• १३ साउन २०८१, आइतबार

नेपाली चिकित्सकले गरे दोस्रो सफल कलेजो प्रत्यारोपण

blog

काठमाडौं, फागुन १३ गते । त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरूले दोस्रो सफल कलेजो प्रत्यारोपण गरेका छन् । अस्पतालका डा.रमेशसिंह भण्डारी नेतृत्वसहितको टोलीले अस्पतालमा दोस्रो पटक सफल कलेजो प्रत्यारोपण गरेको हो ।

डा. भण्डारीका अनुसार अस्पतालमा चितवनका ३३ वर्षीय पुरुषको सफल कलेजो प्रत्यारोपण गरिएको हो । पुरुषलाई उहाँकी २८ वर्षीया श्रीमतीले कलेजो दान दिनुभएको डा. भण्डारीले जानकारी दिनुभयो ।

बिरामीलाई १६ दिनपछि आइतबार अस्पतालबाट डिस्चार्ज गरेको डा.भण्डारीले जानकारी दिनुभयो । डा.भण्डारीका अनुसार उहाँको गत माघ २६ गते कलेजो प्रत्यारोपण भएको थियो ।

हालसम्म अस्पतालमा १२ वटा सफल कलेजो प्रत्यारोपण भइसकेका छन् । यो नेपाली चिकित्सकको टोलीले गरेको यो दोस्रो सफल कलेजो प्रत्यारोपण हो ।

यसअघि २७ पुसमा नेपाली चिकित्सकहरूकै संलग्नतामा पहिलो पटक सफल कलेजो प्रत्यारोपण भएको थियो । त्यो भन्दा पहिले नेपालमा हुने कलेजो प्रत्यारोपणमा विदेशी चिकित्सकहरूको सहायता लिँदै आइएको थियो ।

अस्पतालले २०७६ जेठ १७ गते पहिलो कलेजो प्रत्यारोपण गरेको थियो । त्यस्तै अस्पतालमा २०७७ फागुन २९ गते ११ महिनाको बालकमा समेत कलेजो प्रत्यारोपण भइसकेको छ ।