• १३ साउन २०८१, आइतबार

एक सयभन्दा बढी केन्द्रमा दादुरा-रुबेलाविरुद्ध खोप

blog

अमरगढी नगरपालिका ४ मा खोप लगाउँदै स्वास्थ्यकर्मी । तस्बिरः पुष्कर भण्डारी

पुष्कर भण्डारी 

डडेल्धुरा, फागुन १३ गते । डडेल्धुरामा दादुरा–रुबेलाविरुद्धको साताव्यापी खोप अभियानको सुरु भएको छ । डडेल्धुराका एक सय ८१ वटा खोप केन्द्रमार्फत बालबालिकालाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका खोप फोकल पर्सन हरिप्रसाद भट्टले बताउनुभयो । 

सोमबार यहाँका प्रत्येक वडाका स्वास्थ्य केन्द्रमार्फत खोप लगाइने भट्टले बताउनुभयो । नौ महिनादेिख पाँच वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको उद्देश्य अनुसार आगामी सन २०२६ सम्ममा नेपालमा दादुरा रुबेलाका बिरामी शुन्यमा झार्ने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका निमित्त कार्यालय प्रमुख भवानी कुँवरले बताउनुभयो । उहाँका अनुसार जिल्लाका ११ हजार ८२३ बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने लक्ष्य छ ।

स्थानीय सरकार अनुसार नवदुर्गा गाउँपालिकामा १ हजार ५८, अमरगढी नगरपालिकामा १ हजार ७४३, अजयमेरु गाउँपालिकामा १ हजार १७६, भागेश्वर गाउँपालिकामा १ हजार १३४, परशुराम नगरपालिकामा ३ हजार २९८, आलिताल गाउँपालिकामा १ हजार ६८१, गन्यापधुरा गाउँपालिकामा १ हजार १३३ बालबालिकालाई खोप लगाइने निमित्त कार्यालय प्रमुख कुँवरले जानकारी दिनुभयो। 

खोप अभियान अमरगढी नगरपालिका वडा नं ४ बाट औपचारीक रुपमा सुरु गरिएको छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीले खोप अभियानलाई सार्थकता दिन स्वास्थ्यकर्मीले विशेष रुपमा खटनपटन गर्नुपर्ने बताउनुभयो ।