काठमाडौं, फागुन १० गते। नेपाल चेम्बर अफ कमर्सले क्यानडामा निर्यात प्रवर्द्धनका लागि पहल गर्न नवनियुक्त राजदूत भरतराज पौड्यालसँग आग्रह गरेको छ। क्यानडाका लागि नवनियुक्त राजदूत पौडेललाई काठमाडौँको जमलस्थित चेम्बर भवनमा बिहीबार भेट गर्दै अध्यक्ष राजेन्द्र मल्लले मुलुकको निर्यात प्रवर्द्धन हुनेगरी सहजीकरण गर्न आग्रह गर्नुभयो।
अध्यक्ष मल्लले भन्नुभयो, ‘‘नेपाली वस्तुहरूको निर्यातका लागि क्यानडा राम्रो बजार हुन सक्छ। खासगरी गरगहना, पस्मिना, कार्पेट, छुर्पी, घिउ लगायतका वस्तुहरूको निर्यात सहजीकरण गर्न सकियो भने विद्यमान व्यापार घाटालाई केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ।’’
नेपालबाट निर्यात हुने वस्तुको एकीकृत बिक्रीका लागि नेपाल हाउसको अवधारणामा जानुपर्ने अध्यक्ष मल्लले बताउनुभयो। नेपाल र क्यानडाबिच सीधा व्यापारिक सम्बन्ध कायम हुनेगरी व्यावसायिक वातावरण बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिनुभयो। यसका लागि सरकारी तवरबाटै पहल हुनुपर्ने अध्यक्ष मल्लको भनाइ छ।
क्यानडामा पछिल्लो समय नेपाली विद्यार्थीको सङ्ख्या उच्च रहेको भन्दै अध्यक्ष मल्लले पढ्दै कमाउँदै नीति राज्यका लागि फलदायी हुनुपर्ने बताउनुभयो। क्यानडामा रहेका एक नेपाली मार्फत एक पर्यटक भित्र्याउने गरी पहल गर्न सकिए नेपालको पर्यटन क्षेत्रमा लाभ पुग्ने अध्यक्ष मल्ले बताउनुभयो।
चेम्बर पदाधिकारीसँगको भेटका क्रममा नवनियुक्त राजदूत पौड्यालले क्यानडामा आफ्नो मुख्य चोसो व्यापार सहजीकरण र नेपालमा लगानी अभिवृद्धि नै भएको बताउनुभयो।