• ११ मंसिर २०८१, मङ्गलबार

महासमिति बैठकका अपेक्षा

blog

यही फागुन ७ गतेबाट नेपाली कांग्रेसको नीति महासमिति बैठक बस्दै छ । यो बैठकले कांग्रेसको आन्तरिक जीवनमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ । कांग्रेसलाई पूर्ण लोकतान्त्रिक पार्टीका रूपमा सञ्चालन गर्न केही प्राविधिक, व्यावहारिक तथा नीतिगत समस्या छन् । ती समस्या समाधान गर्न यो महासमिति सफल हुने आमकांग्रेसजनको विश्वास छ । 

कांग्रेस पुरानो र जेठो पार्टी भएकोमा गर्व गर्ने अवसर पाए जसरी नै विरासतमा केही जीर्ण रोगको भारसमेत वर्तमान पुस्ताले बोक्नु परेको छ । वडादेखि केन्द्रीय तहसम्म वृद्ध नेताहरू हुनुहुन्छ । उहाँहरूको योगदान प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भएकोमा दुई मत छैन । वर्तमानका चुनौतीको सामना गर्न प्रविधिमैत्री, अध्ययनशील तथा भविष्य द्रष्टा हुनु जरुरी छ । उहाँहरूबाट कतिपय अवस्थामा उमेरजन्य दोषका कारण तथा पारिवारिक मायामोहका कारणले निर्णय प्रभावित हुने गरेको छ । राजनीतिक नियुक्ति, टिकट वितरण, राष्ट्रिय सभा सदस्य तथा समानुपातिक माननीयको छनोटमा कुनै पनि निश्चित मापदण्ड बनाउन नसकेका कारण कांगे्रसको विश्वसनीयतामा नै प्रश्न उठेको छ । यद्यपि कुनै पनि नागरिकलाई नेताको नाता पर्नुलाई नै उसको अयोग्यता मान्न सकिन्न । परिवारका सदस्य भए पनि प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्नेहरू धेरै छन् ।

विधानबमोजिम चलेको भए हुँदै गरेको महासमिति बैठक महाधिवेशन भएको एक वर्षभित्रमा नै बस्नुपर्ने थियो, तर त्यसो गरिएन । विभाग गठन तथा भातृ सङ्गठनहरूको अधिवेशन समयमा हुन सकेको छैन । महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यहरू पार्टीको खास जिम्मेवारी नपाएका कारणले मौरीको घारका डाठो (भाले मौरी) जस्ता भएका छन् । औँसी पूर्णिमामा यसो आसन ग्रहण ग¥यो, जिम्मेवारी सकियो । यस कारण पार्टीको शक्तिको रूपमा रहेको यो नेतृत्व तहलाई विधानत निश्चित क्षेत्र किटान गरी जिम्मेवारी तोक्नु जरुरी छ । महासमिति सदस्यहरू पार्टीको रिडका हड्डी (ब्याकबन) हुन् ।

शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षा नागरिकका नैसर्गिक अधिकार हुन् । प्राविधिक शिक्षामा जोड दिन सके स्वदेशमा नै रोजगारी सिर्जना हुन सक्ने र वैदेशिक रोजगारीमा जान चाहने युवाको जीवनसमेत सहज, सम्मानित हुने र राम्रो पारिश्रमिक पाउने छन् । यसका लागि सिटीभिटी जस्ता संस्थालाई बलियो एवं व्यवस्थित संस्थाका रूपमा विस्तार गर्नु जरुरी छ ।

कृषि व्यवसायको बिजोग छ । मल, बिउ, औषधी, औजार तथा सिँचाइ किसानको पहुँचभन्दा बाहिर छन् । उत्पादित वस्तुको पनि बजार सुनिश्चित छैन । किसानलाई हली भनिन्छ र हलीलाई राज्य र समाजले सम्मान गरेको देखिँदैन । 

महत्वपूर्ण विषयका रूपमा भूमि (जमिन) रहेको छ । हदबन्दीका कारण किसानसँग पर्याप्त कृषि भूमि छैन, तराईमा कट्ठा र पहाडमा केही रोपनीका दरले मात्र भूमिमा किसानको स्वामित्व रहेको अवस्था छ । कृषि व्यवसायलाई कृषि उद्योगका रूपमा विकास गर्नका लागि कृषि उत्पादन प्रयोजनका लागि भूमिको हदबन्दीसम्बन्धी विशेष व्यवस्था गर्नु जरुरी छ । प्राकृतिक रूपले समेत भूमिको बनोट एकै प्रकारको छैन, समतल भूमिको कमीले कृषि कर्म जटिल बनाएको छ । यो अवस्थामा कृषिको आधुनिकीकरण जरुरी छ । 

जबसम्म कुनै पनि युवाले गर्वका साथ ‘म किसान हुँ’ भन्न सक्ने अवस्था सिर्जना गर्न सकिँदैन तबसम्म कृषिलाई आकर्षणको व्यवसाय बनाउन सकिँदैन । विकासको मूल आधार उद्योग हुनु पर्छ । जुन देशको विकासको आधार व्यापारमा मात्र छ, ती देश कति खेर धारासायी हुन्छन्, भन्न सकिँदैन । त्यस कारण स्वदेशी उद्योगमा आधारित व्यापार व्यवसाय र विकासलाई प्राथमिकता दिनु पर्छ । उद्योगका नाममा खुलेका केही उद्योगले मेसिनरी, कच्चापदार्थ तथा जनशक्तिसमेत विदेशबाट ल्याउँछन् र उत्पादित वस्तुसमेत विदेशमा नै बिक्री गर्छन् । यसले डलरको खर्च र भारूको सञ्चिति मात्र बढाउँछ । 

अन्तर्राष्ट्रिय बजारमा पानी बेच्न सके ठुलो धनराशी आर्जन गर्न सकिने छ । पानी उद्योग स्थापनालाई राज्यले प्राथमिकतामा राख्नु प¥यो । ‘नदी बोटलमा’ कार्यक्रम सञ्चालन गर्नु मुलुकको हितमा हुने छ । देश विकासका लागि कन्टेनरहरू खाली फिर्ता पठाउनु हँुदैन । त्यसका लागि प्रकृतिले हामीलाई उपहार स्वरूप जल दिएको छ, यसको पर्याप्त उपयोग र व्यापार गरौँ । पर्यटन व्यवसायको क्षेत्र विस्तार गरी शिक्षा, स्वास्थ्य, धर्म संस्कृति तथा खेलकुद जस्ता विषयलाई समेत जोड्नु जरुरी छ । 

कुनै पनि राजनीतिक पार्टीमा समूहहरू हुनु स्वाभाविक हो । समूह बन्ने आधार सैद्धान्तिक तथा नीतिगत हुन सके फलदायी हुन्छ । कांग्रेसमा गुटबन्दीको आधार मूलतः पद नै रहेको छ । यसका लागि वैधानिक व्यवस्थासमेत आधार बनेको छ । जिल्ला सदस्य हुन जिल्लाभरिका र केन्द्रीय सदस्य हुन संसारभरिबाट आएका प्रतिनिधिले मतदान गर्नुपर्ने विधानमा व्यवस्था गरिएकाले समेत पद प्राप्तिका लागि कुनै न कुनै समूहमा जोडिन बाध्य पारेको छ । यसरी नै गठबन्धनसमेत केही नेताहरूको सिट सुरक्षित गर्न र पार्टीभित्र भिन्न मत राख्नेहरूलाई ठेगान लगाउनका लागि मात्र गरिएको त होइन जस्तो देखिन गयो ।

 निर्वाचनपूर्व गरिएको गठबन्धनले मतदाताको चित्त दुःखेको छ । विरोधी शक्तिसँग साँठगाँठ गरियो । त्योभन्दा पनि गैरजिम्मेवार पक्ष त यो छ कि सरकार गठनका लागि एमालेसँग वार्ता सुरु गरियो । प्रचण्डलाई गठबन्धन छोडेर जान सक्नुहुन्छ भनियो । कांग्रेस जस्तो पार्टीले दोहोरो चरित्र गर्न मिल्थ्यो ? तत्पश्चात् एमाले माओवादी गठबन्धन सरकारलाई नै कांग्रेसले समर्थन गरेर, फेरि अहिले सरकारमा गएको छ । यस्तो चरित्रले कांग्रेस कति दिन चल्छ ?

हिजो जेल, प्रवासमा हुँदा पनि कांग्रेस चलेको थियो । प्रजातान्त्रिक समाजवाद भन्ने सिद्धान्त नै कांग्रेसको शक्ति हो । सिद्धान्तविहीन सङ्गठन जति बलियो भए पनि चल्दैन, टिक्दैन । महिला सशक्तीकरण समृद्धि राज्यको प्रमुख आधार हो । यसका लागि राज्यका सबै निर्वाचित र मनोनित पदमा महिला सहभागिता ५० प्रतिशत सुनिश्चित गरौँ । यो अवधि १५ वर्षको समेत तोक्न सकिन्छ । यो कालखण्ड पछाडि सबै खाले आरक्षण हटाएर नागरिक हुनु नै योग्यताको आधार मान्न सक्ने परिस्थितिको सिर्जना गर्न सकिन्छ ।

प्रतिनिधि सभामा गरिने समानुपातिक निर्वाचन पद्धति खारेज ग¥यो भने निर्वाचनपूर्व गर्नुपर्ने गठबन्धनको झन्झटबाट दलहरू मुक्त हुन सक्ने छन् । राष्ट्रिय सभालाई अझ बलियो र प्रभावकारी बनाऔँ । राष्ट्रिय सभा भनेको नेताहरूको मानिस थन्काउने स्थान नबनाउनका लागि केही नयाँ व्यवस्था गरौँ । धर्मका नाममा गरिने राजनीतिलाई निषेध गर्नु जरुरी छ । राजनीतिक उद्देश्य पूर्तिका लागि कुनै पनि धार्मिक समारोह, सम्मेलन गर्न गराउन नपाइने राष्ट्रिय सङ्कल्प गरौँ । धार्मिक स्वतन्त्रता नै नेपाली समाजको बटम लाइन हुनु पर्छ ।

सुशासन नै देश विकासको मूल आधार हो । सुशासनका लागि दक्षता, योग्यता र कर्मप्रतिको प्रेम अपरिहार्य छ । भ्रष्टाचार ठुलो रोग होइन तर समयमा यसको उपचार गरिएन भने त्यो देश, समाजको विनाशलाई कसैले रोक्न सक्दैन । कारबाही निरन्तर अगाडि बढाउनु पर्छ । जनविश्वास आर्जनका लागि पनि सबै राजनीतिक तथा प्रशासनिक व्यक्तिहरूको सम्पत्ति छानबिनका लागि अधिकार सम्पन्न आयोग गठन गरौँ ।

कांग्रेस जिम्मेवार पार्टी हो । यसले मात्रै जनताको हित गर्छ भन्ने छाप अघिल्लो पुस्ताले छाडेर गएको हो । त्यो विरासत जोगाएर कांग्रेसलाई फेरि आमजनताको सर्वस्वीकार्य पार्टी बनाउन महासमिति सफल हुनु पर्छ । कांग्रेसले अभिभावकीय भूमिका देखाएन भने मुलुककै भविष्यमाथि प्रश्न उठ्न सक्ने चिन्ता सर्वत्र गरिएको छ । यो चिन्ता दूर गर्न महासमिति बैठकलाई सफल र फलदायी बनाउनु सबैको जिम्मेवारी र दायित्व हो ।

   

Author

उमेशजङ्ग रायमाझी