• १३ साउन २०८१, आइतबार

चार महिनादेखि थन्कियो शिवालय गाउँपालिकाको एम्बुलेन्स

blog

मर्मत नगरेर थन्क्याइएको शिवालय गाउँपालिकाको एम्बुलेन्स । तस्बिर : सहदेव बस्नेत

सहदेव बस्नेत
जाजरकोट, फागुन १५ गते ।
बिरामी बोक्न खरिद गरिएको शिवालय गाउँपालिकाको एम्बुलेन्स चार महिनादेखि थन्किएको छ । समयमा मर्मतका लागि चासो नदिँदा इलाका प्रहरी कार्यालयको गेटभित्र एम्बुलेन्स थन्किएको हो । समयमै एम्बुलेन्स मर्मत नहुँदा बिरामीलाई उपचार गर्न समस्या भएको छ ।

गाउँमा बिरामी हुँदा गाडी नै नपाइने र पाइए पनि निजी जीपमा महँगाे भाडा तिरेर अस्पताल लैजानुपर्दा साह्रै दुःख खेप्नु परेको गाउँपालिकावासीको गुनासो छ । एम्बुलेन्स बिग्रेको चार महिनासम्म मर्मत नगर्नु जनप्रतिनिधि र कर्मचारीले लापरवाही गरेको स्थानीय पूर्णसमिर महताराले बताउनुभयो । एम्बुलेन्स अहिले मर्मत नगर्दा बिरामी स्टेचरमा बोक्न स्थानीय बाध्य भएका नागरिकहरुको गुनासो छ  ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बस्नेतले थन्किएको एम्बुलेन्स मर्मतका लागि धेरै खर्च लाग्ने भएपछि मर्मत गर्न नसकिएको बताउनुभयो । ‘‘एम्बुलेन्स मर्मतका लागि धेरै खर्च लाग्ने भएपछि मर्मत गर्न सकिएको छैन,’’ उहाँले भन्नुभयो, ‘अब छिट्टै नयाँ एम्बुलेन्स खरिदको तयारीमा छौँ ।’’

कर्णाली प्रदेश सरकारको १५ लाख रुपियाँ र पालिकाको पाँच लाख गरी २० लाख बराबरको एम्बुलेन्स आउन लागेको प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिनुभयो ।

गाउँपालिकाभित्रका नागरिकहरुलाई एम्बुन्सको सेवाबाट वञ्चित हुन नदिन गाउँपालिकाले निजी गाडीको पैसा तिरिदिने गरेको अधिकृत बस्नेतले जानकारी दिनुभयो । एम्बुलेन्स जस्तो संवेदनशील सवारी मर्मत नगरेर स्थानीय सरकारले नागरिकको उपचारमा खेलवाड गरेको स्थानीय बलबहादुर थापा बताउनुहुन्छ ।