• १३ साउन २०८१, आइतबार

मानसिक स्वास्थ्यमा सरकारले चासो देखाएन : सांसद बराल

blog

नेकपा (एमाले)का सांसद सुनीता बराल ।

काठमाडौं, फागुन १३ गते । नेकपा (एमाले)का सांसद सुनीता बरालले मानसिक समस्या बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले मानसिक रोगप्रति सरकारले विभिन्न रणनीतिक योजना बनाएर काम गर्न आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले आत्महत्याको समस्या पछिल्लो समय झनै बढेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले मानसिक समस्याका कारण समाजमा अपराध र पराधिक घटना बढिरहेको जानकारी दिनुभयो । मानसिक स्वास्थ्यमा सरकारले चासो नदिएको उहाँको गुनासो गर्नुभयो ।

सांसद बरालले भन्नुभयो, ‘‘केही दिनअघि ललितपुरमा एक महिलाले आफ्ना दुई बच्चाको हत्या गरी आत्महत्या गरिन् । त्यस्तै काठमाडौंमा तीन जनाको हत्या गरी एक पुरुषले आत्महत्या गरे । आत्महत्याको दर असाध्यै अत्यासलाग्दो तरिकाले बढिरहेको छ । डिप्रेसनका कारण बढेका अपराध र अपराधिक अवस्था डरलाग्दो अवस्था छ ।’’

उहाँले सूचना, प्रविधि र डिजिटलाइजेशनका कारण सामाजिक समस्या बढिरहेको बताउनुभयो ।

सांसद बरालले भन्नुभयो, ‘‘यसतर्फ सरकारको ध्यान जान आवश्यक छ । २०४० सालमा सरकारी तवरबाट ४० बेडका मानसिक अस्पतालको स्थापना भयो । त्यसपछि न अर्को अस्पताल खुल्यो, न मानसिक स्वास्थ्य प्राथमिकतामा नै परेको छ । दिनदिनै मानसिक स्वास्थ्य समस्या बढेको बढ्यै छ । सूचना, प्रविधि र डिजिटलाइजेशनले निम्त्याएका धेरै समस्या छन् । रोजगारी र आर्थिक असहजताले धेरै नै सामाजिक समस्या बढेका छन् ।’’