• १३ साउन २०८१, आइतबार

सामाजिक अपहेलना सहँदै कुष्ठरोगी

blog

साबित्री गिरी 

कोहलपुर, फागुन १५ गते । रुकुमको पीपल गाउँपालिका–९ बस्ने कौशिला दाहालले अहिले कुष्ठरोगको उपचार गराइरहनुभएको छ । विगत १५ वर्षदेखि कुष्ठरोगको समस्या भए पनि समाजको डरले खुट्टाको घाउ लुकाएर बस्नुभयो । 

सहन नसकेपछि उपचार गर्न रुकुमको सदरमुकाम पुग्नुभयो । सदरमुकाममा कुष्ठरोग भएको थाहा भएपछि उहाँ थप उपचारका लागि अहिले आइएनएफद्वारा सञ्चालित बाँकेको जानकी गाउँपालिका–३ मानपुरमा रहेको साइनिङ अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँले कुष्ठरोग लागेको थाहा पाएपछि समाजले राम्रो व्यवहार नगरेको बताउनुभयो ।

यस्तै अर्का कुष्ठरोगका बिरामी अछामको तुर्माखाद गाउँपालिका–४ का बिजेश बुढाले पनि सोही अस्पतालमा विगत १ महिनादेखि उपचार गराइरहनुभएको छ । भारतमा उपचारका क्रममा रोग लागेको थाहा पाएपछि उहाँ उपचारमा संलग्न हुनुहुन्छ । गाउँघरमा राम्रो व्यवहार नगर्ने र घरपरिवारले पनि सम्मान नगर्ने भएकाले राज्यले रोजगारीको ग्यारेन्टी गर्नुपर्ने उहाँले माग गर्नुभयो । 

उहाँले उपचार गरेर घर फर्किसकेपछि कसरी जीविकोपार्जन गर्ने भनेर समस्या भएको दुखेसो पोख्नुभयो । आज सो अस्पतालले बाँके र बर्दियाका पत्रकारसँग भेटघाट कार्यक्रम गरी कुष्ठरोगीको पछिल्लो अवस्थाबारे जानकारी गराएको छ । अस्पतालका कुष्ठरोग प्रमुख मङ्गलबहादुर थारुका अनुसार यो आर्थिक वर्षमा ६० जना कुष्ठरोगका नयाँ बिरामी फेला परेका छन् । 

अस्पतालले आज सञ्चारकर्मीसँगको भेटघाटमा अस्पताल प्रमुख  थारुले चालु आर्थिक वर्ष २०८०/०८१ को ६ महिनामा ६० जना कुष्ठरोगका बिरामी फेला परेको बताउनुभयो । अस्पतालले ८ हजार ६०२ जना बिरामी चेकजाँच गर्दा कुष्ठरोगीका ती बिरामी फेला परेका थिए । गत वर्षको सोही अवधिमा ५१ जना बिरामी फेला परेका थिए । गत वर्ष साउनदेखि असार महिनासम्म भने १२६ जना बिरामी फेला परेका थिए । 

चालु आर्थिक वर्षमा फेला परेका ६० जनामध्ये बाँकेबाट मात्र २९ जना कुष्ठरोगका बिरामी छन् । अरू बर्दिया, सुर्खेत, सल्यान र रुकुमका बिरामी हुन् । १५ जना भने भारतीय बिरामी रहेको पनि थारुले बताउनुभयो । २४ बेड क्षमताको डेडिकेटेड यो अस्पतालमा ६० जना कुष्ठरोगका बिरामीमध्ये ५३ जनालाई ५२ जनालाई भर्ना गरी उपचार गरिएको छ ।