• १३ मंसिर २०८१, बिहिबार

स्कारपियो दुर्घटनामा चालकको मृत्यु

blog

सांकेतिक तस्बिर

शेरबहादुर राई

ओखलढुङ्गा, फागुन ३ गते । जिल्लाको मोलुङ गाउँपालिकामा भएको स्कारपियो दुर्घटनामा चालकको ज्यान गएको छ । मोलुङ गाउँपालिका–५ प्राप्चादेखि सोही वडाको खोलाखर्क जाँदै गरेको बा २० च ४८६२ नम्बरको स्कारपियो दुर्घटना हुँदा मोरङ पथरीका २६ वर्षीय गणेश रसाइलीको मृत्यु भएको हो । 

आयु मोलुङ हाइड्रोपावर कम्पनीका कर्मचारी लिएर जाँदै गरेको स्कारपियो अनियन्त्रित भएर सडक भन्दा करिब सय मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरीक्षक दीपकबहादुर केसीले जानकारी दिनुभयो । 

दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको केसीले बताउनुभयो । तेह्रथुम जिल्लाको मन्छायाम गाउँपालिका–५ का ३२ वर्षीय यज्ञप्रसाद  निरौला, भक्तपुर सल्लाघारीका ३८ वर्षीय मित्रलाल भुर्तेल, सिन्धुलीका ४५ वर्षीय सन्देश कार्की, ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ का ४० वर्षीय कुमार कार्की र सुनसरी रामधुनी नगरपालिका–४ का ३२ वर्षीय अर्जुन दाहाल घाइते हुनुभएको हो। 

गम्भीर घाइते हुनुभएका मित्रलाल भुर्तेल, सन्देश कार्की र कुमार कार्कीको थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ पठाइएको प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिनुभयो । उहाँहरूको टाउको, अनुहार तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ ।