मङ्गलबारे, फागुन १५ गते । निर्वाचन आयोगले इलाम–२ को प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचनको मिति तोकेसँगै चुनावी सरगर्मी बढेको छ । नेताहरु टिकटका लागि आफ्नो नजिक रहेका नेता भेट्न दौडधुपमा लागेका छन् ।
निर्वाचन आयोगले आगामी वैशाख १५ गते शनिबार उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ । गत चुनावमा सत्तारूढ गठबन्धनमा रहेका दल र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बिच कडा प्रतिस्पर्धा भएको थियो । अर्थात् गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका डम्बर खड्कालाई एक सय १४ मतले पछि पार्दै एमालेका सुवासचन्द्र नेम्वाङ विजयी हुनुभएको थियो । सो क्षेत्रबाट निर्वाचित तत्कालीन प्रतिनिधिसभा सदस्य एमालेका उपाध्यक्ष रहनुभएका नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो । नेम्वाङको मृत्यु भएपछि यस क्षेत्रमा उपचुनाव हुन लागेको हो ।
यस क्षेत्रका नेताहरु आफू विजयी हुने दाबीसहित प्रदेश र केन्द्रीय तहका नेताकहाँ धाउन थालेका छन् । नेपाली कांग्रेसका तर्फबाट जिल्ला सभापति डम्बर खड्का र महासमिति सदस्य भेषराज आचार्यको नाम चर्चामा छ । पूर्वजिल्ला सभापति तथा पूर्वसांसद केशव थापा र नगेन्द्र कुमालको नाम चर्चामा आउने गरेको छ ।
एमालेबाट स्व. नेम्वाङका छोरा सुहाङ नेम्वाङको समेत चर्चा छ । जिल्ला सचिव उमेश गुरुङ, उपसचिव रवीन्द्र सुवेदीको उत्तिकै चर्चा छ । स्व. नेम्वाङका पूर्वस्वकीय सचिव बुद्धि खनालको नाम पनि चर्चामा रहँदै आएको छ ।
कांग्रेससँग सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केही नेताको नाम चर्चामा छ । माओवादी केन्द्रका तर्फबाट प्रदेश समितिका अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो), जिल्ला इन्चार्ज कुलप्रसाद लिम्बू, पूर्वजिल्ला इञ्चार्ज धिरेन्द्र शर्मा (रमन), जिल्ला सह–इन्चार्ज कान्छा लावती र जिल्ला अध्यक्ष विजय राईकाे नाम चर्चामा छ ।
राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष खड्गप्रसाद (केपी)पालुङ्वाको नाम चर्चामा छ । उहाँ गएको निर्वाचनमा पनि उठ्नुभएको थियो । उहाँले सम्मानजनक मत प्राप्त गर्नुभएको थियो । पालुङ्वालाई पहिचान पक्षधरले सहयोग गर्ने एकथरीको भनाइ छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का तर्फबाट समेत उम्मेदवारीको चर्चा हुन थालेको छ । सो पार्टीबाट पूर्वप्रधानमन्त्री भइसकेका झलनाथ खनालको चर्चा हुन थालेको छ । उहाँ गएको निर्वाचनमा इलाम १ बाट पराजित हुनुभएको थियो । एकीकृत समाजवादीले जिल्ला कमिटीको निर्णयबाट मात्र उम्मेदवारको टुङ्गो लगाउने बताइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा स्वतन्त्र उम्मेदवारको चर्चा हुन थालेको छ । रास्वपाले प्रतिनिधि खटाएर अवस्था बुझ्ने र उम्मेदवार टुङ्गो लगाउने बताएको छ । स्थानीय उम्मेदवारलाई नै प्राथमिकता दिने सो पार्टीको भनाइ छ । स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिने बताइएको छ । हालसम्म कुनै पनि पार्टीले उम्मेदवारको टुङ्गो लगाएका छैनन् ।
केही स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिने सामाजिक सञ्जालमार्फत चर्चा चलाए पनि आधिकारिक रुपमा उम्मेदवारीको घोषणा भएको छैन । रासस