• १२ साउन २०८१, शनिबार

दंगाली लायन्सको विजयी सुरुवात

blog

उद्घाटन खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

लीलाधर वली

घोराही, फागुन १४ गते । नेपाल टेलिकम दाङ क्रिकेट लिग–२ को उद्घाटन खेलमा दंगाली लायन्स विजयी भएको छ । दाङ क्रिकेट सङ्घको आयोजनामा घोराही उपमहानगरपालिका–१७ गुलरियास्थित घोराही क्रिकेट मैदानमा भएको लिगको उद्घाटन खेलमा दंगाली लायन्सले डिफेन्डिङ च्याम्पियन घोराही टाइगर्सलाई नौ विकेटले हरायो । 

पहिले ब्याटिङ गरेको घोराही टाइगर्सले दिएको एक सय १२ रनको लक्ष्य दंगाली लायन्सले १६.१ ओभरमा मात्र एक विकेट गुमाएर पुरा गरेको हो । दंगाली लायन्सको लागि खेलाडी सन्तोष कार्की र बसिर अहमदले समान ४५ रनको योगदान दिनुभएको थियो । 

सन्तोषले ४६ बलमा तीन चौका तथा बसिरले ३९ बलमा तीन छक्का प्रहार गर्नुभएको थियो । राष्ट्रिय क्रिकेटर समेत रहनुभएका बसिर खेलको प्लेयर अफ द म्याच घोषित हुनुभएको थियो । यस अघि टस जितेर ब्याटिङ रोजेको घोराही टाइगर्सले १८.२ ओभरमा एक सय ११ रन बनाएको थियो । 

घोराही टाइगर्सका लागि अर्जुन घर्तीले सर्वाधिक ३२ रन बनाउनुभयो । रबिन थापाले अविजित १४ तथा ब्रिशब सेन्चुरीले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमान बनाउन सकेनन् ।बलिङमा दंगाली लायन्सका शङ्कर रानाले सर्वाधिक तीन विकेट लिनुभयो । प्रकाश जैसी र वीरबहादुर घर्तीमगरले दुई दुई तथा कप्तान विपिन खत्रीले एक विकेट लिनुभयो । 

लिगको विजेता टिमले दुई लाख ५० हजार र उपविजेताले एक लाख रुपियाँ प्राप्त गर्नेछन् । १९ गतेसम्म चल्ने लिगमा जिल्लाका घोराही टाईगर्स, देउखुरी वारियर्स, पुरन्धारा च्यालेन्जर्स, तुलसीपुर रोयल्स र दंगाली लायन्स गरी पाँच वटा फ्रेन्चाईज टोलीको सहभागिता रहेको छ ।