• १३ मंसिर २०८१, बिहिबार

आत्मनिर्भर बन्न सीप सिक्दै महिला

blog

सिनाममा सञ्चालित बाँसजन्य सामग्री बनाउने तलिममा सहभागी महिला । तस्बिरः चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन १४ गते । ताप्लेजुङमा महिलाहरु आत्मनिर्भर बन्ने उद्देश्यसहित सीप सिक्न थालेका छन् । आत्मनिर्भर बन्नलाई उद्यमी हुनुपर्ने र उद्यमी बन्नका लागि सीप चाहिने भएपछि पछिल्लो समय महिला धमाधम सीप सिक्न थालेका हुन् । 

सीप सिक्न चाहाने महिलाका लागि जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयसँगै स्थानीय तहहरुले सहयोग गर्दैआएका छन् । लघु उद्यम तथा विभिन्न सीपमा आधारित तालिमहरु सञ्चालन गरी आत्मनिर्भर बन्न चाहने सर्वसाधारणलाई घरेलु कार्यालय, स्थानीय तह लगायतका निकायले सहयोग गरिरहेका छन् । 

स्थानीय महिला, विपन्न वर्ग तथा समुदायलाई लक्षितगरी घरेलु कार्यालय, स्थानीय तहलगायतले सीप विकाससम्बन्धी तालिमहरु सञ्चालन गर्दैआएका छन् । निःशुल्क रुपमा पाइने उक्त तालिमले सीप तथा क्षमता अभिवृद्धि हुने र यसबाट उद्यमी बन्न र आत्मनिर्भर हुनलाई सघाउ पुग्ने बुझेपछि अधिकांश महिला सीप सिक्न आकर्षित बन्दै गएका छन् । 

सीप विकाससम्बन्धी तालिममा सहभागी भई सीप सिक्नतर्फ महिला आकर्षित देखिएपछि स्थानीय तहहरुले महिलालाई उद्यमशील बनाउन सीप प्रदान गर्न थालेका छन् । प्राय, घरायसी काममा मात्र व्यस्त रहने महिलालाई उद्यमी बनाउने उद्देश्यले हाल सिरिजङ्घा गाउँपालिका–१ सिनामका महिलालाई सीपमुलक तालिम प्रदान गरिँदैआएको छ । 

सिनामका वडाध्यक्ष सिंहबहादुर इवारमका अनुसार वडा कार्यालयको समन्वयमा वडाबासी पुरुष र महिला गरी २० जनालाई बाँसजन्य सामग्री बनाउने तालिम दिन थालिएको छ । दुई महिने सो सीपमुलक तालिमले उनीहरुको जीविकोपार्जनमा सहजता ल्याउन तथा आत्मनिर्भर बनाउनमा सहयोग पुग्ने विश्वास राखिएको वडाध्यक्ष इवारमको भनाइ छ । 

वडा कार्यालयका अनुसार पूर्वाञ्चल स्किल एण्ड इन्जिनियरिङ कन्सल्टेन्सी प्रालिले बाँसजन्य सामग्री बनाउने तालिम दिँदैआएको छ । यस्तै जिल्लाका नौवटै स्थानीय तहहरुले महिलालाई लक्षित गरी ढाकाको कपडा बुन्ने, अल्लो तथा खाँडीको कपडा तयार पार्ने, गुडिया तथा फूल माला उत्पादन गर्ने, बाँस तथा काठका सामग्री बनाउनेजस्ता घरेलु तालिमहरु सञ्चालन गर्दैआएका छन् । घरेलु कार्यालयले पनि हरेक वर्ष लघु उद्यमसम्बन्धी विभिन्न तालिम प्रदान गर्दैआएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका सूचना अधिकारी नवीन भट्टराईका अनुसार गत आर्थिक वर्ष २०७९÷८० मा २९४ जना महिलालाई सीप विकाससम्बन्धी विभिन्न तालिम प्रदान गरिएको छ । लघु उद्यमअन्तर्गत कपडा उत्पादन गर्ने (बनाउने), कृषिऔजार उत्पादन गर्ने, दुग्धजन्य वस्तु उत्पादन तथा डेरी सञ्चालन गर्नेजस्ता उद्यमसम्बन्धी तालिम प्रदान गरिएको भट्टराईले बताउनुभयो । सो आवमा ९८ जना महिलालाई उद्यमशीलता तालिम प्रदान गरिएको उहाँले जाकारी दिनुभयो ।

सीप विकास तथा उद्यमशीलतासम्बन्धी तालिमहरु निःशुल्क रुपमा प्रदान गर्ने गरिएकाले तालिम लिन अर्थात सीप सिक्नमा महिलाको आकर्षण बढेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख युवराज घोसाइँले बताउनुभयो ।