• १३ साउन २०८१, आइतबार

स्वास्थ्यमन्त्रीद्वारा १५ शय्याको गोकर्णेश्वर नगर अस्पताल शिलान्यास

blog

काठमाडौं, फागुन १० गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले राजधानीको गोकर्णेश्वर नगरपालिका–४ मा स्थापना हुने गोकर्णेश्वर नगर अस्पताल सहिद मुकेश कायस्थ इन्जुरी सेन्टरको शिलान्यास गर्नुभएको छ ।

बिहीबार शिलान्यास भएको उक्त नगर अस्पताल १५ शय्याको हुनेछ । अस्पताल निर्माणका लागि सरकारले साढे २२ करोड रुपियाँ  बजेट विनियोजन गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै स्वास्थ्यमन्त्री बस्नेतले सिलान्यास भएको अस्पताल समममै सम्पन्न हुनुपर्ने बताउनुभयो । मन्त्री बस्नेतले निर्माण व्यावसायीसमेत रहेका संविधान सभा सदस्य जनार्दन ढकालले समयमै अस्पतालको निर्माण सम्पन्न गर्ने विश्वास व्यक्त गर्नुभयो ।

आफू पदमा भए पनि नभए पनि शिक्षा र स्वास्थ्य सधैँ लागि रहेको दाबी गर्नुहुँदै मन्त्री बस्नेतले राम्रा काम गर्ने स्थानीय सरकारलाई सरकारले पूर्ण सहयोग गर्ने आश्वासन दिनुभयो ।


संविधानले हरेक जनताको स्वास्थ्य उपचारको ग्यारेन्टी गरेकोले पैसा नभएको कारणले कुनै पनि नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिने मन्त्री बस्नेतको दाबी छ । 

गोकरणेश्वर नगरपालिकाले सबै नागरिकको स्वास्थ्य बिमा गर्ने अभियान चलाएकोमा मन्त्री बस्नेतले नगरपालिकाका प्रमुख दीपक रिसाललाई धन्यवाद दिनुभयो । चिकित्सा शिक्षा ऐन चाडैं परिमार्जन हुने र धेरैले स्वदेशमै चिकित्सा पढ्न पाउने बस्नेतको भनाइ थियो ।   

कार्यक्रममा प्रतिनिधि सभा अर्थ समिती सभापति सन्तोष चालिसेले अस्पताल सिलान्यास भएकोमा खुशी व्यक्त गर्नुहुँदै समयमै निर्माण सम्पन्न हुनुपर्नेमा जोड दिनुभयो । सांसद विष्णुदेवी पुडासैनीले नगर पालिकाले स्वास्थ्यमा उदाहरणीय काम गरेको बताउनुभयो । नेकपा (एमाले)का पूर्व सांसद कृष्ण रायले अस्पताल समयमै सम्पन्न हुनुपर्ने बताउनुभयो ।

बागमती प्रदेशका सांसदहरु विमल ठकुरी र छिरिङ दोर्जे लामाले निजी क्षेत्रको स्वास्थ्य सेवा महँगाे भएकाले सरकारी सेवा प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । गोकर्णेश्वरमा मिर्गौलाका बिरामीका लागि डायलासिस सेवा सुरु गरिदिन स्वास्थ्यमन्त्री बस्नेतलाई आग्रह गर्नुभयो ।

नगरप्रमुख दीपक रिसालले नगरपालिकाले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । निर्माण व्यावसायी जनार्दन ढकालले सरकारले समयमै भुक्तानी गरिदिए समयमै अस्पताल सम्पन्न गर्ने बताउनुभयो ।