• १३ साउन २०८१, आइतबार

४२ प्रतिशतमा यौन रोगको लक्षण

blog

यौन रोग । सांकेतिक तस्बिर

काठमाडौँ, फागुन ३ गते । यौन व्यवसायमा संलग्न महिलालाई विभिन्न प्रकारका यौन रोगको लक्षण देखिएको अध्ययनमा पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको ‘महिला यौनकर्मीबिच एकीकृत जैविक र व्यावहारिक निगरानी सर्वेक्षण’ मा गरिएको अध्ययनमा ४२ प्रतिशतमा यौन रोगको लक्षण देखिएको पाइएको हो । अध्ययनमा सहभागी अनुसन्धानकर्ता प्रतिमा दवाडीले एचआइभी-एड्स, हेपाटाइटिस ‘बी’, हेपाटाइटिस ‘सी’ र भिरङ्गीजस्ता रोग ती महिलामा देखिएको बताउनुभयो । 

उहाँका अनुसार एचआइभी तथा एड्स चार जनामा, हेपाटाइटिस ‘बी’ चार जनामा, हेपाटाइटिस ‘सी’ छ जनामा र भिरङ्गी ५४ जनामा देखिएको देखिएको थियो । अध्ययनमा यौन रोग लागेका ३४ प्रतिशतले मात्र औषधि सेवन गरिरहेको पाइएको छ । यौन व्यवसायमा लागेका ५५ प्रतिशत महिलाले एचआइभी परीक्षण पनि नगरेको पाइएको छ । 

परिषद्ले पोखरामा गत वैशाखदेखि असोजसम्म ३६४ जनामा यौन व्यवसायमा संलग्न महिलामा अध्ययन गरेको थियो । तीमध्ये विवाहित १६९, अविवाहित ८१ र सम्बन्धविच्छेद गरेका ९९ र विधवा १५ जना थिए । अध्ययनमा १८ वर्षदेखि ५८ वर्ष उमेरसमूहका महिला थिए । परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा.मेघनाथ धिमालले धेरै महिलामा एचआइभी एड्स र शारीरिक सम्बन्धबाट लाग्ने रोगबारे कम जानकारी रहेको पाएको बताउनुभयो । 

अध्ययनअनुसार पहिलो पटक शारीरिक सम्पर्क हुँदा १० वर्ष र बढीमा २५ वर्ष उमेर रहेको पाइएको अनुसन्धानकर्ता दवाडीको भनाइ थियो । उहाँले यौन व्यवसायमा २१ वर्षदेखि ३० वर्ष उमेरसमूहका बढी रहेका, ६० प्रतिशत महिलाले १६ देखि २० वर्षभित्रमा विवाह गरिसकेका र ३५ प्रतिशत महिलाले गर्भपतन गराएको पाइएको जानकारी दिनुभयो । अध्ययनमा धेरैले परिवार पाल्नका लागि यौन व्यवसायमा आबद्ध भएको बताएका अनुसन्धानकर्ता दवाडीको भनाइ थियो । “धेरैजसोले परिवारमा पैसाको अभावकै कारण यौन व्यवसाय लाग्नुपरेको बताएका थिए । यसैगरी लकडाउन, श्रीमान्को मृत्यु, श्रीमान्ले छोडेर गएकाले पनि यौन व्यवसायमा संलग्न भएको पाइयो”, उहाँले भन्नुभयो । 

लागूऔषधको दुर्व्यसनी 

अध्ययनमा यौन व्यवसायमा संलग्नले मादक पदार्थ तथा लागूपदार्थ सेवन गरेको पनि पाइएको छ । उहाँका अनुसार ६० प्रतिशतभन्दा बढीले मादकपदार्थ सेवन गर्ने गरेको र ११ दशमलव आठ प्रतिशतले दैनिक मादक पदार्थ खाने गरेको पाइएको छ ।

यस्तै यौन व्यवसायमा संलग्नमध्ये १० दशमलव चार प्रतिशत लागूऔषध प्रयोगकर्ता रहेको पाइयो । लागूऔषध सुईमार्फत प्रयोग गर्ने गरेको अनुसन्धानकर्ता दवाडीले बताउनुभयो । यसैगरी दुई दशमलव सात प्रतिशतले लागूऔषधका लागि शारीरिक सम्पर्क गर्ने गरेको पाइएको उहाँले बताउनुभयो ।  

परिवारलाई जानकारी छैन

अध्ययनअनुसार सबैजनाले परिवारमा आफ्नो पेसाबारे जानकारी नभएको बताएका थिए । पारिवारिक मेलमिलाप तथा सामाजिक प्रतिष्ठामा असर पर्ने भएकाले यस्ता कुरा सुरक्षित राख्ने गरिएको छ । यौन व्यवसायमा लाग्ने धेरैजसोले आधारभूत शिक्षा लिएको पाइएको छ । छदेखि १० कक्षा पास गरेका धेरैजसो थिए भने १० कक्षामाथिका २७ दशमलव चार प्रतिशत थिए । 

परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा.मेघराज धिमालले यौन व्यवसायमा लाग्ने महिलालाई आम्दानी हुने खालका सीपमूलक तालिम दिएर सम्पन्न गराउनसके यौन व्यवसायमा छोड्ने भएकाले महिलालाई मानसिक स्वास्थ्य र परामर्श सेवा सरकारले उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले अध्ययनले नीति निर्माता तथा कार्यक्रम तर्जुमा गर्नेलाई वास्तविक यौन व्यवसायका पीडा देखाउने र तिनीहरूका पक्षमा योजना बनाउन सजिलो हुने बताउनुभयो । रासस