• १४ मंसिर २०८१, शुक्रबार

हुमाने भन्ज्याङ–फर्पिङ सडकखण्ड निर्माण तीव्र

blog

राममणि दाहाल 

हेटौँडा, फागुन ६ गते । मकवानपुर हुँदै हेटौँडा–काठमाडौँ जोड्ने आधा दर्जन सडकमध्ये छोटो दुरीको भैँसे–कुलेखानी–फाखेल–फर्पिङ सडकखण्ड स्तरोन्नति गर्ने कार्यले पछिल्लो समय तीव्रता पाएको छ । बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीका मार्गमा विगतमा सामान्य मर्मतसम्भार गर्दै आए पनि पछिल्लो तीन आर्थिक वर्षदेखि भैँसे–कुलेखानी–फाखेल–फर्पिङ सडकखण्ड र भैँसे–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ खण्डको स्तरोन्नतिलाई प्राथमिकतामा राख्दै आएको छ । भैँसे–कुलेखानी–फाखेल–फर्पिङ सडकखण्ड अन्तर्गत मकवानपुर र काठमाडौँको सिमाना हुमाने भन्ज्याङदेखि फर्पिङसम्मको करिब ११ किलोमिटर सडक हाल तीन वटा प्याकेजमा काम भइरहेको छ ।

तीन वटा प्याकेजमध्ये काठमाडौँतर्फ हुमाने भन्ज्याङ–लामागाउँसम्मको पहिलो प्याकेजको चार किलोमिटर सडक कालोपत्रे गर्ने कार्य सकिएको छ । दोस्रो प्याकेज अन्तर्गत लामागाउँदेखि खार्पाखोलासम्म करिब साढे तीन मिलोमिटर सडकको कालोपत्रे गर्न बेस हाल्नेलगायतको काम भइरहेको छ । 

पूर्वाधार विकास कार्यालय, ललितपुरका प्रमुख नवीनकुमार सिंहले हुमाने भन्ज्याङ–फर्पिङ सडकखण्ड अन्तर्गत पहिलो प्याकेजको कालोपत्रे गर्ने काम पूरा भएको बताउँदै दोस्रो प्याकेज अन्तर्गतको सडकखण्डमा आगामी चैतभित्रमा कालोपत्रे सम्पन्न गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो । हुमाने भन्ज्याङ–फर्पिङ सडकखण्डको सडकको चौडाइ आठ मिटर रहेकामा त्यसमध्ये छ मिटर चौडा कालोपत्रे हुने छ । प्रदेश राजधानीलाई सङ्घीय राजधानी जोड्ने सडक जीर्ण भएकाले सर्वसाधारणसँगै प्रदेश सभा सदस्यसमेतलाई आवागमनमा समस्यासँगै भएको भन्दै प्रदेश सभाको पहिलो कार्यकालको सुरुवातीदेखि प्रदेश सभाका सदस्यले प्रदेश सभाको बैठक र सार्वजनिक रूपमा आवाज उठाउँदै आएका थिए । 

प्रदेश सभा सदस्य र सर्वसाधारणको निरन्तरको दबाबपछि बागमती प्रदेश सरकारले भैँसे–कुलेखानी–फाखेल–फर्पिङ सडकखण्ड र भैँसे–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ सडकमा ठुलो लगानी गरी स्तरोन्नति कार्य अगाडि बढाएको हो । हुमाने भन्ज्याङदेखि फर्पिङसम्मको सडक छिटो स्तरोन्नतिको काम सम्पन्न गर्न तीन वटा प्याकेजमा ठेक्का लगाइएको थियो तर पहिलो प्याकेज र दोस्रो प्याकेजको कामको २०७९ साउनमा एक वर्षभित्रमा कालोपत्रेसहित सडक स्तरोन्नति गर्ने गरी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएकामा तोकिएको समयमा काम पूरा नभएपछि म्याद थप गरिएको थियो । 

साउनसम्ममा कालोपत्रे हुने अपेक्षा

काठमाडौँतर्फ हुमाने भन्ज्याङ–फर्पिङ सडकखण्डको तीन वटै प्याकेजमा कालोपत्रेसहित स्तरोन्नतिको काम आगामी २०८१ साउनभित्र पूरा हुने अपेक्षा राखिएको छ । तेस्रो प्याकेजको कामको सबैभन्दा पछि गत साउनमा एक वर्षभित्रमा कालोपत्रेसहित सडक स्तरोन्नति गर्ने गरी नयाँ ठेक्का सम्झौता भएको हो । 

सिंहले ११ किलोमिटर सडकखण्डमध्ये बाँकी खार्पाखोलादेखि फर्पिङसम्मको तेस्रो प्याकेजको कामको म्याद साउनसम्म रहेको बताउँदै कामको गति हेर्दा कुनै समस्या नआएमा पहिले नै कालोपत्रेको गर्ने कार्य पूरा हुने बताउनुभयो ।

तेस्रो प्याकेज अन्तर्गत खार्पाखोलादेखि फर्पिङसम्मको सडकखण्डमा सडक चौडा गर्ने, टेवा पर्खाल, ढललगायतका कार्य भइरहेको बताउँदै कार्यालय प्रमुख सिंहले यस सडकखण्डको फर्पिङबाट अगाडि हुमाने भन्ज्याङतर्फ घरटहरा, गुम्बालगायतका संरचना रहेकाले केही समस्या रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सडक चौडा गर्ने भनिएको फर्पिङबाट अगाडि सडक सीमाभित्र घरटहरालगायतका संरचना रहेकाले केही ढिलाइ भए पनि संरचना हटाउनेबारे सहमति भएको छ, कार्यान्वयन भएपछि निर्माणले थप तीव्रता पाउने छ ।” हुमाने भन्ज्याङदेखि फर्पिङसम्मको सडकखण्ड तीन वटा प्याकेजमा गरी झन्डै ३८ करोड रुपियाँको लागतमा स्तरोन्नतिको कार्य भइरहेको छ ।

पहिलो प्याकेज १५ करोड ८८ लाख रुपियाँ, दोस्रो प्याकेज १२ करोड ३२ लाख रुपियाँ र तेस्रो प्याकेज नौ करोड पाँच लाख रुपियाँको लागतमा कालोपत्रेसहित स्तरोन्नति गर्ने काम भइरहेको कार्यालयले जनाएको छ ।