सिराज खान
नेपालगन्ज, फागुन ३ गते । मधेश प्रदेशको राजधानी जनकपुर र लुम्बिनी प्रदेशको प्रमुख सहर नेपालगन्जलाई जोड्ने उद्देश्यले सुरु गर्न लागिएको प्रवर्द्धनात्मक हवाई उडानको नयाँ भाडा निर्धारण गरिएको छ ।
फागुन ५ गते र ७ गते यति एयरलाइन्सले गर्न थालेको हवाई उडानको एकतर्फी भाडा आठ हजार ५०० निर्धारण गरिएको यति एयरलाइन्स नेपालगन्जले जनाएको छ ।
यति एयरलाइन्स नेपालगन्जका प्रमुख दिलीप कार्कीले नाट्टा बाँके च्याप्टरको आग्रहमा देशका दुई ऐतिहासिक सहरबिच धार्मिक सम्बन्ध कायम गर्ने उद्देश्यले फागुन ५ गते शनिबार र ७ गते सोमबार गरिने उडानको एकतर्फी भाडा हाललाई आठ हजार ५०० निर्धारण गरिएको बताउनुभयो ।
उहाँले अहिले प्रवर्द्धनात्मक उडान गरिने र यात्रुको चाप, माग र अवस्थालाई हेरेर नियमित उडानबारे थप निर्णय गरिने बताउनुभयो । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) बाँके च्याप्टर र नाट्टा मधेस प्रदेशको संयोजनमा यति एयरलाइन्सले गर्ने दुई वटा प्रवर्द्धनात्मक उडानका लागि एकतर्फी भाडा निर्धारण गरेकाले सोही बमोजिम गरिने नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताउनुभयो ।
उहाँले यो उडानलाई लिएर नेपालगन्ज र जनकपुर दुवै ठाउँमा एक बेग्लै प्रकारको उत्साह देखिएकाले उडान सफल हुने विश्वास व्यक्त गर्नुभयो । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले नेपालगन्ज–जनकपुर हवाई उडानले यस क्षेत्रको धार्मिक पर्यटनको विकासमा ठुलो मद्दत गर्ने जनाउँदै यसले पश्चिमदेखि पूर्वलाई सोझै जोड्ने काम पनि गर्नुभएकाले महत्त्वपूर्ण रहेको बताउनुभयो ।
शनिबार र सोमवार दिउँसो १ः४० बजेतिर यति एयरलाइन्सले ७२ जना यात्रु लिएर नेपालगन्जबाट उडान भर्ने र जनकपुरबाट ३ः२५ बजे फिर्ता उडान भर्ने कार्यक्रम तय गरिएको छ । सो उडान एक घण्टा ३० मिनेटको हुने जनाइएको छ ।
नेपालगन्ज–जनकपुर र जनकपुर–नेपालगन्ज हवाई उडानमा धार्मिक पर्यटकहरू, नेपालगन्जमा रहेका मिथिलाबासी, जनकपुरमा रहेका पश्चिमवासी, सन्त महन्त, पर्यटनकर्मी लगायत सहभागी रहनेछन् ।