• ६ वैशाख २०८१, बिहिबार

पाँच सयले बदलिएको जीवन, लुगा सिलाएरै छोरा डाक्टर र इन्जिनियर

blog

गोकर्ण दयाल

बैतडी, फागुन १४ गते । श्रीमद्भागवत् गीताले दिएका शिक्षामध्येको एक ‘कर्म गर फलको आशा नगर’ अर्थात् कर्मको फल आफैँ प्राप्त हुन्छ भन्ने हो । त्यस्तै कर्मको मिठो फलले अहिले एक दम्पतीको जीवन नै बलिदिएको छ, त्यो पनि सन्तान सुखमार्फत ।

दशरथचन्द नगरपालिका–५, बस्कोटाका धनीराम दमाई र आनन्दी दमाईको त्यस्तो सुख गिट्टी कुटेर कमाएको पाँच सय रुपियाँले उहाँहरूको जीवनको धार नै परिवर्तन गरिदिएको हो । त्यही पाँच सय रुपियाँको लगानीले अहिले उहाँहरूका तीन छोरा डाक्टर र इन्जिनियर बनेका छन् ।

पाँच सय रुपियाँको कमाइले सिलाइ मेसिन किनेर त्यसैलाई चलाउँदै दमाई दम्पतीले एक छोरालाई डाक्टर र दुई छोरालाई इन्जिनियर बनाउनुभएको छ । त्यसका लागि गरेको सङ्घर्षको कथा बेग्लै छ । खान लाउन नै धौ धौ भएका तर नामले धनीरामले आफ्नो सङ्घर्षको कथा सुनाउँदै भन्नुभयो, “२०४४ सालमा विद्युत् कार्यालयको घर निर्माण हुने बेला गिट्टी कुटेर कमाएको पैसाले मेसिन किनेको हुँ । त्यही मेसिनले लुगा सिलाएर छोराहरू हुर्काएँ र पढाएँ ।”

निजी विद्यालयमा पढाउने आर्थिक हैसियत नभएपछि दमाई दम्पतीले छोराहरूलाई सामुदायिक विद्यालयमै पढाउनुभयो । उहाँहरूका अनुसार छोराहरूको क्षमता र मेहनतले काम ग¥यो । परीक्षामा राम्रो अङ्क ल्याएर पास गरेपछि सरकारले नै छात्रवृत्तिमा डाक्टर र इन्जिनियर पढाइदियो । 

अहिले जेठा छोरा डा. टेकेन्द्र नेपाली एमबिबिएसको पढाइ सकेर बैतडी अस्पतालमा कार्यरत हुनुहुन्छ । उहाँलाई सरकारले बैतडी अस्पतालमा छात्रवृत्ति करारमा खटाएको हो । माइलो छोरा अशोक नेपालीले सिभिल इन्जिनियर र कान्छो छोरा अमित नेपालीले कम्युटर इन्जिनियरको पढाइ पूरा गर्नुभएको छ । तर तीनै जना छोराले आफूले टेकेको धर्ती बिर्सिएका छैनन् । फुर्सद हुनासाथ उनीहरू बुबाआमालाई  सहयोगका लागि हाजिर हुन्छन् । अस्पतालको काम सकेर डा. टेकेन्द्र नेपाली साँझ बिहानको समयमा आमाबुबासँगै सिलाइ पसलमा भेटिनुहुन्छ । 

समाचार सङ्कलन गर्न अपराह्नतिर उहाँको पसलमा पुग्दा डा. टेकेन्द्र नेपाली काठको पुरानो टुलमा बसिरहनुभएको थियो । बायाँतिर उहाँकी आमा आनन्दी दमाई लुगामा बटन लगाउँदै हुनुहुन्थ्यो । उमेरले ६० टेक्नुभएका धनीराम दमाई मेसिनको सियोमा धागो उन्दै लुगा सिलाइरहनु भएको थियो । कम्प्युटर इन्जिनियर पढेका अमित नेपाली लुगामा इस्तिरी लगाउँदै हुनुहुन्थ्यो । 

“परिश्रमको फल मिठो हुने रहेछ हजुर !” सियोमा धागो उन्दै धनीरामले भन्नुभयो, “पाँच सय रुपियाँको सिलाइ मेसिनले मेरा छोराको भाग्य नै बदलियो ।”

डा. टेकेन्द्र नेपालीले दशरथचन्द मावि सुन्दरखालीबाट २०७० सालमा एसएलसी प्रथम श्रेणीमा पास गर्नुभएको थियो । पढाइमा लगनशील टेकेन्द्र नेपालीलाई छात्रवृत्तिमा कञ्चनपुरस्थित रेडियन्ट कलेजले आइएससी पढ्न सहयोग ग¥यो । छात्रवृत्तिमा पढ्ने मौका पाए पनि टेकेन्द्रले कञ्चनपुरमा दलित भएकै कारण डेरा पाउनुभएन । छोरा अलपत्र परेको खबर सुनेर आमा आनन्दी बैतडीबाट कञ्चनपुर पुग्नुभयो । 

डेरा खोज्न धेरै दिन भौँतारिएपछि विकल्पमा भेटिए बझाङका एक जना सिलाइ पसल गरेर बसेका मोर्डन टेलर । कञ्चनपुरमा उनको सानो घर थियो । त्यहाँ टेकेन्द्रले डेरा पाएपछि राम्रो अङ्क ल्याएर आइएससी पास गरेको आनन्दी दमाईले बताउनुभयो । त्यसपछि नेपाल सरकारले टेकेन्द्रलाई कलेज अफ मेडिकल साइन्स भरतपुरमा एमबिबिएस पढ्न छात्रवृत्ति प्रदान ग¥यो ।

डाक्टर पढ्ने छात्रवृत्ति पाए पनि खाने बस्ने व्यवस्थाका लागि आमाबुबाले ठुलै सङ्घर्ष गर्नुभयो । सिलाइसँगै दैनिक ज्यालामजदुरी गरेर गाँसबासको जोहो गरेको आमा आनन्दीले बताउनुभयो । कोरोनाका बेला छाक टार्न गाह्रो भएपछि गाउँलेसँग दालचामल मागेर छोराहरूलाई पढाएको उहाँले बताउनुभयो । 

“गाउँमा सानो घर थियो । छाक टार्न धौ धौ परेका बेला छोराहरूले दाल चामल सकियो भनेर फोन गर्थे,” आनन्दीले पीडा सुनाउँदै भन्नुभयो, “केही थप आम्दानी होला भनेर गाउँबाट बजारको एउटा किनारमा सटर भाडामा लियौँ तर भाडा तिर्न सकेनौँ ।” 

उहाँले थप्नुभयो, “धन्न घरबेटी कमलसिंह खत्री भगवान् जस्तो भएर अहिलेसम्म भाडा लिनुभएको छैन । छोराहरूको पढाइ पूरा भएपछि भाडा तिर्नु भन्नुभएको छ । छोराको तलब आएपछि सटर भाडा तिर्ने योजना बनाएका छौँ । गाउँमा दुई कोठाको कच्ची घरबाहेक केही छैन ।” 

छोराहरूले अब राम्रो घर बनाउनेमा आनन्दी विस्वस्त हुनुहुन्छ । डा. टेकेन्द्र नेपाली अहिले बैतडी अस्पतालमा दैनिक एक सय जना बिरामीको स्वास्थ्य परीक्षण गर्नुहुन्छ । उमेरले ६० टेक्नु भएका उहाँका बुबा धनीराम चाहिँ मानिसका शरीरको नाप लिएर लुगा सिलाउनमै व्यस्त हुनुहुन्छ । डा. टेकेन्द्र नेपाली अस्पतालको काम सकेर साँझबिहान आमाबुबासँगै सिलाइ पसलमा बस्नुहुन्छ ।  

“सिलाइ पसल मन्दिर जस्तै लाग्छ,” डा. टेकेन्द्र नेपालीले भन्नुभयो, “यो मन्दिरमा चार दशकदेखि मेसिनमा सियो धागो उन्ने आमाबुबा देवता हुन् । मलाई त्यति राम्रोसँग कपडा सिलाउन आउँदैन तर पसलसँग भवनात्मक नाता भएकाले यही बस्ने गर्छु ।”

उहाँले थप्नुभयो, “आमाबुबाले रातदिन लुगा सिलाउँदै गरेको पसल प्यारो लाग्छ । जिल्ला अस्पतालमा आफैँले उपचार गरेका कतिपय सेवाग्राही सिलाइ पसलमा ग्राहक बनेर पनि अउने गर्नुहुन्छ । यो सबै देख्दा आनन्द लाग्छ ।” 

डाक्टर भएपछि पहिलो महिनाको तलब आमाको हातमा दिने धोको रहेको उहाँले बताउनुभयो । आमाबुबाले निकै दुःख गरेर तीन भाइलाई डाक्टर इन्जिनियर बनाउन सफल भएको इन्जिनियर अशोक नेपालीले बताउनुभयो । उहाँले लोक सेवाको तयारी गरिरहेको जानकारी दिनुभयो । कम्प्युटर विषयमा इन्जिनियरिङ पास गरेका कान्छो भाइ अमित नेपालीले आमाबुबालाई सिलाइ पेसामा सघाइरहनुभएको छ ।