• १२ असोज २०८१, शनिबार

रघुगङ्गामा शैक्षिक सामग्री प्रदर्शनी मेला

blog

प्रदर्शनीमा राखिएका शैक्षिक सामग्रीहरु । तस्बिर :ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, फागुन ७ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटमा विद्यालय स्तरीय शैक्षिक सामग्री प्रदर्शनी मेलाको आयोजना गरिएको छ । सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थी र शिक्षकहरूले तयार पारेका शैक्षिक सामग्रीहरूको प्रदर्शन गरी सिकाई आदानप्रदान गर्ने उद्देश्यले मौवाफाँटस्थित ज्ञानोदय माध्यमिक विद्यालयको परिसरमा आइतबार एकिदिने शैक्षिक सामग्री प्रदर्शनी मेलाको आयोजना गरिएको हो । 

रघुगंगा गाउँपालिका र समृद्ध ग्रामीण नेपालका लागि शैक्षिक उन्नयन (लर्न) संस्थाको संयुक्त आयोजनामा गरिएको शैक्षिक प्रदर्शनी मेलामा गाउँपालिकाको राखु कलस्टर क्षेत्रमा पर्ने एकदेखि ४ नम्बर वडाका आधारभूत र माध्यमिक तह गरेर १५ वटा विद्यालयले सहभागिता जनाएका थिए । 

प्रदर्शनी मेलामा विद्यार्थी र शिक्षकहरूले सामूहिक रूपमा बनाएका शैक्षिक सामग्रीहरू अवलोकनका लागि राखिएको थियो । शिक्षक, विद्यार्थी र अभिभावकहरूको अन्तर्निहित प्रतिभा पहिचान, सिकाई आदानप्रदान र प्रचारप्रसार गर्ने उद्देश्यले शैक्षिक प्रदर्शनी मेलाको आयोजना गरिएको लर्नका कार्यक्रम विशेषज्ञ तोयाप्रसाद अम्गाडेले जानकारी दिनुभयो। मेलामा उत्कृष्ट सामग्री प्रदर्शन गर्ने विद्यालयहरूलाई नगद सहित पुरस्कृत गरिएको छ । 

प्रदर्शनीमा माध्यमिक विद्यालयतर्फ ज्ञानोदय मावि मौवाफाँट प्रथम, महादेव मावि वेग द्वितीय र कालिका मावि तिप्ल्याङ तृतीय स्थान हासिल गरेका छन् । माध्यमिकतर्फ प्रथम हुनेले १२ हजार पाँचसय, द्वितीय हुनेले दश हजार र तृतीय हुनेले सात हजार पाँचसय रुपियाँ नगद प्राप्त गरेका छन् ।

यसैगरी, आधारभूत विद्यालयतर्फ प्रथम वेगको पार्वती आधारभूत विद्यालय, द्वितीय बाँदुकको कृष्ण आ.वि र तृतीय दर्मिजाको शिव आ.वि भएका छन् । आधारभूततर्फ प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले नगद रु दश हजार, सात हजार पाँच सय र पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरिएको लर्नका कार्यक्रम विशेषज्ञ अम्गाडेले जानकारी दिनुभयो। 

गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष प्रेमकुमारी पुन, पालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, लर्नका कार्यकारी निर्देशक कृष्णबहादुर तिलिजा लगायतले उत्कृष्ट विद्यालयहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो । 

शैक्षिक सामग्री प्रदर्शनी मेलाले विद्यार्थीहरूको शैक्षिक स्तरका साथै विद्यार्थीहरूको बौद्धिक स्तरमा वृद्धि हुने पालिकाका अध्यक्ष भण्डारीले विश्वास व्यक्त गर्नुभयो । मेलाले विद्यार्थी, अभिभावक तथा शिक्षकहरूमा भएका फरक फरक प्रकारका क्षमता पहिचान गरेर सीप साझेदार गर्नका लागि पनि प्रदर्शनी मेला उपयोगी भएको उहाँले बताउनुभयो । 

गाउँपालिकाभित्रको साँखु कलस्टरमा रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर वृद्धिका लागि गाउँपालिकाले लर्न सँगको साझेदारीमा विगत तीन वर्षदेखि यता विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो । 

शिक्षक, अभिभावक र विद्यार्थी गरेर करिब पाँचसय जनाले शैक्षिक मेलाको अवलोकन गरेको लर्नका अम्गाडेले जानकारी दिनुभयो । विद्यार्थीमा पढाइप्रति रुचि र सिकाइ उपलब्धि बढाउन शैक्षिक सामग्रीको प्रदर्शनी मेला उपयोगी भएको उहाँले बताउनुभयो । मेलामा विद्यार्थीहरूले बनाएका विभिन्न विभिन्न विषयसँग सम्बन्धित चार्ट, चित्र, तथ्याङ्क, वाक्यहरू,सामाजिक विषय सँग सम्बन्धित चित्रहरू,विज्ञान विषय सँग सम्बन्धित सामग्रीहरू र कृषि सँग सम्बन्धित परम्परागत सामग्रीहरू प्रदर्शनीमा राखिएको थियो ।