• २२ वैशाख २०८१, शनिबार

‘पाँच वटा सम्झनलायक काम गरेका छौँ’

blog

धनुषा जिल्लामा एक उपमहानगरपालिका, ११ नगरपालिका र छ वटा गाउँपालिका गरी १८ वटा स्थानीय तह छन् । तीमध्ये जिल्लाको पूर्वदक्षिण अवस्थित धनौजी गाउँपालिका भारतीय सीमासँग जोडिएको छ । साबिक झोझी कटैया, बहुअर्वा, लखौरी र धनौजी गाउँ विकास समितिलाई समावेश गरेर यस गाउँपालिका गठन गरिएको छ । मधेश प्रदेशको राजधानी जनकपुरधामदेखि पूर्वदक्षिणतर्फ करिब १० किलोमिटरको दुरीमा रहेको यस गाउँपालिकामा गत २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट अध्यक्षमा राजकुमार साह निर्वाचित हुनुभयो । यसअघिको स्थानीय तहको निर्वाचनमा वडा नं. २ को वडाध्यक्षमा निर्वाचित हुनुभएका उहाँले अध्यक्षमा निर्वाचित भएपछि पालिकामा सडक सञ्जाल विस्तार, शिक्षा, स्वास्थ्यमा गरिएको कार्य, भोग्नु परेको समस्या र देखिएको चुनौतीका विषयमा केन्द्रित रहेर गोरखापत्रका जनकपुरधाम समाचारदाता लक्ष्मी चौधरीले गर्नुभएको कुराकानीको सारसङ्क्षेप : 

वडाध्यक्षबाट गाउँपालिका अध्यक्षसम्मको अनुभव कस्तो छ ?

२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष पदमा निर्वाचित भएपछि पाँच वर्ष वडाध्यक्षकै पद सम्हालेर काम गरेँ । आफ्नो जिम्मेवारी पूर्ण रूपले इमानदारीपूर्वक निर्वाह गरेका कारण २०७९ सालको निर्वाचनमा धनौजीका बासिन्दाले मलाई गाउँपालिका अध्यक्षमा चुनेका हुन् । पद अनुसारको जिम्मेवारी हुन्छ । वडाध्यक्षको पदमा हुँदा थोरै जिम्मेवारी थियो भने गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि पूरै पालिकाको जिम्मेवारी काँधमा आएको छ । जिम्मेवारी थपिएका कारण फुर्सद पनि थोरै हुन्छ ।

डेढ वर्षमा झट्ट स्मरणमा आउने खालका कस्ता काम गर्नुभयो ?

पालिका अध्यक्षको हैसियतले झट्ट सम्झिनलायक पाँच वटा काम मेरो स्मरणमा सधैँ रहन्छ । ती हुन्, डेढ वर्षको प्रयासमा कृषिमा सिँचाइका लागि विद्युतीकरण गर्न बजेट विनियोजन, शैक्षिक संस्थाका लागि पूर्वाधार निर्माण, स्थानीयलाई आवतजावत सहज बनाउन सडक सञ्जाल निर्माण, सहज स्वास्थ्य सेवाका लागि पालिकामै स्वास्थ्य ल्याब (प्रयोगशाला) सञ्चालन र पालिकाका सम्पूर्ण समुदायलाई समेट्ने गरी बनाइएको नीति तथा कार्यव्रmम । यसबाहेकका काम पनि छन् तर यी भए झट्ट सम्झिने काम ।  

कृषिमा के कस्ता काम गर्नुभएको छ ?

समयमा सिँचाइ नहुँदा समस्यामा परेका किसानका लागि पालिकाले निःशुल्क कृषि मिटर जडान गर्ने भएपछि किसान हर्षित भएका छन् । कृषि विद्युत्को बिल पनि पालिकाले नै तिर्ने छ । त्यसका लागि पालिकाले यही आर्थिक वर्ष २०८०÷८१ मा दुई करोड रुपियाँसमेत विनियोजन गरेको छ । त्यसकारण डेढ वर्षको प्रयासमा पालिकाका किसानलाई निःशुल्क कृषि मिटर जडान गर्ने योजना बनाएको छु र सिँचाइका लागि नहर बनाउन प्रदेश सरकारसँग पहल पनि गर्दै आएको छु ।

सडक सञ्जाल र विद्यालयमा के कस्ता काम गर्नुभएको छ ?

डेढ वर्षको अवधिमा पालिकाभित्र तीन वटा विद्यालयमा भवन निर्माण गरेका छौँ । पालिकाको पाँच वटै वडामा सडक सञ्जाल विस्तार गरेका छौँ । पाँच वटै वडाका गरी २० किलोमिटरभन्दा बढी सडक ढलान र १० किलोमिटरभन्दा बढी ग्राभेल सडक निर्माण गरेका छौँ ।

तपाईंको पहिलो प्राथमिकतामा पर्ने तीन वटा विषय के के हुन् ? 

पालिकाको पहिलो प्राथमिकतामा त धेरै छन् तर गनेर तीन वटा विषय भन्नुपर्दा पहिलोमा कृषि, दोस्रोमा शिक्षा र तेस्रोमा स्वास्थ्य पर्छ । गाउँपालिकामै स्वास्थ्य सेवा सञ्चालनका लागि ल्याब सञ्चालनमा आएपछि स्थानीयले गाउँमै स्वास्थ्योपचार पाएका छन् भने कसैलाई काखापाखा नगरी गाउँपालिकाभित्रका सम्पूर्ण समुदायलाई समेटेर नीति तथा कार्यव्रmम बनाएपछि गाउँवासी हर्षित छन् । यस्तै स्वास्थ्य क्षेत्रमा सबैको पहुँचका लागि पालिकाले गाउँमै स्वास्थ्य ल्याब सञ्चालनमा ल्याएको छ र बर्थिङ सेन्टर तथा १५ श-याको अस्पताल सञ्चालनका लागि पूर्वाधार निर्माणमा लागेका छौँ । शिक्षामा मदरसा र विद्यालयमा भवन निर्माण भइरहेका छन् भने सेतो गुराँससँगको सहकार्यमा पालिकाले बाल विकास कक्षा सञ्चालनमा सुधार गर्दै आएको छ । 

अन्यत्र जनप्रतिनिधि र कर्मचारीबिच धेरै विवाद बाहिरिएको छ । तपाईंको पालिकामा जनप्रतिनिधि र कर्मचारीबाट कत्तिको साथ सहयोग मिलेको छ ?

हाम्रो पालिकाका कर्मचारी अहिलेसम्म राम्रै काम गर्दै आएका छन् । यहाँ पाँच वटा वडामध्ये चार वटामा कांग्रेस र एउटा वडामा लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट अध्यक्ष जितेका छन् । त्यही पनि कुनै मनमुटाव छैन हाम्रो पालिकामा । सबैसँग सामान व्यवहार गरेको छु र उहाँहरूले पनि मलाई सम्मान गर्नुभएको छ । सबै वडाध्यक्ष र कर्मचारीबाट राम्रै साथ सहयोग मिलेको छ । 

तपाईंको कार्यकालमा विवाद र अख्तियारीका उजुरी कति आएका छन् ?

हाम्रो कार्यकालमा सम्पन्न भएको काममा अहिलेसम्म एउटा पनि उजुरी आएको छैन । अघिल्लो कार्यकालमा भएका केही काममा उजुरी आएका छन् । म सदैव जनताको हितमा रहेर काम गर्छु । आफूलाई खानलाउन पुग्ने पर्याप्त सम्पत्ति छ । आफू पनि भ्रष्टाचार नगर्ने र अन्य जनप्रतिनिधिलाई पनि भन्ने गर्दछु, “तपाईंहरू पनि दुई÷चार पैसाको लोभमा नपर्नू, कर्मचारीलाई पनि नपार्नू ।” इमानदारीपूर्वक पारदर्शी ढङ्गले काम गरिरहेका छौँ । 

अहिलेसम्म के कस्ता चुनौती देख्नुभएको छ ?

पालिकामा प्रमुख प्रशासकीय अधिकृतको चाँडै चाँडै सरुवा हुनु र एउटा हाकिम (प्रमुख प्रशासकीय अधिकृत) ले पालिकाको कामकाज राम्ररी नबुझ्दै सरुवा हुनु मुख्य चुनौती छ । अघिल्लो हाकिमले शीर्षक अनुसार निकासा गर्न मिल्ने बजेट पनि समयमा निकासा नदिँदा निर्माण कार्य प्रभावित भएको छ । कतिपय अवस्थामा शीर्षकमा राखेको बजेट आवश्यकता अनुसारको खर्च भइरहेको हुँदैन । राम्रो काम गरे पनि अन्य पार्टीका कार्यकर्ताले बेलाबखत आएर विरोध गर्छन् । 

आगामी कार्ययोजना के कस्ता छन् ? 

कृषिका लागि सिँचाइ, शिक्षामा आमूल परिवर्तन, ज्येष्ठ नागरिकलाई सम्मान, नगर प्रहरी भर्ना, १५ श-याको अस्पताल निर्माण, पालिकाको प्रशासनिक भवन निर्माण गर्ने योजना रहेको छ । सडक, पुल अधिकांश ठाउँमा पुगेका छन् । त्यसकारण पनि अब सडकबाहेकका विषयमा सोच्नुपर्ने बेला आएको छ । विगतका दिनमा बर्सातका समयमा हिँड्न नमिल्ने बाटोघाटो अहिले हेर्नलायक भएका छन् । गाउँपालिका अध्यक्षको जिम्मेवारी पूर्ण रूपले निर्वाह गरेको छु जस्तो लाग्छ । जनतालाई स्थानीय सरकारको अनुभूत गराउन पाऊँ भन्ने चाहना छ । त्यसकारण पालिका अध्यक्षको हैसियतले मैले गरेको कामको मूल्याङ्कन धनौजीवासीले गर्ने छन् ।