वालिङ समाचारदाता
वालिङ, फागुन १३ गते । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा राजनीति गर्न नहुने बताउनुभएको छ । अनावश्यक रूपमा हुने राजनीतिले सबैतिर असर गरेको भन्दै मन्त्री गुरुङले भन्नुभयो, “शिक्षा, स्वास्थ्य क्षेत्रलाई राजनीतिबाट बाहिर राखौँ ।”
स्याङ्जाको गल्याङमा भएको उपप्रमुखसँग शिक्षक अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गर्नुहुँदै मन्त्री गुरुङले शिक्षाको गुणस्तर सुधारमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । मन्त्री गुरुङले स्वदेशमा नै विद्यार्थी रोक्न शिक्षकहरूको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । शिक्षा स्वास्थ्य जस्ता नागरिकका आधारभूत आवश्यकता र महत्वका विषयमा सरकारले विशेष ध्यान दिँदै आएको मन्त्री गुरुङले जानकारी गराउनुभयो ।
जिल्लाको विकासमा आफ्नो सक्रियता निरन्तर रहेको मन्त्री गुरुङको भनाइ छ । गल्याङ नगरपालिकाले शिक्षा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको भन्दै मन्त्री गुरुङले यस्ता कार्यक्रमका लागि बजेट अभाव हुन नदिने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले शिक्षाको गुणस्तर सुधार पालिकाको पहिलो प्राथमिकता भएको बताउनुभयो । शिक्षकलाई समयानुकूल तालिम प्रदान गर्दै दक्ष बनाउँदै लैजाने भन्दै प्रमुख भट्टराईले विद्यालयलाई विद्यार्थीमैत्री बनाउन र व्यावहारिक शिक्षा प्रदान गर्ने अवस्था बनाउन आफूहरूको ध्यान रहेको बताउनुभयो । कार्यक्रममा पालिकाभित्रका चार सय तीस शिक्षक शिक्षिकाहरूको सहभागिता रहेको उपप्रमुख हेमा न्यौपानेले जानकारी दिनुभयो । कार्यक्रममा सामुदायिक तथा संस्थागत विद्यालयलाई समावेश गरिएको उहाँले बताउनुभयो ।