• १२ साउन २०८१, शनिबार

मेरुदण्डको समस्याबाट जोगिन समयमै उपचार गर्न सुझाव

blog

भेरी अस्पताल नेपालगञ्जका पूर्ब मेडिकल सुपरिटेन्डेन्ट तथा बरिष्ठ मेरुदण्ड रोग विशेषज्ञ डा. प्रकाशबहादुर थापा । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, फागुन १३ गते । मेरुदण्डको दीर्घकालीन समस्याबाट जोगिन समयमै उपचार गर्न चिकित्सकहरूले सुझाव दिनुभएको छ । मेरुदण्डका बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गर्नुहुँदै भेरी अस्पताल नेपालगञ्जका पूर्व मेडिकल सुपरिटेन्डेन्ट तथा वरिष्ठ मेरुदण्ड रोग विशेषज्ञ डा. प्रकाशबहादुर थापाले पछिल्लो समय धेरै मानिसमा मेरुदण्डको समस्या देखिएको बताउनुभयो ।

डा. थापाले भन्नुभयो, ‘मेरुदण्ड वा अन्य हाडजोर्नीमा समस्या देखिएमा तत्काल लापरबाही नगरी चिकित्सकलाई देखाएमा भविष्यमा स्वास्थ्य समस्या न्यूनीकरण हुन सक्छ ।’

नेपालगन्जस्थित मलमपट्टी क्लिनिक्सको आयोजनामा भएको हाडजोर्नीसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा ६८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये ६० जना मेरुदण्डका बिरामी रहेको डा. थापाले बताउनुभयो । मेरुदण्डमा देखापर्ने समस्यालाई लक्षित गरी शिविरको आयोजना गरिएको हो ।

मेरुदण्डको समस्या सँगसँगै कम्मर दुख्ने, गर्दन दुख्ने, घुँडा दुख्ने, जोर्नी दुख्ने, नसा च्यापिएको, बाथ रोग र हड्डी खिइएको लगायतका समस्या भएका बिरामीले सेवा लिएको र बिरामीलाई प्रयोगशाला परीक्षणमा छुटको व्यवस्था गरिएको थियो । 

डा. थापाले मेरुदण्डसम्बन्धी समस्या धेरै मानिसमा देखिन थालेको र यससम्बन्धी समस्याले विभिन्न पेसाका व्यक्तिलाई प्रभावित पारेको भन्दै लापरबाही नगरी विशेषज्ञलाई देखाउन सबैमा आग्रह गर्नुभयो ।

कुनै मेरुदण्डको समस्या समयमै उपचार भएन भने प्यारालाइसिस हुन सक्ने खतरा हुँदा समस्या हुनेबित्तिकै डाक्टरसँग परामर्श लिनु जरुरी डा. थापाले बताउनुभयो । उहाँले मेरुदण्ड समस्याको चेतना बृहत् रूपमा फैलाउन नेपालगन्जमा चैतको पहिलो साता कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभएको छ ।