राजन रावत
हुम्ला, फागुन ३ गते । कर्णाली करिडोरअन्तर्गत हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका– ५ को खार्पुमा दोजाम कर्णालीमा निर्माणाधीन पुलको निर्माण कार्य अगाडि बढेको छ । पुल निर्माणस्थलमा नदीको बर्खामा पानी पसेपछि काम रोकिएको अवस्थामा प्राविधिकद्वारा सो पुलको डिजाइन परिवर्तनपछि पुनः काम सुचारु भएको हो ।
हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले दोजाम कर्णालीमा निर्माण कार्य सुरु भएको पक्की पुलको यस अघिको डिजाइनमा केही परिवर्तनपछि काम पुनः सुचारु भएको बताउनुभयो । गत चैत महिनामा निर्माण कार्य सुरु भएको पुलको पिलर ढलान गर्ने क्रममा साउन महिनामा नदीको पानीको बहाब पसेपछि काम रोकिएको थियो । पुलको निर्माणकार्य सात महिना पूर्णरुपमा बन्द गर्नुपरेको थियो ।
प्राविधिकले पुलको उचाइ बढाएरको र सडक विभागबाट स्वीकृत भएर आएपछि निर्माण कम्पनीले काम सुरु गरेको प्रमुख नेपालीले बताउनुभयो । पुलको उचाइ यसअघि एम २५ रहेकोमा हाल त्यसलाई पनि परिवर्तन गरेर एम ३० बनाइएको उहाँको भनाइ छ । डिजाइन परिवर्तनसँगै कामले तीव्रता पाएको बताउनुहुँदै उहाँले हाल पिलरको ढलान कार्य भइरहेको बताउनुभयो ।
आयोजनाले पुल निर्माणका लागि स्वच्छन्द माउण्ट पोमरी जेबीसँग २०७८ साल असोज १४ काम गर्नका लागि सम्झौता गरेको थियो । सम्झौता अनुसार निर्माण कम्पनीले यही फागुन मसान्तसम्म पुलको निर्माण कार्य सम्पन्न गर्नुपर्नेछ । सम्झौता लगत्तै निर्माण सामग्री जम्मा गर्न समस्या भएका कारण काम सुरु नभएको र गत वर्ष फागुन महिना सामग्री जम्मा भएपछि निर्माण कार्य अगाडि बढे पनि नदीको बहाब पसेपछि काममा अवरोध आएको थियो ।
उहाँले निर्माण कार्य भइरहेका कारण यही फागुन मसान्तपछि म्याद थप हुने र आगामी असार मसान्तसम्म दुबैतर्फ पिलरको ढलान कार्य सम्पन्न गर्ने गरी काम भइरहेको बताउनुभयो ।
११ करोड ८३ लाख ९४ हजार ५०८ रुपियाँ निर्माण हुन लागेको उक्त पुलको लम्बाइ ५५ मिटर छ । यसका लागि निर्माण कम्पनीले रकमको दश प्रतिशतले हुन आउने रकम पहिलो पेश्कीस्वरुप भुक्तानी लिएको छ ।
निर्माण कम्पनीका स्थानीय प्रतिनिधि सुनामबहादुर लामाले पुल निर्माणमा अवरोधै अवरोध आएका कारण काममा ढिलाइ भएको गुनासो गर्नुभयो ।