• १३ साउन २०८१, आइतबार

मोतियाबिन्दुको सफल शल्यक्रिया

blog

रमेश विश्वकर्मा

गुल्मी, फागुन १३ गते । गुल्मीमा एक ९७ वर्षीया एक वृद्धाको आँखाको मोतियाबिन्दुको सफल शल्यक्रिया गरिएको छ । नेपाल नेत्र ज्योति सङ्घ जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र तम्घासमा इस्मा गाउँपालिका–३ निवासी रत्नकला खरालको मोतिया बिन्दुको सफल शल्यक्रिया गरिएको नेत्र अधिकृत सूर्य बस्नेतले जानकारी दिनुभयो ।

अहिले शल्यक्रिया पछि देख्न सक्ने भएको भन्दै खरालले खुसी व्यक्त गर्नुभयो । शल्यक्रियाका लागि उहाँका छोरा ७० वर्षीय केशवराज खरालले लिएर आउनुभएको थियो । जिल्लामा प्रत्येक महिनाको ११ र १२ गते मोतियाबिन्दुको नेत्ररोग विशेषज्ञद्वारा अप्रेसन हुँदैआएको छ । सोहीअनुसार यस महिनामा ३६ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको नेत्र अधिकृत बस्नेतले जानकारी दिनुभयो ।

विगत लामो समयदेखि गुल्मीमा आँखा उपचारको क्षेत्रमा काम गर्दै आइरहेको नेपाल नेत्र ज्योति सङ्घ जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्रमा पछिल्लो समय मोतियाबिन्दुको अप्रेसन सेवा लिनेको दर बढ्दैगएको छ । केही स्थानीय तहले आफ्ना नागरिकको आँखा स्वास्थ्यप्रति विशेष चासो दिँदै निःशुल्क मोतियाबिन्दुको अप्रेसनको व्यवस्था मिलाएपछि मोतियाबिन्दुको अप्रेसन सेवा लिनेको दर बढ्दैगएको केन्द्रका सूचना अधिकारी वीरबहादुर कार्कीले जानकारी दिनुभयो ।

जिल्लामा १२ वटा स्थानीय तहमध्ये पाँच वटा स्थानीय तहले निःशुल्क मोतियाबिन्दुको अप्रेसनका लागि नेपाल नेत्र ज्योति सङ्घ जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र तम्घाससँग सम्झौता गरी आफ्ना नागरिकको निःशुल्क मोतियाबिन्दुको अप्रेसनका लागि सहयोग गरेका छन् । सबैभन्दा पहिले रेसुङ्गा नगरपालिका र इस्मा गाउँपालिकाले निःशुल्क मोतियाबिन्दुको शल्यक्रियाका लागि सहयोग गरेका हुन् । 

रेसुङ्गा र इस्माले आर्थिक वर्ष २०७९–८० देखि निरन्तर आफ्ना नागरिकको मोतियाबिन्दुको निःशुल्क अप्रेसनका लागि सहयोग गर्दैआएको सूचना अधिकारी कार्कीले जानकारी दिनुभयो । आफ्ना नागरिकको निःशुल्क मोतियाबिन्दुको अप्रेसनका लागि गुल्मीदरबार गाउँपालिकाले २०७९ असोजदेखि निरन्तरता दिएको छ । 

स्थानीयतहको आर्थिक सहयोगमा जिल्लामा नेत्ररोग विशेषज्ञद्वारा शल्यक्रिया हुन थालेपछि पाल्पा, भैरहवा, बुटवल लगायतका स्थानमा पुगेर आँखाको मोतियाबिन्दुको अप्रेसन गर्नु नपर्ने भएको छ । 

मुसिकोट नगरपालिकाको केन्द्र वामीमा कृष्णहरि रुद्रावती आँखा उपचार केन्द्र, चन्द्रकोटमा शान्तिपुर आँखा उपचार केन्द्र, मालिका गाउँपालिका–८ मा सिमलटारी आँखा उपचार केन्द्र र मदाने गाउँपालिकाको केन्द्र पुर्कोटदहमा मदाने आँखा उपचार केन्द्रबाट सेवा प्रवाह भइरहेको नेपाल नेत्र ज्योति सङ्घ गुल्मीका सचिव पदमप्रसाद पाण्डेले बताउनुभयो ।