• १३ साउन २०८१, आइतबार

मन्त्रालयमा रहेका विकृति सफा गर्न अझै दुई वर्ष लाग्छः मन्त्री बस्नेत

blog

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत । फाइल तस्बिर

काठमाडौं, फागुन १५ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयमा रहेका विकृति सफा गर्न अझै दुई वर्ष लाग्ने बताउनुभएको छ ।

मङ्गलबार मन्त्रालयमा स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले मन्त्रालयमा रहेका विकृति र विसङ्गति सफा गर्न अझै दुई वर्ष लाग्ने बताउनुभएको हो ।

मन्त्री र मन्त्रालयका कारण कर्मचारीहरुले दुःख पाइरहेको गुनासो आएपछि मन्त्री बस्नेतले कर्मचारी र प्रशासनतन्त्रले गरेका विकृति र विसङ्गतिबारे आफू सबैमा जानकार रहेको जानकारी दिनुभयो ।

उहाँले चिकित्सकहरुलाई विकट क्षेत्रमा सेवा पुर्‍याउन पठाउँदा आफूमाथि पक्षपात गरेको आरोप लागेको बताउनुभयो । उहाँले कर्मचारीहरुले भनेका मानिसहरुलाई पठाएमात्रै पक्षपात नहुने हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले सरुवा गर्न लाग्नुपूर्व नै शीर्ष नेतृत्वको घरमा पुगेर रोक्न लगाउने गरेको आरोप लगाउनुभयो ।

मन्त्री बस्नेतले अस्पतालका स्वास्थ्य सामग्री टेण्डर गरेर ल्याउनुपर्छ भन्दा कर्मचारीहरुले अस्पतालमा तालाबन्दी गर्ने गरेको पनि बताउनुभयो । उहाँले सबैभन्दा पहिला कर्मचारीतन्त्र नै सुध्रिनुपर्ने आवश्यकता रहेको औंल्याउनुभयो ।