• १२ साउन २०८१, शनिबार

एन्फा साधारण सभाबाट वार्षिक बजेट तथा कार्यक्रम अनुमोदन

blog

काठमाडौँ, फागुन १४ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले २०८०/२०८१ को वार्षिक बजेट तथा कार्यक्रम अनुमोदन गरेको छ । काठमाडौँमा सोमबार सम्पन्न एन्फाको साधारण सभाले २०८०/२०८१ को बजेट तथा कार्यक्रमहरू अनुमोदन गरेको हो ।

साधारण सभाबाट २०७९/०८० को बजेट अडिटलाई अनुमोदन गरेको पनि एन्फा प्रवक्ता सुरेश साहले बताउनुभयो । उहाँले साधारण सभाले लेखा परीक्षण तथा अनुपालन समितिको कार्यकाल थप गर्ने निर्णय गरेको पनि बताउनुभयो । यसअघि नै एन्फाले दीपक खातीको संयोजकमा प्रवीणकुमार झा र शूकबहादुर गुरुङको सदस्यतामा लेखा परीक्षण तथा अनुपालन समिति बनाएको थियो ।

शाहले भन्नुभयो, ‘‘आज हामीले नियमित साधारण सभा समापन सम्पन्न गरेका छौँ । २०७९/२०८० को बजेट अडिटलाई अनुमोदन गरेका छौँ । २०८०/२०८१ को बजेट तथा कार्यक्रमहरू अनुमोदन गरेका छौँ । लेखा परीक्षण तथा अनुपालन समितिको कार्यकाल थप गर्ने निर्णय पनि भएको छ ।’’ समितिमा दीपक खाती संयोजक, प्रवीणकुमार झा सदस्य र शूकबहादुर गुरुङ सदस्य हुनुहुन्छ ।

एन्फाको चालु वर्षको लागि अनुमानित बजेट ६७ करोड, ६७ लाख ६६ हजार ६० रहेको छ । यस्तै खर्चमा ६७ करोड ६६ लाख रुपियाँ साधारण सभाले पास गरेको छ । यसअघि साधारण सभाको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले उद्घाटन गर्नुभएको थियो । 

१० पदाधिकारीद्वारा साधारण सभा बहिस्कार 

यसैबिच एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित १० पदाधिकारीले साधारण सभा बहिस्कार गर्नुभएको छ ।

साधारण सभाको विषयसूची तय गर्न एन्फा मुख्यालयमा फागुन ३ देखि ६ गतेसम्म केन्द्रीय कार्यसमिति बैठक सञ्चालन भएको र त्यहाँ बहुमत सदस्यहरूको असहमति रहेको विषय र निर्णयलाई साधारण सभामा पारित गर्न लागिएको भन्दै १० पदाधिकारीले साधारण सभा बहिस्कार गरेका थिए ।

साधारण सभा बहिस्कार गर्नेहरूमा वरिष्ठ उपाध्यक्ष खड्का, उपाध्यक्षद्वय विराट जङ्ग शाही र दिर्घहादुर केसी (कुमार) तथा सदस्यहरू अनिल मल्ल, रवीन्द्र चन्द्र, मनिष जोशी, रुपेश अधिकारी, भोजराज शाही र रमेश व्यञ्जनकार हुनुहुन्छ ।

हाल देश बाहिर रहनुभएकी सदस्य पेमा लामाले पनि बहिस्कारको पक्षमा सहमति जनाउनुभएको वरिष्ठ उपाध्यक्ष खड्काले जानकारी दिनुभयो । एन्फा कार्यसमिति २१ सदस्यीय रहेको छ ।