• १३ असोज २०८१, आइतबार

अल्फा तेक्वान्दो डोजाङ च्याम्पियन

blog

च्याम्पियन अल्फा तेक्वान्दो डोजाङका खेलाडीहरु । तस्बिर : गोरखापत्र

लीलाधर वली

घोराही, फागुन ९ गते । दाङको घोराहीमा भएको तेस्रो अल्फा दाङ जिल्लास्तरीय खुला तेक्वान्दो प्रतियोगिता–२०८० मा आयोजक अल्फा तेक्वान्दो डोजाङ घोराही च्याम्पियन बनेको छ । 

जिल्लास्तरीय खुला तेक्वान्दो प्रतियोगितामा सहभागी १२ डोजाङलाई पछि पार्दै अल्फा तेक्वान्दो डोजाङ च्याम्पियन बनेको हो । अल्फाले ९ स्वर्ण, ६ रजत र १० काँस्य जित्यो । उपाधिसँगै अल्फाले २० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । अल्फा यसअघि पहिलो र दोस्रो संस्करणमा पनि च्याम्पियन बनेको थियो । 

घोराही उपमहानगरपालिका–१४ स्थित कवर्ड हलमा भएको प्रतियोगितामा मावि सेन्टर तुलसीपुरले चार स्वर्ण, चार रजत र १४ काँस्य जित्दै दोस्रो भयो । उसले १५ हजार रुपियाँ पुरस्कार पायो । तीन स्वर्ण, दुई रजत र चार काँस्य पदकसहित तेस्रो भएको नारायणपुर डोजाङले १० हजार रुपियाँ पुरस्कार पाएको छ ।

प्रतियोगितामा डिफेन्स डोजाङ घोराहीले अनुशासित टिमको उपाधिसहित पाँच हजार रुपियाँ पायो । महिलातर्फ रुपमा नारायणपुर डोजाङकी अस्मिता केसी र पुरुषमा शान्तिसुधा डोजाङका महेश वली उत्कृष्ट खेलाडी घोषित हुनुभयो । दुवै जनालाई जनही २५ सय रुपियाँ प्रदान गरियो । 

अल्फा तेक्वान्दो डोजाङको आयोजनामा सम्पन्न प्रतियोगितामा १८ फाईट र दुई पुम्सेमा गरी २२ देखि ५८ केजी तौल समूहमा प्रतिस्पर्धा भएको अल्फा तेक्वान्दो डोजाङ प्रमुख सुनीता विष्टले जानकारी दिनुभयो ।