• १३ साउन २०८१, आइतबार

खोप अभियानमा एक जना पनि बालबालिका छुट्नु हुँदैन : स्वास्थ्यमन्त्री

blog

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत स्वास्थ्य कार्यालय भक्तपुरका अस्मिता ओझालाई भ्याक्सिन बक्स हस्तान्तरण गर्नुहुँदै।

भक्तपुर, फागुन १३ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले भक्तपुरको मध्यपुर थिमिस्थित आदर्श माध्यमिक विद्यालयबाट दादुरा–रुबेला राष्ट्रिय खोप अभियानको आइतबार शुभारम्भ गर्नुभएको छ ।

मन्त्री बस्नेतले स्वास्थ्य कार्यालय भक्तपुरका अस्मिता ओझालाई भ्याक्सिन बक्स हस्तान्तरण गर्नुहुँदै अभियानको शुभारम्भ गर्नुभएको हो ।

आदर्श माध्यमिक विद्यालयमा आयोजना गरिएको शुभारम्भ कार्यक्रममा बोल्नुहुँदै स्वास्थ्य मन्त्री बस्नेतले नेपाल सरकारले सन् २०२६ सम्म दादुरा–रुबेला निवारण गर्न प्रतिबद्ध रहेको बताउनुहुँदै प्रदेश सरकार र स्थानीय सरकारको सहकार्यमा यो अभियान सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

गत वर्ष समेत दादुराको महामारी देखिएको स्मरण गर्नुहुँदै देशका ७७ वटै जिल्लामा सञ्चालित हुने खोप अभियानमा एक जना बालबालिका पनि छुट्न नहुनेमा स्वास्थ्य मन्त्री बस्नेतले जोड दिनुभयो ।

यो अभियान सफल बनाउन जनचेतनाको पनि भूमिका रहेकाले स्वास्थ्य मन्त्रालयले यसको शुभारम्भ भक्तपुरको आदर्श स्कुलबाट गरेको मन्त्री बस्नेतले बताउनुभयो ।

कार्यक्रममा भक्तपुर क्षेत्र नम्बर २ का सांसद दुर्लभ थापाले स्थानीय सरकारको सहकार्यमा सञ्चालन गरिएको खोप अभियानले पूर्ण सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ र चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन श्रेष्ठले स्थानीय सरकारले प्राथमिकताका साथ खोप लगायतका स्वास्थ्यका कार्यक्रम सञ्चालनमा सहकार्य गरिरहेको जानकारी दिनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा.राजेश सम्भाजीराव पाण्डवले देशका ७७ वटै जिल्लाबाट एकै पटक शुभारम्भ गरिएको दादुरा–रुबेला खोप राष्ट्रिय अभियानले नेपालबाट दादुरा र रुबेला निवारणमा कोशे ढुङ्गा साबित हुने बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा.दीपेन्द्ररमण सिंहले संसारबाटै बिफर उन्मुलन भएजस्तै दादुरा र रुबेला पनि उन्मुलन गर्न सकिने दाबी गर्नुहुँदै यसमा सबैको इमान्दार प्रयास आवश्यक रहेको बताउनुभयो ।

स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा.सङ्गीता मिश्रले यस अभियानमा तराईका २१ जिल्ला र काठमाडौँ उपत्यकाका तीन जिल्लामा नौ महिनादेखि १५ वर्ष मुनिका र बाँकी जिल्लामा नौ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई यो खोप दिइने जानकारी दिनुभयो ।

परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेक कुमार लालले साढे ५७ लाख बालबालिकालाई यो अभियानअन्तर्गत खोप लगाइने बताउनुभयो ।

डा.लालका अनुसार देशभरि स्थापना गरिएका ४९ हजार खोप केन्द्रमार्फत ६० हजार महिला स्वास्थ्य स्वयं सेविका र ४४ हजार स्वास्थ्यकर्मीमार्फत खोप अभियान सञ्चालन हुने छ । यो अभियान सञ्चालनमा एक अर्ब ३६ करोड खर्च लाग्ने छ । जसमध्ये ८४ प्रतिशत रकम (ग्लोबल भ्याक्सिनेशन अलाइन्स) गाभीले अनुदान दिएको छ भने बाँकी नेपाल सरकारले बेहोर्ने छ ।