिला राइडर भएकाले केही समस्या छन् कि भन्ने जिज्ञासामा उहाँले त्यस्तो खासै समस्या नभएको बरु, साथीभाइबाट हौसला मिलेको भनाइ राख्नुभयो ।
उहाँले भन्नुभयो, “यो त पहिलादेखि नै काम गरिरहेको मान्छे हो भन्छन् । धेरै दुःख गर्छ, बुढाले पनि सक्दैन । हामीले भए सक्दैन थियौँ पनि भन्छन् ।”
उहाँले आफूले जानेको, सकेको काम गर्नुपर्ने भन्नुहुँदै कसैको भर नपर्न अरू महिला तथा दिदीबहिनीमा समेत आग्रह गर्नुभयो ।